Explore news and happenings at Bhaktapur

अध्यक्ष बिजुक्छेँसँग अन्तर नगर बुद्धिचालका खेलाडीहरुको भेटघाट

२०७७ चैत्र २ गते, सोमबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको चार दिने अन्तर नगर बुद्धिचाल प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट भाग लिन आउनुभएका बुद्धिचाल खेलका खेलाडीहरुको भेटघाट कार्यक्रम सोमबार सम्पन्न भयो ।


कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाले आयोजना गरेको बुद्धिचाल प्रतियोगिताले नयाँ पुस्तामा स्वाभाविक रुपमा उत्साह थप्ने बताउनुहुँदै कुनै पनि खेल ठूलो—सानो नहुने र खेलकुदलाई सम्मानजनक क्षेत्रको रुपमा विकास गर्दै लानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सबै खेलहरुको आ–आफ्नै विशेषताहरु रहेको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले बुद्धिचाल खेलको व्यवहारिक ज्ञानबारे विद्यार्थी तथा खेलाडीहरुलाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुहुँदै बुद्धिचाल खेल रणनीतिक हिसाबले पनि महत्वपूर्ण खेल रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिडका कारण सबै क्षेत्र प्रभावित बनिरहेको समयमा पनि भक्तपुर नपाले अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गरी नगरपालिकाले खेलाडीको निम्ति सम्मान र उत्साहित गर्ने कार्यमा जोड दिइरहेको बताउनुभयो ।
भक्तपुर नपाले लागू गरेको स्थानीय पाठ्यक्रममा भक्तपुरका मौलिक र स्थानीय खेललाई प्राथमिकताका साथ समावेश गरेको प्रसंग निकाल्नुहुँदै प्रमुख प्रजापतिले भारतीय विस्तारवाद, हस्तक्षेपकारी नीतिको विरोध खेलाडीहरुले गर्नुपर्नेमा जोड दिनुभयो । गरिब जनताको निम्ति शिक्षा हासिल गर्नु निकै चुनौती बनिरहेको वर्तमान समयमा भक्तपुर नपाले सञ्चालन गरिरहेको कलेजहरुमा देशभरिका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा हासिल गरिरहेका छन् भन्नुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले नयाँ पुस्ताका विद्यार्थीहरु बढीजसो मोबाइलको खेलमा संलग्नता बढाइरहेको बताउनुहुँदै बुद्धिचाललगायतका खेलमा उनीहरुको आकर्षण बढाउनु आजको आवश्यकता रहेको बताउनुभयो ।
चीन, क्युवा, प्रजग कोरियालगायतका समाजवादी देशहरुले आफ्ना नागरिकहरुलाई शारीरिक र मानसिक स्वस्थताको लागि ठाउँ ठाउँमा शारीरिक अभ्यासस्थलको व्यवस्थामा जोड दिएको उदाहरणहरु प्रस्तुत गर्नुहुँदै उहाँले खेलाडीहरु देशका गहना हुन् र देशको प्रतिष्ठा बढाउने कार्य खेलाडीहरुबाट भइरहेको बताउनुभयो ।
कोभिड १९ संक्रमणको त्रासका र उनीहरुमा परेको मनोवैज्ञानिक असरका कारण नयाँ पुस्तालाई हिजो भन्दा फरक बनाएकोमा चिन्तित हुँदै सांसद गोसाइँले भक्तपुर बुद्धिचाल, टेबलटेनिस, कबड्डीलगायतका खेलहरुमा अग्रस्थानमा रहेको चर्चा उहाँले गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो भने विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्नुभएका नेपाल बुद्धिचाल संघका सदस्य धनबहादुर बोगटी, दोलखाका नारायणप्रसाद उप्रेती, वर्तमान नेपाल च्याम्पियन पुरुषोत्तम चौंलागाइँ, पूर्व नेपाल च्याम्पियन नबीन तण्डुकार, मेची नगरका विश्वविजय घिमिरे, वर्तमान नेपाल महिला च्याम्पियन सुजना लोहनीलगायतले भक्तपुर नपाले आयोजना गरेको खेलकुद प्रतियोगिताले खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउने अवसर पाएकोमा धन्यवाद ज्ञापन गर्नुहुँदै भक्तपुर नपाले जस्तै अन्य स्थानीय तहहरुले यस्ता गतिविधि गरी खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो । उहाँहरुले का. रोहितको विचारबाट आफूहरु प्रभावित रहेको र उहाँ विचारका स्पष्ट व्यक्तित्व भएको हुँदा भक्तपुरका नागरिकहरुको इमानदारिता, मेहेनती र सहयोगी भावनाबाट आफू प्रभावित भएको बताउनुभयो । साथै बुद्धिचाल खेललगायत अन्य खेलाडीहरुलाई अगाडि बढ्न निरन्तर प्रोत्साहनको आवश्यकता भएको, बुद्धिचाल खेलको लागि आवश्यक सम्भाव्यताबारे राज्यस्तरबाटै पहल हुनुपर्नेलगायतका धारणा उहाँहरुले व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.