Explore news and happenings at Bhaktapur

कलैयाँमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बाराको कलैयामा मंगलबार कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै केन्द्रीय सदस्य प्रजापतिले देशलाई आत्मनिर्भर बनाउन आफूसँग भएको स्रोत साधनको अधिकत्तम प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नेमकिपा सिंगो समाजलाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यका साथ कामदार वर्गका जनतालाई आफ्नो राजनीतिक अधिकारबारे सचेत र संगठित बनाउने अभियानमा रहेको प्रष्ट पार्नुभयो ।
समाजवादी व्यवस्था काम गरी खाने वर्गको स्वर्ग हो भन्नुहुँदै नेता प्रजापतिले कम्युनिष्ष्ट पार्टी दाब्ी गर्ने सरकारले समाजवादी देशहरु क्युवा, प्रजग कोरिया, चीनलगायतका देशहरुको शासन व्यवस्थाबाट सिक्नुपर्ने बताउनु भयो । भक्तपुर नगरपालिकाले देश र जनतालाई केन्दमा राखेर विभिन्न कार्यक्रम तथा गतिविधिहरु अगाडि बढाइरहेको बताउनुभयो ।
समाज परिवर्तनको निम्ति कामदार वर्गलाई राजनैतिक रुपले सचेत पार्नु पर्र्नेेमा जोड दिनुहुँदै उहाँले नक्कली कम्युनिष्टहरुबाट जनता सचेत हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले कामदार वर्गको पक्षमा ऐन कानुन बनाउन जनता आफै सचेत र संगठित हुनुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नपाले कृषि लक्षित तालिमहरु सञ्चालन गरिरहेको र महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविरहरु पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साहले आर्थिक समानताको निम्ति वैज्ञानिक समाजवादको खाँचो औंल्याउनुहुँदै नेमकिपा स्थापनाकालदेखि कामदार वर्गको पक्षमा आफ्नो आवाज बुलन्द गर्दै आइरहेको छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्ति यादवले वर्तमान सरकारले आफ्नो पार्टीको नाममा कम्यनिष्ट राखेर जनता झुक्याउने काम गरिरहेको बताउनुहुँदै पुँजीपति वर्गले सँधै कामदार वर्गलाई शोषणमा गर्ने बताउनुभयो ।
सोही कार्यक्रममा नेमकिपा बारा जिल्ला समितिका सदस्य रन्जुदेवी शाह र इनर दासले पनि आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.