Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिलाई सिद्धिलक्ष्मी मन्दिरको साँचो हस्तान्तरण

भक्तपुर,२०७५ मंसिर ७ गते शुक्रबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीद्वारा भक्तपुर दरबार क्षेत्रस्थित सिद्धिलक्ष्मी मन्दिरको साँचो हस्तान्तरण गर्नुभयो ।

२०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पबाट पूर्ण क्षति हुन पुगेको उक्त मन्दिर नेपाल सरकार, भक्तपुर नगरपालिका र पुरातत्व विभाग भक्तपुरको संयुक्त सहकार्यमा निर्माण सम्पन्न भएको थियो । उक्त मन्दिर पुरातत्व विभागको बजेटबाट निर्माण सम्पन्न गरिएको हो ।

पुनःनिर्माण सम्पन्न भइसकेको सिद्धिलक्ष्मी मन्दिरको उद्‍घाटन समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सम्पदा संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाले उल्लेखनीय कार्य गरेको बताउँदै पुनःनिर्माण कार्यमा आवश्यक सहयोग गर्न नेपाल सरकार र मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साँस्कृतिक नगर भक्तपुरमा अवस्थित सम्पदा हाम्रो साझा सम्पत्ति भएको बताउँदै भक्तपुर नगरपालिकाले सम्पदा र अरु निर्माण कार्य ठेक्कापट्टा भन्दा पनि अमानत र उपभोक्ता समितिमार्फत निर्माण गर्न जोड दिएको बताउनुभयो ।

ठेकेदारको सानो गल्ती र सानो स्वार्थका कारण हाम्रो सम्पदाको अस्तित्वमा आँच पुग्ने बताउँदै प्रमुख प्रजापतिले मौलिकता नै हाम्रो पहिचान भएको बताउनुभयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भक्तपुरका सम्पदा पुनःनिर्माणमा भक्तपुर नगरपालिकासँग सहकार्य गरेको बताउनुभयो । कार्यक्रममा ई. मोहनकृष्ण श्रेष्ठले पनि बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.