Explore news and happenings at Bhaktapur

सफाई मजदुरहरुको भेला सम्पन्न

२०८० असार २६ गते, मंगलबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा मंगलबार भक्तपुर नगरपालिकामा कार्यरत वडा निरीक्षक र सफाइ मजदुरको भेला कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहरलाई सफा राख्ने मुख्य जिम्मेवारी सफाइ मजदुरहरुको भएको बताउँदै सफाइ मजदुरले नगरको सरसफाईमा अझ जोश जागरका साथ काम गर्नुपर्ने बताउनुभयो ।
कुनै पनि काम ठूलो वा सानो नहुने र श्रमको सम्मान गर्नुपर्ने बताउँदै उहाँले भक्तपुर नपाले सिंगो नगरलाई विश्वकै सुन्दर, आकर्षक र हेर्नलायक सहरको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाले सुकुलढोकादेखि टौमढीको बजार क्षेत्रमा हरियाली व्यवस्थापनको तयारी मा जुटेको बताउँदै प्रमुख प्रजापतिले कर्मचारीहरुले व्यक्तिगत फाइदाको लागि नभई संस्थाको हितको लागि काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले कुहिने फोहोरलाई प्रांगारिक मल उत्पादन गरी फोहोरलाई आयस्रोतमा रुपान्तरण गरिरहेको बताउँदै पर्यटकीय नगरमा पर्यटकको आगमन वृद्धि गर्न सहरलाई सँधै सफा र सुरक्षित राख्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले जोखिमपूर्ण काम गर्ने सफाइ मजदुरहरु फोहोर उठाउने काम गरेकै कारण विभिन्न रोगबाट ग्रसित हुने पक्षलाई ध्यान दिई आफ्नो स्वास्थ्यबारे पनि सजग रहनुपर्ने बताउनुभयो । भक्तपुर नपाले फोहोरमा काम गर्ने सफाई मजदुरहरुको लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराउँदै आएको बताउँदै उहाँले सफाई मजदुरहरुले सेवाग्राहीमैत्री व्यवहार गरी नगरलाई सफा र आकर्षक बनाउन सदा क्रियाशील रहनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले स्थानीय तहको प्रारम्भिक कार्य सरसफाइ भएको बताउँदै भक्तपुर नगरको सरसफाई कार्यमा सफाइ मजदुरहरुको योगदान उपलब्धीपूर्ण रहेको बताउनुभयो । उहाँले भक्तपुर नपाले सरसफाई क्षेत्रमा कमाएको ख्यातिलाई अझ उच्च राख्ने ढंगले काम गर्न सफाई मजदुरहरुलाई प्रेरित गर्नुभयो ।
उक्त कार्यक्रममा श्यानिटेसन शाखाका प्रमुख दिलिपकुमार सुवालले सफाइ मजदुरहरुको काम र कार्यविवरणबारे प्रष्ट पार्दै फोहोरमा काम गर्ने सफाई मजदुरहरुले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.