Explore news and happenings at Bhaktapur

शान—नानका प्रतिनिधिमण्डललाई ख्वप अस्पतालमा स्वागत

भक्तपुर । २०८१ साउन ८, मंगलबार

0
भक्तपुर नगरपालिकाको भगिनी शहर मित्र राष्ट्र जनगणतन्त्र चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शान—नान शहरका कार्यकारी उपप्रमुख मु योङवन नेतृत्वको प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा मंगलबार स्वागत गरिएको छ ।
ख्वप अस्पतालका डाक्टर र चिकित्सकहरुसँगको छलफल कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संकटको समयमा भक्तपुरका जनताको जीवन रक्षाको निम्ति शान—नान नगरपालिकाले गरेको स्वास्थ्य उपकरणहरुको सहयोगको लागि नगरपालिका र नगरबासीहरुको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो ।
ख्वप अस्पतालले आर्थिक पक्षलाई भन्दा पनि बिरामीहरुको गुणस्तरीय उपचार सेवालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा जोड दिँदै आएको बताउँदै भक्तपुर नपाले समाजवादी नीतिअनुसार जनताको सेवामा समर्पित भइ काम गर्दै आएको बताउनुभयो ।
ख्वप अस्पतालले यस वर्ष सीटी स्क्यान राख्ने योजनाका साथ अगाडि बढिरहेको बताउँदै उहाँले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु अस्पतालको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुरका करिब ८० प्रतिशत जनता स्वास्थ्य बीमामा आबद्ध रहेको बताउँदै उहाँले ख्वप अस्पतालको व्यवस्थापन र सञ्चालनमा भक्तपुर नपाले विशेष प्राथमिकतामा राखी जनशक्ति व्यवस्थापन र स्वास्थ्य उपकरण खरिदको लागि आर्थिक सहयोग गर्दै आइरहेको बताउनुभयो ।
ख्वप अस्पताल नगर अस्पताल भए पनि राष्ट्रिय स्तरको सेवा दिने लक्ष्य रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले अस्पतालबाट वार्षिक २ लाख ५३ हजारभन्दा बढी बिरामीहरुको सेवा र ७० भन्दा बढी जिल्लाका बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउनुभयो ।
त्यस्तै शान—नान नगरपालिकाका उपप्रमुख मु योङवनले शान—नानको स्वास्थ्य स्थिति र अवस्थाबारे विस्तृतमा जानकारी दिनुहुँदै दुई नगरबीच स्वास्थ्यअन्तर्गत धेरै क्षेत्रमा आपसी समन्वय र सहकार्य गरी अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।
शान—नानका शत प्रतिशत जनता चीनको केन्द्रीय स्वास्थ्य बीमामा आबद्ध रहेको बताउँदै उपप्रमुख योङवनले चीनको केन्द्र सरकारले पनि शान—नानको स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । प्रत्येक वर्ष १०० जना विशेषज्ञ डाक्टर शान—नानमा काम गर्न आउने तथ्य पनि उहाँले प्रस्तुत गर्नुभयो ।
शान—नान नगरपालिकाले वडा वडामै जनतालाई स्वास्थ्य उपचार उपलब्ध गराउन जोड दिँदै आएको बताउँदै उहाँले भक्तपुर र शान—नानबीचको सहकार्य आदानप्रदानले महामारी र विपदमा सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
सोही क्रममा उपप्रमुख योङवनले ख्वप अस्पताल सञ्चालन, व्यवथापन र त्यहााबाट प्रवाहित सेवा सुविधा, स्वास्थय बीमा कार्यक्रमको प्रभावकारिता, चिकितसकहरुलाई प्रोत्साहन, आर्थिक व्यवस्थापन आदिबारे जिज्ञासा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले ख्वप अस्पतालको विगत, वर्तमान र भावी योजनाहरुबारे संक्षेपमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लसहितले शान—नानका प्रतिनिधिमण्डललाई ख्वप अस्पतालमा स्वागत गर्नुभएको थियो । सोही क्रममा शान—नान प्रतिनिधिमण्डलले ख्वप अस्पतालको विभिन्न शाखा, अन्तरंगत सेवा, अक्सिजन प्लान्ट आदिमा स्थलगत अवलोकन गर्नुभई त्यहाँबाट प्रवाहित सेवासुविधाबारे जानकारी लिनुभयो । ख्वप अस्पतालले वार्षिक १८०० वटा शल्यक्रिया सम्पन्न गरेको, ४०० जनालाई प्रसुती सेवा, आ.व. २०८०।८१ मा ७५७७ वटा सानो सिलिण्डर र २०६७ वटा ठूलो सिलिण्डर गरी जम्मा ९६४४ वटा अक्सिजन सेवा निःशुल्क रुपमा प्रदान गरेको तथ्यांक प्रस्तुत गर्नुभयो । उहाँले घरदैलो नर्सिङ सेवाअन्तर्गत विभिन्न रोगहरुको संकलन गर्ने काम पनि हुँदै आएको बताउनुभयो ।
विशवव्यापी महामारीको रुपमा फैलिएको कोरोना संकटको समयमा भक्तपुर नपाको भगिनी शहर शान—नान शहरले मिति २०७८ जेठ २८ गते भेन्टिलेटर १ वटा, अक्सिजन कन्सनट्रेटर ३२ वटा, आइसीयु बेड ५० वटा, अकिसजन सिलिन्डर (४० लिटर) को १०० वटा र २०७९ सालमा भेन्टिलेटर १ वटा, अप्रेसन टेबल १ वटा र अप्रेसनको लिड ओटी लाइट दिएर सहयोग गरेको थियो ।

Leave A Reply

Your email address will not be published.