Explore news and happenings at Bhaktapur

भक्तपुरको चोछेँमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

भक्तपुर । २०७७ माघ २४ गते, शनिबार

0

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नपा वडा नं. ६ चोछेँमा भक्तपुर नगरपालिकाबाट सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्नुभयो ।
भक्तपुर नगरपालिका जिल्ला आर्युवेदिक स्वास्थ्य कार्यालयको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सचिव सुवालले आर्युवेद चिकित्सा प्रणाली नेपालको मौलिक र पुरानो चिकित्सा प्रणाली भएको बताउनुभयो ।
आर्युवेद पद्धतिको प्रभावकारी कार्यान्वयनका लागि उपयुक्त संरचनाको विकासको आवश्यकता भएको बताउनुहुँदै सांसद सुवालले आर्युवेद चिकित्साले स्थानीय रुपमा उपलब्ध जडीबुटीहरुको संरक्षण र समुचित प्रयोगमा भूमिका खेल्ने बताउनुभयो ।
देशभित्र उत्पादन हुनसक्ने वस्तुसमेत बाहिरबाट ठूलो मात्रामा आयात हुँदा नेपालको अर्थतन्त्र झन् खस्किँदै गएको बताउनुहुँदै सचिव सुवालले नेपालमा विदेशी प्रभाव बढ्दै गइरहेकोतर्फ सतर्क रहनुपर्ने बताउनुभयो ।
समसामयिक राजनीतिबारे आफ्नो धारणा राख्नुहुँदै सचिव सुवालले नेकपाको झगडाले देशमा राजनीतिक अस्थिरता निम्त्याएको बताउनुहुँदै व्यक्तिगत स्वार्थ र महत्वकांक्षाका कारण नेकपा विभाजनतर्फ उन्मुख भएको प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्युवेद चिकित्सबाट मानव स्वास्थ्यमा कुनै पनि नकारात्मक असर नपुग्ने र आर्युवेद औषधी सेवनबाट रोग प्रतिरोधी क्षमता बढाउन सहयोगी भूमिका खेल्ने बताउनुभयो । कोभिड संक्रमणबाट बच्न वर्तमान समयमा आर्युवेद चिकित्सा विज्ञान सहयोगी हुनसक्ने बताउनुहुँदै उहाँले भक्तपुर नपाले दैनिक र पाक्षिक रुपमा निःशुल्क आर्युवेदिक उपचार सेवा प्रदान गर्दै आइरहेको छ भन्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेपालको राष्ट्रिय पहिचानको रुपमा रहेको आर्युवेद चिकित्सालाई समयानुकूल विकास गर्दै लैजानुपर्ने बताउनुहुँदै निम्न आयस्रोत भएका बिरामीको सहजै पहुँच पुग्ने तथा निःशुल्क उपचार हुने यस्ता औषधालयको महत्व र प्रभावबारे जनस्तरसम्म पुर्याउन सम्बन्धित प्रचारप्रसारको आवश्यकता रहेको बताउनुभयो ।
जिल्ला आर्युवेदिक स्वास्थ्य कार्यालयका प्रमुख डा. नदन कँडेलले सरुवा रोगभन्दा नसर्ने रोगको जोखिम बढिरहेको वर्तमान समयमा मानव स्वास्थ्यमा नकारात्मक असर नगर्ने आर्युवेद औषधिको महत्व धेरै भएको बताउनुभयो ।
कार्यक्रममा स्थानीय शिक्षक गणेशराम थुसाले आर्युवेद उपचार विधिले देशलाई आत्मनिर्भर बनाउन मद्दत पुर्याउने बताउनुहुँदै भक्तपुर नपाले जनताको भावनाअनुसार जनतालाई एकाकार गरी काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले वडाबाट भए गरेका सम्पदा संरक्षण र विकास निर्माणबारे बताउनुभयो भने कार्यपालिका सदस्य रोशनमैंया सुवालले मानव जीवनमा आर्युवेदिक उपचारको महत्वबारे आफ्नो धारणा राख्नुभयो ।
सोही कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले वडाका अपांगता भएका व्यक्तिहरुलाई अपांगता सहायक सामाग्रीहरु पनि वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.