Explore news and happenings at Bhaktapur

मेलम्चीको पानी एक महिनाभित्र भक्तपुर नगर क्षेत्रमा वितरण गर्न सहमति

२०७८ वैशाख १३ गते, सोमबार

0

भक्तपुर नगरपालिकामा खानेपानी वितरणको अर्को व्यवस्था नभएसम्म मेलम्चीको पानी पुरानै वितरण प्रणालीमार्फत एक महिनाभित्र भक्तपुर नगर क्षेत्रमा वितरण गर्ने विषयमा सहमति भयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. ई. श्री सञ्जीवबिक्रम राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी अधिकृत मिलनकुमार शाक्य, आयोजना कार्यान्वयन परियोजना (पीआईडी) का प्रोजेक्ट इन्जिनियर लोकेन्द्र यादव, आयोजना निर्देशक कमलराज श्रेष्ठ, केयुकेएल भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालय समेतको उपस्थितिमा सोमबार नगरपालिकाको सभाकक्षमा बसेको बैठकले उक्त लिखित सहमति गरेको हो ।

बैठकले भक्तपुर नगर क्षेत्रमा मेलम्चीको पानी वितरण नहुन्जेलसम्म हाल बोडेबाट वितरण गर्दै आएको खानेपानी समय बढाई वितरण गर्ने र भक्तपुर नगरपालिका क्षेत्रमा हालको खानेपानी वितरण प्रणालीमा विद्यमान चुहावटहरु नियन्त्रण गर्न काठमाडौं उपत्यका खानेपानी लि., कामठाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र भक्तपुर नगरपालिकाले संयुक्त पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा नगर प्रमुख प्रजापतिले सुख्खायामको सुरुवातसँगै काठमाडौं उपत्यका खानेपानी लि.बाट घरघरमा धाराबाट वितरण गर्ने पानीको परिमाणमा कमी आइ नगरबासीहरुलाई खानेपानीको समस्या भएकाले नपाले ३ वटा ट्यांकरमार्फत निःशुल्क रुपमा खानेपानीको वितरण गरिरहेको जानकारी गराउनुभयो ।

बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा खानेपानी समितिका संयोजक महेन्द्र खायमली, सदस्यहरु उकेश कवां, हरिप्रसाद बासुकला, श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, केयुकेएल भक्तपुरका इन्जिनियर चैतबहादुर ऐर, केयुकेएल भक्तपुरका सुपरभाइजर शालिकराम श्रेष्ठ, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल लगायतको उपस्थिति रहेको थियो ।

बैठकपश्चात उहाँहरुले भक्तपुरको खानेपानी ट्यांकी स्थल कटुञ्जेको स्थलगत निरीक्षण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.