Explore news and happenings at Bhaktapur

स्वास्थ्य स्वयम्‌सेवकहरुले असल सामाजिक कार्यकर्ताको रुपमा काम गर्नुपर्ने

भक्तपुर, २०७५ मंसिर १९ गते बुधबार । भक्तपुर, २०७५ मंसिर १९ गते बुधबार ।

0

‘महिला स्वास्थ्य स्वयम्‌सेविकाको सेवा, स्वस्थ समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ जनस्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा बुधबार १५ औं राष्ट्रिय स्वयम्सेवक दिवस सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजको समस्या राम्ररी बुझ्ने स्वयम्सेवक भनेका सामाजिक कार्यकर्ता हुन् र सामाजिक कार्यकर्ता राजनैतिक कार्यकर्ता भएर समाजको सेवाको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रअनुसार घरदैलो नर्सिङ सेवाको प्रारम्भ गरेको र नगरवासीको रोग पहिचान गरी त्यहीअनुरुप सहज स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका अग्रसर हुने बताउनुभयो । समाजको स्तरअनुसार स्वयम्सेविकाहरूले काम गर्नुपर्ने विचार राख्नुहुँदै प्रमुख प्रजापतिले विद्यार्थीलाई स्वास्थ्य सेवा दिन प्रत्येक विद्यालय तथा कलेजमा नर्स वा डाक्टरमार्फत् निरन्तर सेवा दिने सोचका साथ अगाडि बढेको बताउनुभयो ।

समाजको तल्लो वर्ग र गरिब जनताको सेवा गर्ने लक्ष्य नगरपालिकाले बोकेको बताउनुहुँदै पैसा कमाउने भन्दा जनताको सेवामा ध्यान केन्द्रित गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले घरदैलो नर्सिङ सेवाले नगरवासीको सेवा, वडा–वडाको समस्या पहिचान र तथ्याङ्क संकलनको काम भइरहेको बताउनुभयो । उहाँले नगरवासीको स्वास्थ्य अवस्था बुझ्न र नपाको नीति तथा कार्यक्रम तर्जुमा गर्न पनि यो सेवाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
जनस्वास्थ्य केन्द्रका इन्चार्ज रत्नसुन्दर लासिवाले स्वयम्सेविकाहरूले जनताको सेवा गरिरहेको र वडा नर्सिङ परिचालनको उद्देश्य समाजका ज्येष्ठ नागरिक, गर्भवती महिला, बालबच्चा तथा गरिब जनताको सेवा गर्नु रहेको स्पष्ट पार्नुभयो ।

कार्यपालिका सदस्यद्वय सुनिता अवाल र छोरीमैयाँ सुजखूले नर्सिङ सेवा मानवीय धर्मसँग सम्बन्धित कार्य भएको हुँदा आ–आफ्नो क्षेत्रमा इमान्दारीपूर्वक काम गर्न मार्गनिर्देशन गर्नुभयो । भक्तपुर नपा जनताको संस्था भएको कारण स्वयम्सेविकामा जनताको भावना बुझ्ने र त्यहीअनुसारको व्यवहार गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा महिला स्वयम्सेविका अध्यक्ष तारादेवी धन्छा, जमुना काफ्ले, कमलकेशरी शिल्पकार र रचना सुवालले पनि बोल्नुभएको थियो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उत्कृष्ट तीन स्वयम्सेविका लक्ष्मीकेशरी तुईतुई, रहनसिला ग्वाछा र सरोजा अवाललाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.