Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिसँग निकोल्सन माविका विद्यार्थीहरूको साक्षात्कार कार्यक्रम

२०७७ चैत्र १९ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नपा वडा नं. १ सल्लाघारीस्थित निकोल्सन माविका विद्यार्थीहरूको साक्षात्कार कार्यक्रम बुधबार सम्पन्न भयो ।

निकल्सन मावि कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय सरकारको संरचना, विकास निर्माणका गतिविधि तथा कार्यक्रमहरूबारे परिचित गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा नगर प्रमुख प्रजापति र विद्यार्थीहरूबीच भक्तपुर नगरपालिकाले गरिरहेका विविध गतिविधि तथा कार्यक्रमहरूबारे अन्तरक्रिया भयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको काम, कर्तव्यबारे विद्यार्थीहरूलाई अवगत गराउनुहुँदै भक्तपुर नगरपालिकाले कानुनी अधिकारभित्र रही आफ्नो कार्य सम्पादन गर्दै आइरहेको प्रष्ट पार्नुभयो ।

भक्तपुर नपाले छिमेकी नगरपालिकाहरूसँग पनि आवश्यक समन्वय र देशका विभिन्न स्थानीय तहहरूसँग पनि अनुभव आदानप्रदान गर्दै अगाडि बढिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले ‘एक घर एक स्नातक‘ अभियानबाट भक्तपुरमा शैक्षिक परिवर्तन आएको बताउनुभयो । उहाँले भक्तपुरलाई नमुना स्थानीय तहको रुपमा परिचित गर्न नगरपालिका क्रियाशील रहेको बताउनुभयो ।

योग्य र सक्षम व्यक्तिलाई कहिल्यै पनि रोजगारीको समस्या नहुने औंल्याउनुहुँदै उहाँले विद्यार्थीहरूमा नैतिक शिक्षाको खाँचो रहेको बताउनुभयो । साथै शिक्षा र स्वास्थ्यको समस्या समाधान भए जनताको आधा समस्या समाधान हुने बताउनुहुँदै देश सञ्चालनको लागि सबै खालका जनशक्तिहरूको उत्तिकै महत्व हुने बताउनुभयो ।

कार्यक्रममा उपस्थित विद्यार्थीहरू भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माण, खेलकुद, कृषिलगायतका क्षेत्रमा भए–गरेका कार्यहरूबारे आ–आफ्नो जिज्ञासा नगर प्रमुख समक्ष राखेका थिए । कार्यक्रमको सञ्चालन भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.