Explore news and happenings at Bhaktapur

अध्यक्ष रोहितसँग ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनको भेट

२०७७ चैत्र १८ गते, बुधबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भेट गर्नुभयो । बुधबार अध्यक्ष बिजुक्छेँसँग उहाँको निवासमा भएको भेटमा ललितपुर महानपाले गरिरहेको गतिविधि तथा समसामयिक विषयमा कुराकानी भयो ।

भेटमा अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने र जनप्रतिनिधिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्दा जनताले सुख पाउने बताउनुभयो ।

प्राचीन र ऐतिहासिक सहर तथा सम्पदा क्षेत्रमा भारी सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने र व्यवस्थित रुपले काम गर्न नगरपालिकामा कार्यरत निरीक्षकहरुलाई इन्जिनियरिङ तालिम दिनुपर्ने अध्यक्ष बिजुक्छेँले बताउनुभयो । उहाँले पुरानो सीप तथा प्रविधिहरुलाई संरक्षण गर्नुपर्ने बताउनुहुँदै भाषा तथा साहित्य क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

भेटमा ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले भक्तपुर नपाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशकै लागि उदाहरणीय कार्य गरिरहेको र ललितपुरले पनि सम्पदा बस्ती संरक्षण गर्ने हेतुले आवश्यक नीति–नियमहरु बनाउँदै अगाडि बढिरहेको बताउनुभयो ।

ललितपुरको सम्पदा संरक्षणमा महानपाले गरिरहेको कार्यहरुबारे अवगत गराउनुहुँदै प्रमुख महर्जनले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा ठेकेदारलाई भन्दा स्थानीय उपभोक्ता समितिमार्फत गराउनुपर्ने महानपाले निरन्तर जोड दिँदै आएको बताउनुभयो । सो भेटमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको पनि उपस्थिति थियो ।

अध्यक्ष बिजुक्छेँलले नेमकिपाको पार्टी प्रकाशनहरु मायाको चिनोस्वरुप प्रमुख महर्जनलाई प्रदान गर्नुभएको थियो भने प्रमुख महर्जनले पनि उहाँलाई उपहारस्वरुप केही प्रकाशनहरु प्रदान गर्नुभएको थियो ।

भेटपश्चात प्रमुख चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा दुई नगरपालिकाबीच अनुभव आदानप्रदान भयो ।

ललितपुर महानपाले सञ्चालनमा ल्याएको संग्रहालय व्यवस्थापन र महानगरले सञ्चालन गरिरहेको विविध विषयमा उहाँहरुबीच छलफल भयो । नगर प्रमुख प्रजापतिले प्रमुख महर्जनलाई भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।

भेटका केही तस्बीरहरु

Leave A Reply

Your email address will not be published.