Explore news and happenings at Bhaktapur

अवकाश प्राप्त तथा नवनियुक्त प्रअ तथा शिक्षकहरुको सम्मान कार्यक्रम

भक्तपुर। २०७७ चैत्र २० गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा भएको अवकाश प्राप्त र नवनियुक्त प्रअ तथा शिक्षकहरुलाई बधाईज्ञापन, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

कार्यक्रममा अवकाश प्राप्त प्रअ तथा शिक्षकलाई बधाईज्ञापन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले पुरानो पुस्ताको शैक्षिक अनुभव र नयाँ पुस्ताको जोश–जागरले शैक्षिक संस्थाहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन मद्दत पु¥याउने बताउनुभयो ।

अवकाश प्राप्त प्रअ तथा शिक्षकहरुले आफ्नो शैक्षिक अनुभव संग्रहित गरी नयाँ पुस्तामाझ ल्याउनुपर्नेमा जोड दिनुुहँदै प्रमुख प्रजापतिले असल नेतृत्व र अनुशासनले संस्थाको प्रगतिमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले भन्नुभयो — ‘भक्तपुरको सामुदायिक तथा संस्थागत विद्यालयहरुबीचको गुणस्तरमा समानता ल्याउने उद्देश्यका अगाडि बढिरहेका छौं । सोको लागि भौतिक संरचना निर्माण तथा मर्मतको लागि विद्यालयहरुलाई आर्थिक सहयोग पनि गर्दै आइरहेका छौं ।’

भक्तपुरको शैक्षिक रुपान्तरणमा शिक्षक तथा प्रअहरुको योगदान र भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै उहाँले शिक्षकहरु प्रविधि मैत्री हुुनपर्ने र नयाँ नयाँ कुरा सिक्न जहिल्यै क्रियाशील रहनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् समितिका अध्यक्ष दीपक माकले आधारभूत विद्यालय समितिको वार्षिक प्रगति प्रतिवेदन वाचन गर्नुहुँदै शिक्षित समाजविना कुनै पनि क्षेत्रको विकास सम्भव नभएको बताउनुभयो । सरकारले शिक्षामा पर्याप्त लगानी गर्नुपर्ने आवश्यकता औंयाउनुहुँदै उहाँले समितिले शिक्षक तथा विद्यार्थीहरुको विकास तथा प्रगतिको निम्ति विविध गतिविधि गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा आधारभूत विद्यालयका समितिका संस्थापक सदस्य लक्ष्मीनारायण दुवालले अवकाश भनेको कानुनी र प्राकृतिक नियम भएको बताउनुहुँदै अवकाश प्राप्त शिक्षक तथा कर्मचारीहरुले समाजका विविध क्षेत्रमा सक्रिय भई लाग्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछा र संस्थापक सदस्य पुष्पलाल सुजखुले पनि आफ्नो शैक्षिक अनुभव सुनाउनुभएको थियो ।

कार्यक्रममा समितिका उपाध्यक्ष सर्मिला कसजूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक सूर्यबहादुर फोँजुले गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले विभिन्न विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गर्नुका साथै आधारभूत विद्यालय समितिको आयोजनामा भएको विविध खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुको प्रमाणपत्र सम्बन्धित विद्यालयका शिक्षकलाई वितरण गर्नुभएको थियो भने समितिका अध्यक्ष माकले नवनियुक्त प्रअ तथा शिक्षकहरुलाई बधाईज्ञापन गर्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.