Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति कलैया उपमहानगरपालिकामा

बारा । २०७७ चैत्र १० गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार बारास्थित कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवसँग भेट गर्नुभयो । भेटमा उहाँहरुबीच दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषिलगायतका क्षेत्रमा गरिरहेको गतिविधि तथा कार्य प्रगतिबारे अनुभव आदानप्रदान भयो ।

भेटमा नगरप्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आफ्नो स्वामित्वमा सञ्चालन गरेको कलेजह्रुका बारे अनुभव सुनाउनुहुँदै ती शैक्षिक संस्थाका कारण भक्तपुर शैक्षिक विकासमा आमूल परिवर्तन आएको बताउनुभयो ।

भक्तपुर नपा देशकै सानो नगरपालिका भए पनि सन्तुलित विकासमा क्रियाशील रहेको बताउनुहुँदै उहाँले नगरपालिकाले घरदैलो नर्सिङ सेवा, आवा आयोजनाससञ्चालन, उपभोक्ता समितिमार्फत भइरहेको विकास निर्माणलगायतमा विषयबारे अवगत गराउनुभयो । विभिन्न स्थानीय तहका जनप्रतिनिधिबीच आफ्नो अनुभव आदानप्रदानका क्रममा कलैया पुगेको बताउनुहुँदै उहाँले कलैयामा कृषि र औद्योगिक क्षेत्र विकासका धेरै सम्भावनाहरु रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाको प्रतिनिधिमण्डललाई कलैया उपमहानपामा खादा ओढाई स्वागत गर्नुहुँदै प्रमुख यादवले जनताको सहभागिता र सहयोग विना विकास निर्माण सम्भव भएको बताउनुभयो । कुनै पनि ठाउँको विकासको काममा जनताको चेतनास्तर महत्वपूर्ण हुने बताउनुहुँदै उहाँले कलैया ग्रामीण क्षेत्रले ओगटेको, २७ वडा वडाहरु रहेको र करिब डेढ लाखको जनसंख्या यहाँ बसोबास गर्दै आएको बताउनुभयो ।

प्रमुख यादवले कलैयाको सीमित विद्यालय मात्र राम्रो भएको तर अधिकांश शैक्षिक संस्थाको स्थिति दयनीय रहेको हुँदा यहाँको शैक्षिक विकासमा बाधा पुगिरहेको बताउनुहुँदै कलैया महानपाले वार्षिक १५ करोडको हाराहारीमा आफ्नो आयस्रोत भित्र्याइरहेको बताउनुभयो ।

सोही क्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले कलैया उपमहानपाका प्रमुख यादवलाई भक्तपुर नपाको प्रकाशनहरु मायाको चिनोको रुपमा प्रदान गर्नुभयो ।

भेटमा कलैया उपमहानपाका उपप्रमुख रहिमा खातुन र कार्यपालिका सदस्यहरु, भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष, कार्यपालिका सदस्य सुनिता अवाललगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.