Explore news and happenings at Bhaktapur

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

२०७७ फागुन २२ गते, शनिबार

0

भक्तपुर नगरपालिका वडा नं. ३ को आयोजनामा भक्तपुर नगरपालिकाको मासिक प्रकाशन भक्तपुर मासिक पत्रिकाबारे स्थानीय शिक्षक तथा बुद्धिजीवीमाझ अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले नगरपालिका गतिविधिहरु पारदर्शी ढंगले जनतामाझ प्रस्तुत गर्ने बौद्धिक खुराकको रुपमा भक्तपुर मासिकको नियमित प्रकाशनमा जोड दिइरहेको बताउनुभयो ।

भक्तपुर सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको सहर भएको हुँदा नगरपालिकाको प्रकाशनमा भक्तपुरको संस्कृति, राष्ट्रिय अन्तर्राष्ट्रिय लेख तथा रचनाहरु समावेश गर्दै आएको छ भन्नुहुँदै प्रमुख प्रजापतिले समाजलाई सही दिशामा दोर्याउन भक्तपुर मासिकले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

उहाँले पत्रिकामा प्रकाशित लेख तथा रचनाबारे पाठकहरुको रचनात्मक आलोचना र सुझावको आवश्यकता रहेको बताउनुहुँदै पठन संस्कृतिको विकासको निम्ति विभिन्न पुस्तकहरुबारे अन्तरक्रिया कार्यक्रमहरु गरिरहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले वडाको विकास निर्माणका गतिविधिबारे जानकारी दिनुहुँदै भक्तपुर नपाको गतिविधिलगायत विचारप्रधान पत्रिका भक्तपुर मासिक नियमित अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य सुनिता अवालले कोभिड महामारीबीच पनि भक्तपुर नपाको मासिक र पाक्षिक प्रकाशन नियमित प्रकाशन भई जनतालाई सचेत र संगठित गर्ने कार्यहरु गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय बुद्धिजीवीहरु महेन्द्रप्रसाद मास्के, सिद्धिरत्न शाक्य, चन्द्रभक्त भुजु, रमेश त्वायना, तुल्सीराम धुख्वा, राजु अवाल र अनिल न्यौपानेले भक्तपुर मासिक पत्रिकाबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडा सदस्य कृष्णगोपाल चौगुठीले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.