Explore news and happenings at Bhaktapur

सामुदायिक विद्यालयहरुका संस्थापक र प्रधानाध्यापकहरुसँगको बैठक सम्पन्न

२०७७ जेठ १२ गते, बुधबार

0

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरुसँगको बैठक जुममार्फत सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड बिरामीको उपचारको लागि ख्वप अस्पतालमा बनाउन लागिएको अक्सिजन प्लान्ट निर्माणमा विभिन्न सहकारी संस्था, संघ संस्था तथा व्यक्तिगत रुपमा आर्थिक र भौतिक सहयोगहरु प्राप्त भइरहेको बताउनुहुँदै शैक्षिक संस्थाहरुको तर्फबाट पनि आवश्यक सहयोगको लागि आह्वान गर्नुभयो ।

भक्तपुर नगरपालिकालाई केन्द्र र प्रदेश सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा पक्षपातपूर्ण व्यवहार देखाइरहेको समयमा जनताको सहयोगमा बन्न लागेको अक्सिजन प्लान्ट उदाहरणीय कार्य बन्नेमा विश्वास व्यक्त गर्नुभयो । ख्वप अस्पताललाई देशकै नमुना अस्पतालको रुपमा अगाडि बढाउने उद्देश्यका साथ अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

महामारीको बेला गरेको सहयोग जनताको हितमा केन्द्रित हुने बताउनुहुँदै उहाँले भन्नुभयो, महामारीको बेला जनताको जीवन सुरक्षा गर्ने काम नपाको मात्र नभई शिक्षक, बुद्धिजीवी, व्यापारी र सबै नगरबासीहरुको पनि कर्तव्य भएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष एवम् नगर शिक्षा समिति सदस्य उकेश कवांले अक्सिजन अभावका कारण कयौंले अकालमा ज्यान गुमाउनुपरेको यथार्थबारे प्रष्ट पार्नुहुँदै भक्तपुर नपाले छिटो भन्दा छिनो अक्सिजन प्लान्ट निर्माण गर्ने तयारीमा जुटेको जानकारी गराउनुभयो ।

जनताको साथ पाएकै कारण भक्तपुर नपालाई काम गर्न सजिलो भएको भन्दै उहाँले भन्नुभयो भक्तपुर नपा जनताको साझा संस्था हो र यो साझा संस्थालाई अगाडि बढाउन सबैको सहयोगी भावना र सहकार्य आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा संयुक्त परीक्षा समितिको तर्फबाट आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसी, सार्वजनिक विद्यालय संघका तर्फबाट मेधा माविका प्रअ गंगाधर हाडा, आधारभूत तह विद्यालय संघका तर्फबाट दिपक माकले भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यका साथ आफ्नो क्षेत्रबाट भूमिका खेलिरहेको, नपाको स्वागतयोग्य काममा सहयोग गर्न विद्यालयका शिक्षक कर्मचारीहरु जिम्मेवारीबोधका साथ सहयोग गर्न आह्वान गर्नुभयो ।

साथै उपस्थित प्रअहरुले नागरिकहरुको हितमा भक्तपुर नपाको काम सराहनीय र औचित्यपूर्ण भएको, जनताको लागि गरिरहेको नपाको कामसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले बागीश्वरी कलेज र बागीश्वरी माविका शिक्षक कर्मचारीहरुको तर्फबाट अक्सिजन प्लान्ट निर्माणको लागि रु. १६ लाख ५० हजार सहयोगको घोषणा गर्नुभयो भने अन्य विभिन्न विद्यालयका प्रअहरुले पनि ख्वप अस्पतालको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नगर शिक्षा शाखा भक्तपुरका  उपसचिव हरिप्रसाद निरौलाले शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन कार्यढाँचाबारे प्रस्तुतीकरण देखाउनुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.