Explore news and happenings at Bhaktapur

बोदेबर्साइन नपा, सप्‍तरीका प्रमुख भनपामा

भक्तपुर, २०७५ मंसिर १८ मंगलबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग सप्तरी जिल्ला क्षेत्र नं. ४ का बोदेबर्साइन नपाका प्रमुख अतेशसिंह यादवले भेट गर्नुभयो ।


भेटमा प्रमुख प्रजापतिले भक्तपुर नपाको सन्तुलित विकासको लागि योजनाबद्ध तरिकाले अगाडि बढिरहेको र पर्यटकको बसाई लम्ब्याउन पर्यटकमैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले देशभरिका विद्यार्थीले अध्ययन गरिरहेको नगरपालिकाद्वारा सञ्चालित कलेजले सस्तो र गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो ।
इञ्जिनियरिङ शिक्षामा ख्वप ईं. कलेज उदाहरणीय रुपमा अगाडि बढिरहेको चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले शिशुस्याहार देखि विश्वविद्यालयसम्मको शिक्षा नगरपालिका स्वयम्ले सञ्चालन गर्ने गरी कार्य अगाडि बढिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो –‘भक्तपुर नगरपालिकाले विदेशी सहयोग विनानै  सम्पदा संरचना र विकास निर्माणको कार्य गरिरहेको छ र  विश्वविद्यालय सञ्चालनको लागि स्वीकृति चाहिएको हो, आर्थिक सहयोग होइन ।’ देश एनजीओ/आइएनजीओको कारण बिग्रिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले देशमा साम्प्रदायिक दंगा फैलाउने काममा पनि एनजीओ/आइएनजीओहरुको भूमिका रहेको बताउनुभयो ।
नयाँ पुस्तालाई स्थानीय ठाउँ, चाडपर्व र अन्य विषयवस्तुको जानकारी दिन स्थानीय पाठ्यक्रम लागु गरेको जानकारी गराउनुहुँदै उहाँले भन्नुभयो – ‘भक्तपुर नगरपालिकालाई पारदर्शिताको नमुना नगरपालिकाको रुपमा विकास गर्दैछौं ।’
भेटमा बोदेबर्साइन नपाका प्रमुख यादवले सप्तरी सानो तर धेरै समस्या भएको जिल्ला भएको र अधिकांश युवाहरू वैदेशिक रोजगारीको लागि विदेशिंदा खेतीयोग्य जमिन बाँझो भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाबाट शिक्षा, सम्पदा संरक्षण, स्वास्थ्य र सरसफाईबारे सिक्न चाहेको बताउनुभयाे ।
उहाँले एनजीओ र आइएनजीओहरू कार्यकर्ता पाल्ने संस्थाको रुपमा विकास भइरहेको बताउनुहुँदै विकास निर्माणका काममा ठेक्कापट्टा दिनु गलत हुने बताउनुभयो ।
भेटघाटमा भक्तपुर नपा वडा नं. ३ का वडाअध्यक्ष राजकृष्ण गोरा र वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांको पनि उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.