Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा सिलाई, बुटिक, हेयर कटिङ तथा पाक शिक्षा तालिमका सहभागीलाई प्रमाणपत्र वितरण

२०८० असार २१ गते, बिहीबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा भएको ६ महिने बुटिक, ६ महिने हेयर कटिङ, ४ महिने पाक शिक्षा र ६ महिने आधारभूत सिलाई तालिमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सीप भएका युवाहरू कहिल्यै बेरोजगार बस्न नपर्ने र सीप भएका व्यक्ति आत्मनिर्भर हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरबासीहरूका लागि विभिन्न सीपमूलक तालिम सञ्चालनले सिंगो नगर र नगरबासीलाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने बताउँदै व्यक्तिको सीप र गुणको समाजमा छुट्टै महत्व हुने उहाँले बताउनुभयो ।
शिक्षित समाजले समाजलाई सही दिशातिर दो¥याउने बताउँदै प्रमुख प्रजापतिले असल संगतले असल व्यवहार र अनुशासन सिकाउँने हुँदा नयाँ पुस्तालाई सही दिशानिर्देश गर्न अभिभावक र शिक्षकहरुले मेहेनत गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्यलाई साकार पार्न भक्तपुर नपाले समयसापेक्ष गतिविधिलाई जोड दिँदै विश्वको आकर्षक सहरको रुपमा भक्तपुरको विकास भइरहेको उहाँले प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले महिला र पुरुषबीचको विभेद अन्त्यको लागि महिलाहरुलाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा अगाडि बढाउने लक्ष्यका साथ महिलालक्षित तालिमलाई विशेष जोड दिँदै आएको बताउनुभयो । उहाँले सिंगो देश र समाजलाई अगाडि बढाउन महिलाहरुको भूमिका उल्लेखनीय रहँदै आएको बताउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा–९ का वडाध्यक्ष रबीन्द्र ज्याख्वले स्थानीय सरकार जनताको नजिकको सरकार भएको हुँदा आफ्ना नागरिकलाई हातहातमा सीप दिई आत्मनिर्भर बनाउने उद्देश्यले भक्तपुर नपाले विविध तालिमहरु सञ्चालनलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सीपमूलक तालिम सञ्चालनले देशको अर्थतन्त्रलाई चलायमान राख्ने र भक्तपुरलाई आत्मनिर्भर बनाउन समेत टेवा पुग्ने बताउनुभयो ।
प्रमाणपत्र वितरण कार्यक्रममा कार्यपालिका सदस्यद्वय रोशन मैंया सुवाल र वडा नं. ४ का वडा सदस्य विष्णुकेशरी दुवालले भक्तपुर नपाबाट सञ्चालित विभिन्न जीवनउपयोगी सीपमूलक तालिमले नागरिकलाई आत्मनिर्भर बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापति, उपप्रमुख जोशी र प्रमुख प्रशासकीय अधिकृत शर्माले ६ महिने बुटिक तालिमका २२ जना, ६ महिने आधारभूत सिलाईका २६ जना, ६ महिने हेयर कटिङका २१ जना र ४ महिने पाक शिक्षाका १६ गरी जम्मा ८५ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । तालिमका प्रशिक्षक र उत्कृष्ट प्रशिक्षार्थी नपाका पुस्तकहरु उपहारस्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडा सदस्य सुमित्रा बोहजू र सिलाई तालिमका प्रशिक्षक धर्मलक्ष्मी लघुले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.