Explore news and happenings at Bhaktapur

भक्तपुरका बहाबहीहरुको संक्षिप्त परिचय

0
११. प्रशन्नशील महाविहार
परिचय : भक्तपुर नगरको वडा नं. १० क्वाठण्डौ टोल स्थित प्रशन्नशील महाबिहार भक्तपुरको प्राचिन विहारहरु मध्ये एक हो । पुरानो अभिलेखहरुमा यस विहारको नाम पशुपति महाविहार भनि उल्लेख गरिएको पाइन्छ । त्यसैले यो विहारलाई स्थानिय जनताहरुले पशु बाहाः पनि भनिन्छ । बाहाःको वास्तुकला अनरूप यसको चोक वर्गाकार रहेको छ । यस विहारमा प्रवज्या सम्वर (भिक्षु बनाउने) कार्य निरन्तर रुपमा गर्दै आएको छ । यस पशुबाहाःको पूर्व दिशामा क्वाठण्डौ टोल, दक्षिण दिशामा विश्वकर्मा छेँ (घर), पश्चिम दिशामा नाग पोखरी बेखाल टोल र उत्तर दिशामा दीपंकर बिहार रहेका छन् ।
ऐतिहासिक पृष्ठभूमि : प्रशन्नशील महाविहारको स्थापना भएको समय स्पष्ट उल्लेख भएको अभिलेख अहिले सम्म प्राप्त भएको छैन । यस महाविहारको भण्डारमा भएको ने.सं. ५२७ को भूजिंमोल लिपिमा लेखिएको राजा धर्ममल्लको समयमा जग्गा किनबेच गरेको तमसुकमा साक्षि बस्ने श्री भुवन धर्म सस्कारित श्री पशुपति महाविहारको बज्राचार्य अभयजू भनि उल्लेख गरिएको पाईन्छ । त्यस्तै ने.सं. ६६८ सालमा हिरण्यवर्ण महाविहारको दानपति कसराज भारोले यस बिहारलाई पठाएको संघ भोजनको निमन्त्रणा पत्रमा पनि श्री भूवनाकर संस्कारित पशुपति महाविहार भनि सम्बोधन गरीएको छ भने सम्बत ६९४ सालमा श्री पद्मकाष्ट गिरि गूं विहारको दानपति क्वाथनायक जयकीर्तिराजजूले पठाएको निमन्त्रणा पत्रमा पनि श्री भूवनाकर धर्म सस्कारित श्री धर्मकीर्ति विहार, श्री पशुपति विहार भनेर उल्लेख भएको पाइन्छ । यस आधारमा पशुपति महाविहारको संस्थापक भूवनाकर रहेको मान्न सकिन्छ । ने.सं. १९८ सालको एउटा “बोधिचर्यावतार” हस्तलिखित ग्रन्थमा भुवनाकर नाम उल्लेख भैरहेको देखिएकोले पशुपति महाबिहारको स्थापना ने.सं. १९८ को आसपासमा भएको देखिन्छ ।
बाहाको संघ, गतिविधि र सम्पदा ः प्रशन्नशील महाबिहारमा बजाचार्य र बुद्धाचार्य (शाक्यहरु) को संयुक्त संघ रहेको छ । यस महाविहारको संघमा वहाँहरूको दुई खलक बजाचार्य र बुद्धाचार्य (शाक्य) खलक गरि करिब ७० परिवार रहेका छन । यस महाविहारको संघमा दश स्थविर परम्पराको व्यवस्था भएको पाईन्छ । वहाँहरू संघमा प्रवेश गरेको जेष्ठताक्रम अनुसार नै संघमा दश स्थविर पदमा आसिन हुने व्यवस्था गरिने परम्परा रहेको छ । वहाँहरूमध्ये बज्राचार्य संघले प्रशन्नशील महाविहारको क्वापाद्यो आगमदेवताको दैनिक रुपमा आलोपालो गरि विहान नित्यपूजा सन्ध्याकालमा सन्यायायेगु (बत्ती पूजा) गर्ने कार्य सुचारु रुपमा संचालन गर्दै आएका छन् । त्यसैगरी बुद्धाचार्य शाक्यहरु संघले, आदिपद्म महाविहारको क्वापाद्यो, आगमदेवता