Explore news and happenings at Bhaktapur

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका विद्यार्थीहरु भक्तपुर नपा अध्ययन भ्रमणमा

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङ विभागमा पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको समुदाय अध्ययनको सिलसलामा आज भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण गरेका छन् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित फोहोर मैला व्यवस्थापन तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरुबारे विस्तृत जानकारी लिने उद्देश्यले आएको विद्यार्थीहरुलाई मार्गनिर्देश गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नर्सिङ पेशा सम्मानित र मर्यादित पेशा भएको बताउँदै नर्सहरु सामाजिक कार्यकर्ता हुन् र सामाजिक सेवाको भावनाले काम गर्नु नर्सहरुको धर्म भएको बताउनुभयो ।
कुनै पनि संस्थाको विकास त्यहाँको नेतृत्वको लगनशीलता र इमानदारितामा भर पर्ने बताउँदै उहाँले आफू जुनसुकै पेशामा आबद्ध भए पनि समाजप्रति उत्तरदायी भई काम गर्नुपर्ने विचार राख्नुभयो ।
भक्तपुर नगरपालिकाले कुहिने फोहरको कम्पोष्ट मल बनाएर किसानहरुलाई निःशुल्क बिक्री गर्दै आएको जानकारी गराउँदै उहाँले भक्तपुर नगरपालिकाले यहाँबाट उत्पादित फोहर आफै व्यवस्थापन गर्दै आएको बताउनुभयो ।
समाजवादी देश क्युवाको स्वास्थ्य मोडलबारे प्रकाश पार्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले क्युवाबाट प्रभावित भई आजभन्दा ६ वर्ष अगाडि भक्तपुर नपामा घरदैलो नर्सिङ सेवा सुरु गरेको र उक्त सेवा निकै प्रभावकारी भएको बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरुमा विद्यार्थीहरुको माग र रुचिअनुसारका विषयहरु थप गर्दै अध्ययन अध्यापनमा जोड दिँदै आएको बताउँदै नेपालबाट उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सके विदेशिने क्रम रोकिने विचार उहाँले राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले भक्तपुर नपाले शिक्षा क्षेत्रमा लगानी गर्दै विभिन्न शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको र ती शैक्षिक संस्थाहरुबाट उत्पादित जनशक्तिले समाजको हितको लागि काम गर्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा भनपा श्यानिटेशन शाखाका प्रमुख दिलिपकुमार सुवालले भक्तपर नपाको फोहोरमैला व्यवस्थापनबारे विस्तृतमा व्याख्या गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.