Explore news and happenings at Bhaktapur

ख्वप इन्जिनियरिङ कलेजमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०७७ माघ २६ गते, सोमबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा निबन्ध लेखन, वाद विवाद, लोकस २०२० लगायत विभिन्न प्रतियोगिताका विजयीहरुलाई सम्मान, पुरस्कार वितरण तथा प्रमाणपत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरुलाई देशकै उत्कृष्ट कलेजको रुपमा स्थापित गर्ने उद्देश्य रहेको बताउनुभयो ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो अध्ययन, सीप र ज्ञानमार्फत समाजलाई फाइदा हुने कार्य गर्न प्रेरित गर्नुहुँदै उहाँले अध्ययन सँगसँगै विद्यार्थीहरुमा व्यापक दृष्टिकोणको खाँचो औंल्याउनुभयो ।

प्रधानमन्त्रीले बाध्यात्मक स्थितिमा संसद विघटन गर्ने अधिकार राख्ने विचार व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले निर्वाचन प्रजातान्त्रिक प्रक्रिया हो र व्यापक जनतालाई राजनैतिक रुपपले सचेत पार्न निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । जनतालाई दिग्भ्रमित पार्ने काम शासक दलबाट भइरहेको उहाँले बताउनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले कोभिड महामारीबीच पनि ख्वप इन्जिनियरिङ कलेजले अनलाइनबाट शैक्षिक गतिविधिहरु सञ्चालन गरी विद्यार्थीहरुमा भएको सीप र ज्ञानको सदुपयोगमा विशेष जोड दिएको बताउनुभयो ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले भक्तपुर नगरपालिकाबाट सञ्चालित कलेजहरुले अध्ययन अनुसन्धानमा जोड दिँदै विद्यार्थीहरुलाई उपलब्धीमूलक कार्यहरुमा संलग्न गराउन समय समयमा विभिन्न प्रतियोगिताको आयोजना गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.