Explore news and happenings at Bhaktapur

सहलह साकोसको अर्धवार्षिक समीक्षा सम्पन्न

२०७७ फागुन २२ गते, शनिबार

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु राजनीतिज्ञको धर्म भएको बताउनुुभयो ।

सहलह साकोसको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले जनतालाई राजनीतिप्रति वितृष्णा पैदा गर्ने कार्य शासक दलका नेताहरुबाट भइरहेको र राजनीतिलाई जनताको सेवाभन्दा पनि अपराधीकरणतर्फ उन्मुख बनाइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सहकारी संस्थाहरुले समुदायको हितको लागि सहकारीको मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले देशलाई आत्मनिर्भर बनाउन सबैले आ आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

वर्तमान राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले देशको राजनीति निकै जटिल अवस्थामा रहेको बताउनुहुँदै संसद पुनःस्थापनाले जनतालाई राजनैतिक रुपमा सचेत गर्ने अवसर गुमेको बताउनुभयो । उहाँले देश अब अर्को चुनावमा जान सक्ने र सांसदहरुको किनबेचको सम्भावना रहेको बताउनुहुँदै भारतले नेपालमा आफ्नो अनुकूलको सरकार बनाउन अनेक चलखेल गरिरहेको स्पष्ट पार्नुभयो ।

् कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले महिलाहरुलाई राजनैतिक रुपमा सचेत र संगठित गराउन सहकारी संस्थाका महिला उपसमितिहरुले भूमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै क्रान्तिकारी महिलाहरुको संघर्षपूवर्ण जीवनी अध्ययनबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । सहकारी संस्थाहरु राजनीतिबाट अलग रहन नसक्ने धारणा राख्नुहुँदै वडाध्यक्ष कवांले राजनीतिक संस्कार विना सहकारी संस्थाले इमानदारीपूर्वक काम गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाका कानुनी सल्लाहकारी पुरुषोत्तम ग्वाछाले सहकारी संस्थाहरु आर्थिक अनुशासनमा बस्नुपर्ने र जनताको हितमा अझ व्यवस्थित ढंगले कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा सहलह साकोसका अध्यक्ष श्याम तजले, संस्थाका सचिव रामेश्वर मचामसी, सञ्चालक समितिका सदस्य प्रबिन तजलेले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.