Explore news and happenings at Bhaktapur

प्राधिकरणले मौलिक प्रविधि र शैलीमा सम्पदा पुनःनिर्माण गर्न जोड दिनुपर्ने

काठमाडौं । २०७७ चैत्र २० गते, शुक्रबार

0

सहरी आवास पुनःनिर्माणका रणनीतिक मुद्दाहरु र भावी कार्यदिशाको विषयमा शुक्रबार एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भयो ।

सो कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र २०७२ सालको भूकम्पबाट क्षतिग्रत निजी आवासतर्फका भूकम्प पीडित लाभग्राहीमा पहिलो किस्ता पाउने ५,६८०, दोस्रो किस्ता प्राप्त गर्ने २,२६१ र तेस्रो किस्ता लिने २,०३४ रहेको तथ्यांक प्रस्तुत गर्दैै भूकम्पले १२० भन्दा बढी सम्पदामा क्षति पुगेकोमा नगरपालिकाले १०८ वटा सम्पन्न गरिसकेको र बाँकी चालु अवस्थामा रहेको बताउनुभयो ।

उहाँले ठेकेदारले सम्पदाको महत्वभन्दा नाफालाई प्राथमिकतामा राख्ने हुँदा सम्पदा निर्माण वा जीर्णोद्धारको कार्य ठेक्कामा दिनु गलत भएको बताउनुभयो ।

भक्तपुरका केही सम्पदाहरु पुनःनिर्माणको लागि प्राधिकरणबाट विनियोजित भनिएको रकम हालसम्म हालसम्म प्राप्त नभएकोबारे प्रश्न गर्नुहुँदै प्रमुख प्रजापतिले रु. १० करोडसम्म उपभोक्ता वा लाभग्राहीबाट पुनःनिर्माण कार्य गर्न भक्तपुर नपाले पटक पटक सिफारिस गर्दा समेत स्वीकृति नहुनुको कारणबारे स्पष्ट पार्न प्राधिकरणका प्रमुख कार्यकारीअधिकृत सुशील ज्ञवालीसँग आग्रह गर्नुभयो ।

भक्तपुर नपामा अझै ६० प्रतिशतभन्दा बढी निजी घरहरु पुनःनिर्माण हुन बाँकी रहेको बताउनुहुँदै उहाँले भूकम्प लाभग्राहीहरुलाई एकमुष्ट अनुदानको व्यवस्था गर्नुपर्ने, अनुदान रकम वृद्धि गर्नुपर्ने, बहुस्वामित्व र पूर्जा नभएकाहरुको समस्या समाधानमा पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले सम्पदा पुनःनिर्माणको लागि राज्यले आवश्यक काठ उपलब्ध गराउनुपर्नेमा जोड दिनुहुँदै सम्पदा पुनःनिर्माण गर्दा मौलिक प्रविधि र शैली प्रयोग गरी स्थानीय निर्माण सामाग्रीको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

गोष्ठीमा विज्ञद्वय सूर्यभक्त साँगाछेँ र सूर्यनारायण श्रेष्ठले (Taking forward the urban housing strategic issues) विषयमा प्रस्तुतीकरण देखाउनुभएको थियो ।

उक्त कार्यशाला गोष्ठी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.