बिहान नित्यपूजा साथै सन्ध्याकालमा सन्यागर्ने गर्दै आएका छन् । त्यसै गरि महाविहारको थपाजूले दीपंकर बुद्धलाई विहान नित्यपूजा र बेलुका दीपावली पूजा गर्दै आएका छन् । यस महाबिहारमा बर्षको एकचोटी दीपंकर बुद्ध अगाडी विराजमान गराई सदस्यहरु भेला भएर देवाली पूजा मनाउने गरिन्छ भने बर्षको दुई पटक स्थाविर आजूहरु भेला भएर नायोगुठी पर्वपूजा मनाईन्छ । त्यसैगरी सबै संघहरू भेला भएर पालैपालो सम्यक दानपर्व (पञ्जरा पर्व)को बेलामा दीपंकर बुद्धको जात्रा गरीन्छ । यस विहारको प्रमुख सम्पदाहरूमा क्वापाद्यो देवता लोकेश्वर, बाहाःको मूल चैत्य दुईवटा आगमघर भित्रको आगम देवता हेरुक चक्रसम्बर आदि रहेका छन् ।
१२. मूल दीपंकर बिहार
परिचय : मूल दीपंकर बिहार भक्तपुर नगरको वडा नं. १० क्वाठण्डौ टोलमा अवस्थित छ । देवननी भनेर पनि चिनिएको यस विहारमा पञ्जरांदान पर्व एवं सम्येक् महादान पर्वमा जात्रा गरिने दीपंकर बुद्धको मूर्ति रहेको छ । भक्तपुरको मूलमा आजू (मुख्य दिपंकर) रहेको यो बिहारको पूर्वदिशामा क्वाठण्डौ पोखरी, दक्षिण दिशामा प्रशन्नशील महाविहार, पश्चिम दिशामा बेखाल टोल र उत्तर दिशामा बेखाल पोखरी रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : प्रशन्नशील महाविहार÷पशुपति महाविहारको द्योननी भनेर चिनिएको दीपंकर विहारमा नै प्रशन्नशील महाविहारको सबै पर्वपूजाहरु अन्र्तगतको सांघिक परम्पराहरु सम्पन्न गरिन्छन् । यस बिहारमा प्रशन्नशील महाविहारको÷पशुपति महाविहारको मूल आजु (थपाजू) भैसकेपछि बाकि जीवन यहि विहार मै बसेर बिताउनु पर्ने परम्परा रहेको छ । मूल दीपंकर बिहारमा विराजमान गराइएको मूल दीपंकर बुद्धको हातमा सम्बत २०२ उत्कीर्ण गरिराखेको छ भन्ने यहाँको संघ सदस्य एकजनाको भनाई अनुसार उक्त दीपंकर बुद्धको स्थापना करिव नौसय बयालिस बर्ष जति अगाडि भएको देखिन्छ । यही दीपंकर बुद्धलाई ललितपुरमा हुने नियमित सम्यक् महादान र ऐच्छिक सम्यक् महादान पर्वहरु गर्दा पठाइएका निमन्त्रणा पत्रहरु सबैभन्दा पुरानो ने.सं. ६६८ सालको रहेको छ । ललितपुरमा प्रत्येक चारवर्षमा सम्पन्न हुँदै आएको सम्यक् महादानमा अहिले सम्मपनि यहाँको दीपंकर बुद्धलाई निमन्त्रणा पत्र आइरहेको पाइन्छ । दीपंकर बुद्ध विराजमान गराइएको मन्दिर वर्तमान काठमाण्डौँ रत्नपार्कमा रहेको महाँकाल देवताको मन्दिर जस्तै दुई तले मात्रै रहेको र वि.सं.१९८० सालतिर ठूलो मन्दिर बनाइएको भन्ने यहाँका संघ सदस्यहरुको भनाइ रहेका छन् । त्यसपछि अन्तिम पटक वि.सं. २०३३ सालमा जर्मन प्रोजेक्टले जिर्णोद्धार गरेका थिए ।
