Explore news and happenings at Bhaktapur

शाननानका प्रतिनिधिमण्डलसँग भक्तपुरको आर्थिक तथा वाणिज्य मामिलासम्बन्धी बैठक

२०८१ साउन ८, मंगलबार

0
भक्तपुर नगरपालिकाको निमन्त्रणामा भगिनी सहर मित्र राष्ट्र जनगणतन्त्र चीनको सीचाङ स्वशासित क्षेत्र, शाननान शहरका कार्यकारी उपप्रमुख मु योङवनलगायतका प्रतिनिधिमण्डलसँग भक्तपुरको आर्थिक तथा वाणिज्य मामिलासम्बन्धी बैठक मंगलबार सम्पन्न भयो ।
बैठकमा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर पर्यटकीय केन्द्रको रुपमा विकास भइरहेको सांस्कृतिक शहर भएको बताउँदै भक्तपुरलाई केन्द्रमा राखी भक्तपुर नपाले विभिन्न आर्थिक गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
पर्यटनसँग सम्बन्धित हस्तकला उद्योग, घरेलु उद्योगलगायत अन्य उद्योगलाई भक्तपुर नपाले प्राथमिकतामा राख्दै आएको बताउँदै उहाँले जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, टाइचिन च्युरा, माटोको भाडा, काष्ठकला, धातुकला आदि वस्तुहरुको उत्पादनका साथै विदेशमा निर्यातसमेत भइरहेको अवगत गराउनुभयो ।
भक्तपुर कृषकहरुको बाहुल्यता भएको शहर हो भन्दै उहाँले यहाँका नागरिकहरु कृषि पेशाबाट क्रमशः अन्य पेशातिर आकिर्षत हुँदै गइरहेको बताउनुभयो ।
भक्तपुर नगरभित्र अवस्थित औद्योगिक क्षेत्रलाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्ने पहल भइरहेको बताउँदै उहाँले भक्तपुर नपाले आत्मनिर्भरतालाई जोड दिँदै आएको बताउनुभयो ।
बैठकमा उपप्रमुख मु योङवनले भक्तपुर र शाननानबीच आर्थिक तथा व्यापारिक सम्बन्ध स्थापनाको लागि धेरै सम्भाव्यता देखेको बताउँदै नेपाली सामानको एउटा व्यापार भण्डार स्थापना गरी दुई शहरबीच व्यापारिक सम्बन्ध स्थापना गर्न सकिने बताउनुभयो ।
उहाँले चीनको इन्टरनेट व्यापार अहिले धेरै प्रचलित र प्रख्यात रहेको बताउँदै नेपाल चीनबीचको आर्थिक व्यापारमा परिपूरक सम्बन्ध विकास गर्न सकिनेतर्फ जोड दिनुभयो ।
शाननानको व्यापार विभाग ब्युरोका प्रमुख लीले शाननान शहरको विदेश व्यापारसँग सम्बन्धित विषयगत जानकारी दिँदै चीनमा अहिले अनलाइनमार्फत हुने व्यापार निकै प्रचलनमा रहेको बताउनुभयो ।
व्यापारको विकासले दुई देशबीच भौतिक विकासमा पनि टेवा पुग्ने बताउँदै उहाँले शाननानका सबै सहर र गाउँहरुमा बाटोघाटो र हुलाकको उचित व्यवस्था रहेको बताउनुभयो ।
भक्तपुर नपाको आर्थिक समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुरको पर्यटन उद्योगको विकासको लागि औद्योगिक क्षेत्रलाई स्थानीय सीपमा आधारित हस्तकला औद्योगिक क्षेत्रमा परिणत गर्ने योजना रहेको उल्लेख गर्दै भक्तपुर नपामा ८ हजार ८ सय ८८ वटा व्यवसायहरु दर्ता रहेको र ती व्यवसायहरुलाई दर्ता र नवीकरणको लागि कर टोली खटाइ कर संकलन गर्ने व्यवस्थामा जोड दिँदै आएको बताउनुभयो ।
बैठकमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबन्जा र भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले पनि बोल्नुभएको थियो ।
बैठकमा भक्तपुर नपा आर्थिक समितिका पदाधिकारी, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, भक्तपुर, भक्तपुर घरेलु तथा साना उद्योग सघ, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर होटल व्यवसायी संघ, भक्तपुर इँटा व्यवसायी संघ, भक्तपुर युवा व्यवसायी संघ, भक्तपुर ट्रक व्यवसायी संघ, भक्तपुर सहकारी समाज, भक्तपुर कृषक समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.