Explore news and happenings at Bhaktapur

उद्योगी व्यवसायीहरुसँगको बैठक सम्पन्न

२०७७ जेठ १२ गते, बुधबार .

0

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका उद्योगी व्यवसायीहरुसँगको बैठक जुममार्फत सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड बिरामीको उपचारको लागि ख्वप अस्पतालमा बनाउन लागिएको अक्सिजन प्लान्ट निर्माणमा विभिन्न सहकारी संस्था, संघ संस्था तथा व्यक्तिगत रुपमा आर्थिक र भौतिक सहयोगहरु प्राप्त भइरहेको बताउनुहुँदै सो कार्यमा उद्योगी व्यवसायीहरुबाट पनि सहयोगको लागि आह्वान गर्नुभयो ।

भक्तपुर नगरपालिकालाइ सरकारले आवश्यक सहयोग नगरेको गुनासो पोख्नुहुँदै जनताको सहयोगमा ख्वप अस्पतालमा जडान गर्न लागेको अक्सिजन प्लान्ट स्थानीय तहले कोभिड रोकथाम र नियन्त्रणमा एउटा उदाहरणीय कार्य हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
ख्वप अस्पताललाई देशकै नमुना अस्पतालको रुपमा अगाडि बढाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको उहाँले जिकीर गर्नुहुँदै महामारीको बेला गरेको सहयोग जनताको जीवन सुरक्षा गर्नु नगरपालिका लगायत उद्योगी व्यसायीहरुको समेत कर्तव्य भएको बताउनुभयो ।
भक्तपुर नपाले २५ वटा एचडियु सहितको ७५ बेडको आइसोलेसन सहितको ख्वप अस्पताल (कोभिड युनिट) सञ्चालन गर्दै संक्रमितहरुको उपचार गरिरहेको बताउनुहुँदै भक्तपुर नपा जनताको साझा संस्था भएकोले यसलाई अगाडि बढाउन सबैको सहयोगी भावना र सहकार्य आवश्यक भएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाभित्र कोभिड–१९ रोग संक्रमणको अवस्था र यसको रोकथाम र नियन्त्रणका लागि नगरपालिकाबाट भइरहेको प्रयासको चर्चा गर्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष एवम् नगर शिक्षा समिति सदस्य उकेश कवांले अक्सिजन अभावका कारण कयौंले अकालमा ज्यान गुमाउनुपरेको यथार्थबारे प्रष्ट पार्नुहुँदै भक्तपुर नपाले छिटो भन्दा छिटो अक्सिजन प्लान्ट निर्माण गर्ने तयारीमा जुटेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुको तर्फबाट विश्वराम कवां, जितेन्द्र खायमली, नातिभाई ह्योम्बा, राजेन्द्र प्रजापति, आशराम वैद्य र कृष्णभक्त दुवालले भनपाले कोरोना कहरको समयमा नगरबासीहरुको हितमा गरिरहेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै जनताको हितको लागि गरिरहेको नपाको काममा हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.