विहारको संघ, गतिविधि र सम्पदा ः प्रशन्नशील महाविहार÷पशुपति महाविहारको ननी दीपंकर बिहार भएकोले यहाँ अलग्ग संघ छैन । तर प्रशन्नशील महाविहारको सबै संघले गर्नुपर्ने कामहरु यहि विहारमै गरिन्छन् । यस विहारको दीपंकर बुद्धको दैनिक बिहान नित्यपूजा र साँझ सन्या गर्ने कार्य भैरहेको छ । यस बिहारको प्रमुख सम्पदाहरु मूल दीपंकर बुद्ध, कलात्मक देवताघर, नामसंगीति, बज्रसत्व, बिभिन्न शैलीका चैत्यहरु आदि रहेका छन् ।
१३. कुलरत्न महाविहार
परिचय : भक्तपुर नगरको वडा नं.१० क्वाठण्डौ टोलमा रहेको अर्को विहार कूलरत्न महाविहार हो । प्रवज्या सम्वर कार्य समेत गरिन्दै आएको सानो आकारको यस विहारलाई बिखु विहार भन्ने पनि चलन रहेको छ । यस विहारको पूर्वमा नगांचा, दक्षिणमा क्वाठण्डौ पोखरी, पश्चिममा बेखाल टोल र उत्तरमा धर्मकृति महाविहार (याँबाहाः) रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि ः यस महाविहारमा रहेको एक स्तम्भ चैत्य रहेको छ । यस चैत्य ने.सं.९९१मा प्रशन्नशील महाविहार÷पशुपति महाविहारया सदस्य क्वाठण्डौ टोलका श्री जुजुधन बुद्धाचार्यको परिवारले तत्कालिन राजा सुरेन्द्र वीर विक्रम शाहदेवको पालामा स्थापना गरिएको हो । यसैगरी यस अभिलेखमा दाताको वंशावली र क्वापाद्यो बुसाधँ सम्वन्धि विवरण पनि उल्लेख गरिएको छ ।
बाहाःको संघ, गतिविधि व सम्पदा ः यस महाविहार संघ सदस्यहरु बुद्धाचार्य (शाक्य) हुन् । तर आजभोलि यहाँको संघ परम्परा लोप भई सकेको अवस्था छ । केहि वर्ष अगाडि सम्म यस विहार नजिकका सानुकाजी शाक्यले क्वापाद्योको नित्य पूजा गरिन्दै आएको थियो । बाहाःको क्वापाद्यो, साढेतीन फिटको पद्मपाणी लोकेश्वर, स्तम्भ चैत्य, गणेश, महाँकाल र हनुमानको मूर्ति यस महाबिहारका सम्पदाहरु हुन् ।
१४. धर्मकीर्ति बिहार
परिचय : भक्तपुर नगरको वडा नं. १०, क्वाठण्डौ टोलमा रहेको अर्को विहार धर्मकीर्ति विहार हो । स्थानिय जनताबीच याँबही (यंबि बिहार) रुपमा परिचित यस विहार वास्तुस्वरुप अनुशार चतुष्कोणाकारको रहेको छ । वीचमा चैत्य रहेको यस विहारको पूर्वमा नगांचा, दक्षिणमा क्वाठण्डौपोखरी, पश्चिममा बेखाल टोल र उत्तरमा नगरकोट जाने बाटो रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि ः यस विहारको स्थापनाको वारेमा अहिले सम्म कुनै अभिलेख प्राप्त भएको छैन । तर यस बिहारको नाममा ने.सं. ६९४ मा कीर्तिपुरका क्वाथःनायक जयकीर्ति भारोजुले आफ्नो विहारमा गर्ने संघ महाभोजको निमन्त्रणा पत्रमा यस बिहारको नाम श्री धर्मकीर्ति विहार भन्ने उल्लेख गरिएबाट यस विहार भक्तपुरको पुरानो विहार÷बहीहरु मध्ये एक हो भन्न सकिन्छ । यस बिहारमा ने.सं. ९०४ को शिलापत्र अद्यपि रहेको छ ।
