Explore news and happenings at Bhaktapur

कौसी खेतीलाई नयाँ विकल्पको रुपमा लिन सकिन्छ ः प्रमुख प्रजापति

२०७७ फागुन १६ गते, आइतबार

0

भक्तपुर नपा वडा नं. १ को आयोजनामा फागुन १४ देखि १६ गते सम्म भएको कौसी खेती तालिम आइतबार सम्पन्न भयो । सोही अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमका २१ जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले भक्तपुरबासीहरुको हात हातमा जीवन उपयोगी सीपमूलक तालिम प्रदान गर्दै आइरहेको बताउनुहुँदै खेतीयोग्य जमिनको कमी हुँदै गइरहेको अवस्थामा कौसी खेतीलाई नयाँ विकल्पको रुपमा लिन सकिने बताउनुभयो ।

कौसीमा गरिने खेतीले वरिपरिको वातावरणमा हरियाली थप्नुका साथै फोहोर व्यवस्थापनको पनि राम्रो उपाय भएको बताउनुहुँदै उहाँले नयाँ पुस्तालाई पनि अन्न उत्पादन तथा विरुवाको जीवनचक्रबारे थाहा दिन आवश्यकता रहेको बताउनुभयो ।
कृषिसम्बन्धी प्राविधिक ज्ञानले वैज्ञानिक ढंगले खेती गर्न मद्दत पुर्याउने बताउनुहुँदै उहाँले आफूसँग भएको सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई सँगसँगै लानु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाले सञ्चालन गरिरहेको सीपमूलक तालिम तथा निःशुल्क स्वास्थ्य शिविरबारे जानकार गराउनुहुँदै तालिमबाट आफूले सिकेको ज्ञान र सीपलाई सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।

कौसी खेती तालिमका प्रशिक्षक सबिन ख्याजुले जथाभावी कौसी खेती गरिँदा पानी चुहिने, घर चर्कने आदि समस्या आउन सक्नेतर्फ सचेत गर्दै प्राविधिक सल्लाहमा कौसी खेती गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ कृषि समितिका संयोजक पुण्यराम बाइजु, समितिका सदस्य कृष्णबहादुर दुगुजू, प्रशिक्षार्थीको तर्फबाट सीता पोखरेल, निर्मला श्रेष्ठ, नारायण थापालगायतले पनि तालिमको उपयोगिताबारे धारणा व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.