Explore news and happenings at Bhaktapur

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी भक्तपुर नगरपलिकामा

२०७७ चैत्र १२ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बिहीबार भक्तपुर नपाको सभाकक्षमा भेट गर्नुभयो ।

भेटका क्रममा उहाँहरुबीच बुटवल उपमहानपा र भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण तथा विकास निर्माणलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रगति, समस्या र चुनौतीहरु तथा विविध गतिविधिबारे अनुभव आदानप्रदान भयो ।

प्रमुख सुवेदीलाई सांस्कृतिक नगर भक्तपुरमा भादगाउँले टोपी र खादा ओढाइ स्वागत गर्नुहुँदै नगर प्रमुख प्रजापतिले सांस्कृतिक नगर भक्तपुरको सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धारमा नपाले जोड दिइरहेको र पुरानो नगर क्षेत्रको निजी घरहरु मौलिक स्वरुपमा पुनःनिर्माण गर्न नगरबासीहरुलाई आर्थिक सहयोगको व्यवस्था गरी उत्साहित गर्दै आएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरुको विषयगत विशेषताबारे अवगत गराउनुहुँदै उहाँले ती कलेजहरुको स्थापनाको पृष्ठभूमि र उद्देश्यबारे पनि प्रष्ट पार्नुभयो । भक्तपुरको सामुदायिक शैक्षिक संस्थाहरुको स्तरोन्नतिको लागि नगरपालिकाले राम्रा र उत्कृष्ट विद्यालय तथा कलेजहरुको अनुभवबाट पाठक सिक्दै अगाडि बढिरहेको उहाँले स्मरण गर्नुभयो ।

भेटमा बुटवल उपमहानपाका प्रमुख सुवदीले बुटवलमा सञ्चालित बुटवल टेक्निकल इन्स्टिच्युटलाई व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर नपाबाट सञ्चालित कलेजहरुबाट आफूहरुले सिक्न चाहेको बताउनुभयो । बुटवल टेक्निकल इन्स्टिच्युटलाई पनि इन्जिनियरिङ कलेजको रुपमा सञ्चालन गर्ने योजना रहेको बताउनुहुँदै उहाँले कलेज सञ्चालनको लागि भक्तपुर नपाको समन्वय र सहयोगको अपेक्षाको निम्ति अनुरोध गर्नुभयो ।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, भनपा २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, बीटीआई, बुटवलका उपनिर्देशक ईन्जिनियर अभिमन्यु भीमार्जुन पन्थीलगायतको उपस्थिति थियो ।

नगर प्रमुख प्रजापतिले उहाँहरुलाई भक्तपुर नपाका प्रकाशनहरु, भक्तपुर नपाद्वारा प्रकाशित ‘सम्पदा जीर्णोद्धार तथा पुनःनिर्माण’ पुस्तक उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.