Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुसँग जुम बैठकमा

२०७७ जेठ १२ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको साथ र सहयोग भए कसैसामु झुक्न नपर्ने र जस्तोसुकै महामारीलाई सजिलै परास्त गर्न सकिने बताउनुभयो ।

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार जुममार्फत भक्तपुर नपाभित्र सञ्चालित संस्थागत विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरुसँग कोभिड रोकथाम तथा नियन्त्रणमा भक्तपुर नपाको गतिविधि र विद्यालयहरुको शैक्षिक अवस्थालगायतका विषयमा भएको बैठकमा उहाँले उक्त विचार राख्नुभएको हो ।

नयाँ भेरियन्टको कोभिड देखिएपछि भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटले १ सय ४७ जनालाई सेवा दिइसकेको र ३० जनाले एचडीयु सेवा पाइसकेको तथ्यांक अवगत गराउनुहुँदै उहाँले नपाको आइसोलेसन केन्द्रको सेवा निकै प्रशंसनीय रहेको बताउँदै ख्वप अस्पतालमा निर्माण गरिने अक्सिजन प्लान्टमा सहयोग गर्ने संघसंस्थाहरुको संख्या क्रमशः बढिरहेकोमा कृतज्ञता ज्ञापन गर्नुभयो ।

कोरोना संक्रमित बिरामीको लागि उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ नगरपालिका आफैले अक्सिजन प्लान्ट निर्माण गर्न लागेको र उक्त कार्यमा संस्थागत विद्यालयहरुको पनि साथ र सहकार्यको लागि पनि उहाँले आग्रह गर्नुभयो ।

कोभिड संक्रमित बिरामीहरुको सेवामा भक्तपुर नपाका जनप्रतिनिधि र कर्मचारीहरु निकै सक्रियताका साथ अगाडि बढिरहेको बताउनुहुँदै उहाँले भक्तपुर नपाले उपभोक्ता समितिमार्फत यहाँका विकास निर्माणका गतिविधिहरुलाई पनि निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले भन्नुभयो, भक्तपुर नपाबाट सञ्चालन हुने ख्वप अस्पतालको सेवा सुविधा स्तरीय र सुविधा सम्पन्न बनाउने योजनाका साथ अगाडि बढिरहेका छौं । भक्तपुर नपाले नगरबासीहरुको हितमा नगरबासीहरुको अपनत्व रहने गरी काम गरिरहेको प्रष्ट पार्नुभयो ।

उहाँले भक्तपुरलाई शैक्षिक गन्तव्य र ज्ञान विज्ञानको केन्द्रको रुपमा विकास गर्न भक्तपुर नपाले शिक्षालाई उच्च प्राथमिकतामा राख्दै कलेजहरु सञ्चालन गर्दै देशभरिका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आइरहेको बताउनुभयो ।

सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यका साथ नपा अगाडि बढिरहेको बताउनुहुँदै शिक्षकहरुले विद्यार्थीलाई व्यक्तिगत स्वार्थबाट टाढा राख्न देश र समाजको निम्ति समर्पित ढंगले अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले पनि बोल्नुभएको उक्त बैठकमा नगर शिक्षा शाखा भक्तपुरका उपसचिव हरिप्रसाद निरौलाले शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन कार्यढाँचा माथि प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले गर्नुभएको थियो ।

बैठकमा संस्थागत विद्यालय (इसान, प्याब्सन, एनप्याब्सन) का प्रअ तथा प्रतिनिधिहरुले नपाको स्वागतयोग्य कार्यमा सहकार्य र सहयोग गर्न तयार रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.