बाहाःको संघ, गतिविधि व सम्पदा : धर्मकीर्ति विहारका संघका सदस्यहरु को हुन भनि कितानका साथ भन्न नसकिएता पनि आजभन्दा ६०—७० वर्ष अगाडिसम्म यस विहारमा प्रशन्नशील महाविहारका बिश्वकर्मा छेँ खलःले बहीद्यो प्रदर्शन गर्ने गरेको यहाँका जेष्ठहरुको भनाई रहेको छ । दुई तीनवटा चैत्यहरु बाहेक अरु सम्पदा यस विहारमा देखिन्दैन । हाल यहाँ धर्मकिर्ति नाम रहेको तीन तल्ले गुम्वा रहेको छ ।
१५. आदिपद्म महाविहार
परिचय ः आदिपद्म महाविहार भक्तपुर नगरको वडा नं ९ को तौलाछेँ टोलमा रहेको छ । यस विहार प्रवजित (भिक्षु) गरिने पुरानो महाविहारहरू मध्ये एक हो । यस आदिपद्म महाविहारलाई स्थानिय वासिन्दाहरुले “तोँ बाहाः”भनेर पनि चिन्ने गर्दछन् । बाहाःको वास्तुकला अनुरुप यस बाहाःको चोक चतुष्कोणाकार रहेको छ । यो बहाःको पूर्वमा च्याम्हासिह, पश्चिममा वाकुपति नारायणको मन्दिर दक्षिण पश्चिममा जेलाँ टोल र उत्तरमा सूर्यमढि डबलि रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : आदिपद्म महाविहार स्थापना गर्ने दाता र स्थपना समय स्पष्ट उल्लेख भएको अभिलेख अहिलेसम्म प्राप्त भएको पाइन्दैन । यस महाविहारको सबैभन्दा पुरानो स्पष्ट प्रमाणको रुपमा ने. सं. १०३ को अभिलेख रहेको छ । त्यसै गरी ५०३ ताकाको गोपालराज वंशावली अनुसार यस महाबिहारलाई “यम्ब तुनुं विहार” भनेर उल्लेख गरिएको छ ।
बाहाःको संघ, गतिविधि सम्पदा : आदिपद्म महाविहारमा बुद्धाचार्य (शाक्य) संघ रहेको छ । यस महाविहारको संघमा करिब २५ परिवार रहेका छन् । यस महाविहारको संघ सदस्यहरु मध्येबाट मनोनित भई प्रशन्नशील महाबिहारमा “चिनंजु”(भण्डारी) भएर परम्परा चलाई आएका छन् । यस बाहाःको कुलपुत्रहरु यहि बिहारमा प्रवज्या गरेपनि हुन्छ र प्रशन्नशील महाबिहारमा प्रवजित गरेपनि हुने प्रावधान रहेको छ । यहाँका संघ सदस्यहरुले आलोपालो गरी बाहाःको क्वापाद्यो शाक्यमुनि बुद्ध, आगमदेवता चण्डमाहारोषणको बिहानको नित्यपूजा र बेलुका सन्या (दीपावली पूजा) आलोपालो गरि पूजा संचालन गर्दै आइरहेका छन् । त्यसै गरि सबै संघ सदस्यहरु मिलेर सम्यक महादान पर्व र पञ्चदान पर्वमा प्रशन्नशील महाविहारको दीपंकर बुद्धको जात्रा गरि परम्परालाई निरन्तरता दिंदै आएका छन् ।
१६. खुशीबाहाः (शक्रवर्त विहार)
परिचय : भक्तपुर नगरको वडा नं.७, हनुमान घाटको पश्चिम प्राङ्गणमा खुशी बाहा रहेको छ । यस विहार परिसरमा लिच्छवि कालीन शैलीको चैत्य, पद्यपाणी लोकेश्वर, चौधौं पन्ध्रौं शताब्दीको बज्रधातु चैत्य, महांकाल चैत्य र मूर्ति आदि सम्पदाहरु छरिएर रहेका छन् । राष्ट्रिय अभिलेखालयबाट प्रकाशित ने.सं.४९६ कार्तिक शुदि उल्लेख भएको एक तमसुक पत्रमा यस विहारको नाम रहेको छ । साथै कोथो विहार र याथूर विहारको नाम पनि उक्त तमसुक पत्रमा उल्लेख गरिएको छ ।
१७. धर्मउत्तर महाविहार (मुनि बिहार)
