Explore news and happenings at Bhaktapur

योमारी पुन्हीको अवसरमा हुने सम्पदा पदयात्राबारे सरोकारवालाहरुसँग छलफल

0
भक्तपुर नगरपालिकाले भक्तपुर नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका साथ ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित २०८० पुस १४ गते शनिबार सम्पदा पदयात्रा कार्यक्रमको आयोजना गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा योमरी पुन्हीको अवसरमा हुने ‘सांस्कृतिक सम्पदा पदयात्रा’ बारे सम्बन्धित सरोकारवालाहरुसँग छलफल कार्यक्रम बिहीबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले कार्यक्रम सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुरको बहाबही चिनाउने उद्देश्यले ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नाराका साथ सम्पदा पदायात्राको आयोजना गरिएको र उक्त पदयात्रामा सबै नगरबासीहरुको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुरका सम्पदा चिनाउने, त्यसबारे अध्ययन अनुसन्धान गर्नेहरुलाई पनि अवसर दिने र नगरभरि छरिएर रहेका बहाबहीको अवस्थाबारे अभिलेखीकरण गरी नया“ पुस्तालाई जानकारी दिने उद्देश्यले सम्पदा पदयात्रा आयोजना गरिएको बताउँदै उहाँले भक्तपुरका लोपोन्मुख अवस्थामा रहेका कला संस्कृति संरक्षणमा नपाले निरन्तर जोड दिँदै आएको बताउनुभयो ।
छलफलमा भक्तपुरमा रहेका सबै बहा, बही र बिहारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । छलफलमा उपस्थित प्रतिनिधिहरुले भक्तपुर नपाको आयोजनामा हुने बहाबही चिनाउने कार्यक्रम सराहनीय भएको बताउँदै नगरपालिकाको आयोजनामा हुने सम्पदा पदयात्रामा आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा भक्तपुर नपा वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्व र भक्तपुर नपा पर्यटन शाखाका प्रमुख गौतमप्रसाद लासिवाले योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्राको रुटबारे अवगत गराउनुभयो ।
भक्तपुर नपाको आयोजनामा २०८० पुस १४ गते शनिबार हुने सांस्कृतिक सम्पदा पदयात्रा भनपा वडा नं. ५ टौमढीबाट सुरु भई भनपा ७ याता गोल्मढीमा पुगी सम्पन्न गरिने कार्यक्रम छ । उक्त पदयात्रा बिहान १० बजेटबाट सुरु हुनेछ ।
योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रा २०८० भक्तपुरको टौमढीबाट सुरु भई अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी) हुँदै भनपा वडा नं. ७ यातामा पुगी कार्यक्रमको समापन हुनेछ ।

Leave A Reply

Your email address will not be published.