Explore news and happenings at Bhaktapur

अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबारे पत्रकार भेटघाट

२०७७ फागुन २१ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तरनगर (फुटबल, कबड्डी, बक्सिङ, टेबुल टेनिस, कराँते र एथ्लेटिक्स) खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गर्दै आएको छ । यस वर्ष शहीद दिवसको अवसरमा अन्तरनगर बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दैछ ।
भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म हुने अन्तरनगर बुद्धिचाल प्रतियोगिता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँे (रोहित) ले उद्घाटन गर्नुहुनेछ । उक्त कुरा शुक्रबार सम्पन्न पत्रकार भेटघाटमा बताइएको छ ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विगतका वर्षहरुमा झैं यो वर्ष हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न पत्रकारहरुले सक्रिय भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।

प्रमुख प्रजापतिले समाज परिवर्तनको लागि खेलाडीहरु बढी जागरुक भएर सेवा गर्नुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नपाले भक्तपुरको मौलिक खेललाई जीवन्त तुल्याउन स्थानीय पाठ्यक्रममा समावेश गरी नयाँ पुस्ताका विद्यार्थीमाझ पठनपाठन गराइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो — ‘भक्तपुर नपाले खेलकुद महोत्सवको रुपमा खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै आएको छ र यसबाट खेलाडीहरु प्रोत्साहित भएका छन् ।’

पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नपाको आयोजनामा हुने अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष, वडा नं. २ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका सदस्यद्वय उकेश कवां र हरिप्रसाद बासुकलाले खेलकुदको विकासले खेलाडीहरुको व्यक्तित्व विकास हुने, खेलाडीहरुलाई उत्साहित गर्न प्रतियोगिताको खाँचो रहेको र भक्तपुर नपाले सबै खेलहरुलाई समान रुपमा प्राथमिकतामा राखी प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनुभयो ।

पत्रकार भेटघाटमा विभिन्न सञ्चारमाध्यमबाट प्रतिनिधित्व गरेका पत्रकारहरुले प्रतियोगिताबारे जिज्ञासा व्यक्त गर्नुभएको थियो ।
अन्तर नगर बुद्धिचाल प्रतियोगितामा २२ वटा भन्दा बढी नगरपालिकाले भाग लिन नाम दर्ता गराइसकेका छन् भने अन्तरनगर विद्यालय खेलकुद प्रतियोगितामा १० वटा विधा १० वडा वडामा खेलाइने बन्दोबस्त भएको नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा विजयीलाई निम्नअनुसार पुरस्कार व्यवस्था गरिएको छ–

विजयी टीम
पहिलो रु. १,५०,०००।–, ट्रफी, मेडल र प्रमाणपत्र ।
दोस्रो रु. १,००,०००।–, ट्रफी, मेडल र प्रमाणपत्र ।
तेस्रो रु. ५०,०००।–, ट्रफी, मेडल र प्रमाणपत्र ।
बोर्ड पुरस्कार (१–५ जना) रु. ५,०००।–, मेडल र प्रमाणपत्र ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.