Explore news and happenings at Bhaktapur

देशको वर्तमान राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम

२०७७ माघ २३ गते, शुक्रबार

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा देशको वर्तमान राजनीतिक परिस्थिति ः शिक्षा र स्वास्थ्यमा त्यसको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले पैसामा मात्र ध्यान दिने डाक्टरले सेवाको वास्तविक परिभाषा नबुझ्ने बताउनुहुँदै चिकित्सकहरुले सेवाभावले बिरामीहरुको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
डाक्टरी शिक्षामा भएको व्यापारीकरणले गर्दा सामान्य व्यक्तिको पहुँच यस क्षेत्रमा पुग्न नसकेको साथै सस्तो र स्तरीय स्वास्थ्य सेवाबाट आम नागरिक बञ्चित हुन परेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
स्वास्थ्यकर्मीहरुमा कुटनैतिक दक्षताको आवश्यकता औंल्याउनुहुँदै अध्यक्ष बिजुक्छेँले संकटको कुनै पनि समयमा देशको निम्ति लड्न तयार हुनुपर्ने र नयाँ पुस्तालाई देश र जनताको सेवामा समर्पित भएर लाग्छु भन्ने भावनाको विकास गर्न प्राध्यापकहरुले जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनको लागि नेमकिपाले निरन्तर आवाज उठाउँदै आइरहेको चर्चा गर्नुहुँदै नेता बिजुक्छेँले भक्तपुरमा शिक्षाको प्रचारकै कारण महिलाहरु शैक्षिक रुपमा अगाडि बढेको र यसले महिला नेतृत्वको विकासमा टेवा पुगेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले पैसाको निम्ति मात्र काम गर्नेले देश र जनताको सेवालाई प्राथमिकता नदिने बताउनुहुँदै कोभिड महामारीको समयमा भक्तपुर नगरपालिकाले जनताको सेवा गर्नुपर्छ भन्ने भावनाका साथ क्रियाशील ढंगले काम गरेको बताउनुभयो । निजी अस्पतालको उपचार सेवा महँगो हुँदा गरिब जनताले अकालमा ज्यान गुमाउन परिरहेको सन्दर्भ कोट्याउनुहुँदै उहाँले भक्तपुर नपाले शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्मको गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो ।
संस्थानका उपाध्यक्ष एवम् भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाईलगायतका क्षेत्रमा आएको परिवर्तनमा नेमकिपाको भूमिकाबारे चर्चा गर्नुभयो । भक्तपुर नपाले स्थानीय तहको निर्वाचनमा नेमकिपाको घोषणापत्रलाई अक्षरस पालना गर्दै आफ्ना कार्यहरु अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका डा. पुण्यराम खर्बुजा, डा. अमर प्रजापति र डा. बालकृष्ण चाँगुभारीले चीन, दक्षिण कोरिया, बंगलादेश, फिलिपिन्सलगायतका देशहरुमा अध्ययन गर्दाको अनुभव र त्यहाँको शिक्षा र स्वास्थ्य स्थितिबारे अवगत गराउनुभयो ।
सोही कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्रमुख डा. रत्नसुन्दर लासिवा, संस्थानका सिभिल विभागका विभागीय प्रमुख ईं रमेश सुवाल, नर्सिंका उपप्राध्यापक गंगाकेशरी कोजुले नेपाल मजदुर किसान पार्टी स्थापनाको उद्देश्य, विधान र नेमकिपाको सातौं महाधिवेशनबाट पारित कार्यक्रममाथि चर्चा गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.