Explore news and happenings at Bhaktapur

वडा नं. ७ मा खानेपानी ट्यांकी र फिल्टर जडान योजनाको उद्घाटन

२०७७ फागुन २२ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुर नपाको नगरस्तरीय बजेटअन्तर्गत निर्माण गरिएको खानेपानी ट्यांकी तथा फिल्टर जडान योजनाको उद्घाटन तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न भयो ।

उक्त योजनाको उद्घाटन गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्र खानेपानीको स्रोत नभएको कारण खानेपानीको सहज आपूर्तिका लागि नगरका विभिन्न ठाउँहरुमा डीप बोरिं कार्यलाई अगाडि बढाइरहेको बताउनुभयो ।
मानव जीवन, कृषि, उद्योगलगायतका क्षेत्रमा पानीको महत्वबारे चर्चा गर्नुहुँदै प्रमुख प्रजापतिले पानीको स्रोत तथा मुहान बचाउन प्रकृतिको संरक्षण गर्नु अपरिहार्य भएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले नगरबासीहरुहरुको जनजीवनमा रुपान्तरण गर्ने हिसाबले यहाँको शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताउनुहुँदै उहाँले भन्नुभयो भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको शैक्षिक संस्थाहरु देशभरिका विद्यार्थीहरुको पहिलो रोजाइ बनेको छ ।

नगर प्रमुख प्रजापतिले नगरबासीहरुलाई मौलिक शैलीमा घर बनाउन प्रेरित गर्नुहुँदै भक्तपुर नगरपालिकाले देशकै स्थानीय तहको लागि नेतृत्व गरिरहेको बतानुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुरमा लिच्छविकालदेखि नै खानेपानी आपूर्तिको लागि विभिन्न ठाउँमा राजकुलो, ढुंगेधारा, इनार, पोखरी, कुँवालगायतका पानीको स्रोतको व्यवस्था रहेको बताउनुहुँदै विज्ञान र प्रविधिको विकासका कारण जमिनमुनिको पानीलाई पिउन योग्य बनाउन सफल भएको बताउनुभयो ।

भक्तपुर नपा खानेपानी समितिका संयोजक एवम् वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले भक्तपुरमा खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न खानेपानीको पाइपलाइनमा सुधार भइरहेको अवगत गराउनुहुँदै खानेपानी अभावको समस्या समाधानको लागि नगरपालिकाले विभिन्न प्रयासहरु अवलम्बन गरिरहेको बताउनुभयो ।

खानेपानी ट्यांकी निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम गोसाइँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य रञ्जना त्वाती, नेमकिपा इनाचो एकाइ समितिका संयोजक कृष्णगोविन्द लाखाजु, आदर्श आजाद कलेजका प्राचार्य श्रीकृष्ण किसी, स्वयम्सेवी लक्ष्मीभक्त कवां, अनुगमन समितिका सदस्य भुवन गोसाइँ र समितिका सचिव राकेश सुकुपायोले पनि आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
आज उद्घाटित खानेपानी ट्यांकी तथा फिल्टर जडान योजनाको कूल खर्च ७० लाख ५४ हजार २ सय ४९ रहेको उपभोक्ता समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.