परिचय : भक्तपुर नगरको वडा नं.७, खँचा टोलमा धर्मउत्तर महाविहार रहेको छ । स्थानिय जनता बीच “मुनि बिहार”को नामले परिचित यस विहार वास्तुस्वरुप अनुशार चतुष्कोणाकार रहेको छ । वीचमा चैत्य रहेको यस विहारको पूर्वमा माहेश्वरी पीठ, दक्षिणमा हनुमान घाट, पश्चिममा गोल्मढि याता र उत्तरमा इनाचो टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : बिहारमा प्राप्त शीलापत्र अनुसार यस धर्मउत्तर महाबिहारको स्थापना ने.सं. ७७६ मा मुनि बुद्धाचार्यले गरेका हुन् । मुनि बुद्धाचार्यले नेपालको उत्तरमा पर्ने ल्हासा (तिव्बत) गई बौद्धधर्म अध्ययन गरी ,सो बाट प्रेरित भई धर्म गर्ने क्रममा स्थापना गरेको विहार भएर धर्मउत्तर भन्ने शव्द राखी बिहारको नाम नै धर्मउत्तर महाविहार रहन गएको भन्ने कथन रहेको छ । विहारको सोही शीलापत्रमा ने.सं. ७८७ मा यस महाबिहारमा शाक्यमुनि बुद्ध, दीपंकर बुद्ध, धर्मधातु चैत्य, गणेश महाँकाल, चक्रसम्वर देवता स्थापना गरेको उल्लेख छ ।
बाहाःको संघ, गतिविधि र सम्पदा ः यस धर्मउत्तर महाबिहारका संघ सदस्यहरु इन्द्रवर्ण महाविहार बुद्धाचार्य (शाक्य) हरु नै हुन् । प्रवजित कार्य गर्ने महाबिहार भएतापनि यहाँ प्रवजित कार्य गरेको भने सुनिएको छैन। यस महाबिहारमा संघबाट बाहाको क्वापाद्यो, आगंद्योलाई नित्यपूजा र सन्या गर्ने (बत्ती दिने) कार्य गरेको वारे कुनै जानकारी पाईन्दैन । यसरी बर्षौसम्म विहारमा पूजाआजा गर्ने कार्य बन्द भएको कारणले गर्दा आज भन्दा ७० वर्षजति अगाडि थेरवाद भिक्षुहरुलाई यस महाबिहार हस्तान्तरण गरेको देखिन्छ । आजभोलि यस विहारमा थेरवाद परम्परा अनुसार संघ परम्परा चलि आएको देखिन्छ । र नेपालको प्रमुख उपोसथागार (भिक्षु बनाउने स्थल) को रुपमा परिचित छ ।
१८. इन्द्रवर्ण महाविहार
परिचय : भक्तपुर नगर वडा नं. ७ को इनाचो टोलमा अवस्थित प्रवजित (भिक्षु) गरिने एक परम्परागत महाविहार इन्द्रवर्ण महाविहार हो । यस महाबिहारलाई स्थानिय जनताहरु “इना बाहाः÷इनाचो बाहाः” भनेर पनि चिन्ने गर्दछन । यो बाहाःको वास्तुकला अनुसार चतुष्कोण चोक बनाइएको छ । यस बाहाःको पूर्व दिशामा वाँचु टोल, दक्षिण दिशामा मुनिविहार हनुमान घाट, पश्चिम दिशामा गोलमढि पलिखेल र उत्तर दिशामा तचपाल दत्तात्रय जाने मूलबाटो छन् ।
ऐतिहासिक पृष्ठभूमि : इन्द्रवर्ण महाविहारको स्थापना ने.सं.७४१ मा राजा ज्योति मल्लको शासन कालमा देवसिंह बुद्धाचार्य, जयसिंह बुद्धाचार्य व मेलुसिं बुद्धाचार्यहरुको समयमा भएको देखिन्छ । त्यसबेला श्री देवसिं बुद्धाचार्यले वंदिमस्थानको युलटोलको हरि नामको व्यक्तिसंग लम्बाई ४२ हात चौडाइ ३६ हातको जग्गा किनेका थिए । सोहि जग्गामा यो बिहार बनाइएको देखिन्छ ।
बाहाःको संघ, गतिविधि र सम्पदा : इन्द्रवर्ण महाविहारमा बुद्धाचार्य (शाक्य) संघ छन् । यहाँको संघ सदस्यहरुले आलोपालो गरि यस महाबिहारमा गर्नुपर्ने बाहाःको क्वापाद्यो, आगंदेवताको बिहान गर्नुपर्ने नित्यपूजा व सन्ध्याकालमा गर्नुपर्ने सन्यापूजाहरु गरि आएका छन् । त्यस्तै नै आवश्यकता अनुसार बाहाःमा गर्दै आएका प्रवजित कार्यक्रमलाई समय अनुसार सामुहिक रुपले सम्पन्न गर्दै आएका छन् । यस्तै नै संघबाट गुंलामहिनामा गुंलाबाजा बजाएर भक्तपुर नगर र काठमाण्डौं उपत्यकाका बिभिन्न स्थानमा स्थापित बाहाः, चैत्य परिक्रमा गरि आएका छन् । यस बाहाःमा प्रत्येक वर्ष कतिं पुन्हि (कार्तिक पूर्णिमा) को दिनमा यस बाहाःको मूल चैत्यको बुसाधँ (वर्षवन्धन) गर्दै आएका छन् । यस महाबिहारका प्रमुख सम्पदाहरु बाहाःको क्वापाद्यो अक्षोभ्य बुद्ध, गणेश महाँकाल, बाहाःको मूल चैत्य, आगं देवता हेबज्र नैरात्मा हुन् ।
१९. मंगल धर्मद्वीप बिहार (झौर बही)
परिचय : भक्तपुर नगरको वडा नं.७ स्थित गोल्मढि टोलमा मंगल धर्मद्वीप महाबिहार रहेको छ । स्थानिय वासिन्दाहरुले झौरबहीको रूपमा चिनिएको यो बहीको वास्तुकला वर्गाकार चोक र चारैतिर चतुशाला पद्दतिमा घर निर्माण गरिएको छ । प्रत्येक वर्ष गँुला महिनामा पर्ने पञ्चदान पर्व र सम्येक महादान पर्वमा जात्रा गरीने दिपंकर मुर्ति यस विहारमा रहेको छ । यो बहीको पूर्व दिशामा पलिखेल, दक्षिण दिशामा सुकुलढोका जाने मूल बाटो, पश्चिम दिशामा गोल्मढि ढुङ्गेधारा र उत्तर दिशामा चोर्चा टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : मंगल धर्मद्वीप विहार (झौरबही) स्थापना भएको समयको अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । तर यस बहीमा भएको एक शीलापत्रमा राजा विश्वमल्लको समयको ने.सं. ६७६को फागुन महिनामा चतुब्रम्ह महाविहारको संघले यस बहÞी जिर्णोद्धार गरेर, बाहाः पूजा गरेको र पंच तथागत जात्राको व्यवस्था गरिएको उल्लेख भएको छ ।
विहारको संघ, गतिविधि र सम्पदाहरु : मंगल धर्मद्वीप विहारको संघहरू चतुब्रम्ह महाबिहारको तधिछेँ खलक रहेको छ । संघ सदस्यहरुले दिनदिनै विहान नित्यपूजा र सन्ध्याकालमा बत्ती चढ़ाउने कार्य गर्दै आएको छ । त्यसैगरी पञ्चदान पर्व र सम्यक महादान पर्वमा पनि दीपंकर बुद्धको जात्रा गर्दै आइरहेको छ । यस बहीको मूल सम्पदाहरुमा बहीको क्वापाद्यो शाक्यमूनि बुद्ध, दिपंकर बुद्ध मुल चैत्य र आगमदेवताको रुपमा बज्रदेवी रहेका छन् ।
फोटो क्रमशः
११. प्रशन्नशील महाविहार १२. दिपंकर (क्वाठण्डौं), १३. कुलरत्न (क्वाठण्डौं), १४. धर्मकिर्ति (क्वाठण्डौं), १५. आदिपद्य (सूर्यमढी), १६. खुसीबह (खोह्रे), १७. मुनिबिहार (खँचा), १८. इन्द्रवर्ण (इनाचो), १९. झौरबही (गोल्मढी)
क्रमशः

Leave A Reply

Your email address will not be published.