Explore news and happenings at Bhaktapur

कानुन व्यवसायीहरुबीच समसामयिक राजनीतिबारे अन्तरक्रिया

भक्तपुर, २४ माघ ।

0

नेपाल मदजुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरु पनि राजनीतिक रुपमा सचेत र संगठित हुनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी सम्बद्ध कानुन व्यवसायीहरुको संगठन कानुन अध्ययन समाज नेपाल भक्तपुर जिल्ला समितिद्वारा नेमकिपाको ४७ औं स्थापना दिवसको अवसरमा माघ २३ गते आयोजित समसामयिक राजनीति र नेमकिपाको कानुनी संघर्ष विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रजापतिले कानुन व्यवसायीहरुले सामाजिक नैतिकतालाई निकै ख्याल गर्नुपर्ने र व्यवसायिकताको नाममा नैतिकता बिर्संदा पछि ठूलो पछुताउ गर्नुपर्ने अवस्था निम्तिनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सही राजनीतिक विचारधारा र नैतिकताले निर्देशित नभएका जति नै प्रतिभावान कानुन व्यवसायी पनि देश र बहुमत जनताको सेवामा असफल नै हुन्छन् । ज्ञान र प्रतिभाको सही सदुपयोग हुन सक्दैन । त्यसैले राजनीतिक स्पष्टता जरुरी छ ।’
कानुनी संघर्ष मात्रले जनताको समस्या समाधान हुन नसक्ने भएकोले नेपाल मजदुर किसान पार्टीले कानुनी संघर्षका साथसाथै राजनीतिक संघर्षलाई पनि अगाडि बढाउँदै आएको बताउनुभयो ।

उहाँले देशमा सत्ताको झगडा र अनैतिक गठबन्धनहरु हुनुभन्दा नयाँ जनादेशका लागि निर्वाचन सही भएको बताउनुहुँदै तत्कालै सत्तामा पुग्न चाहनेहरुले निर्वाचनको विरोध गरिरहेका छन् भन्नुभयो ।

केन्द्र र प्रदेश सरकारले नेपालको संविधान २०७२ ले प्रदान गरेको स्वायत्तता र विकेन्द्रीकरणको व्यवस्थालाई पटक पटक उल्लंघन गरेको उल्लेख गर्नुहुँदै कानुनी संघर्षको माध्यमले सरकारमा बसेकाहरुलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।

नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले नेमकिपाले स्थापना कालदेखि नै देश र कामदार वर्गका जनताको हितमा कानुनी र गैरकानुनी संघर्ष गर्दै आएको र विगतमा कानुन अध्ययन गरेका साथीहरुको अभाव कष्ट भएको बताउनुभयो ।

देशमा पुँजीवादी व्यवस्था रहेसम्म शोषण, दमन र अन्याय भइरहने बताउँदै कानुन अध्ययन समाजका सदस्यहरुले शोषित पीडित र अन्यायमा परेकाहरुलाई कानुनी संघर्षमा साथ दिनुपर्ने बताउनुभयो ।

नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य पाण्डव सुवालले अधिकांश स्थानीय तहहरुमा पुगेका शासक दलका जनप्रतिनिधिहरु देश र जनताप्रति असंवेदनशील बनी कमाउ धन्दामा लाग्दा जनताले हैरानी खेप्नुपरेको चर्चा गर्दै त्यस्ता पदाधिकारीहरुले गरेका अधिकार दुरुपयोगविरुद्ध कानुनी संघर्षलाई तीव्रता दिनुपर्ने औंल्याउनुभयो ।

उहाँले कानुन व्यवसायीहरुले कानुनी व्यवस्थाका विशेषता र कमजोरीबारे अध्ययन गरेर जनतालाई सचेत र सजग पार्नुपर्ने बताउनुभयो ।
कानुन अध्ययन समाजका केन्द्रीय अध्यक्ष एवम् अधिवक्ता रामप्रसाद प्रजापतिले समाजले स्थापनाकालदेखि समाजका सदस्य साथीहरुको अध्ययनको स्तर उठाउन र सार्वजनिक हितका विषयमा निःस्वार्थ सहयोग गर्दै आएको बताउनुभयो ।

समाजमा वर्ग भएजस्तै कानुन व्यवसायीहरुमाझ पनि वर्ग रहेको स्पष्ट पार्दै कानुन अध्ययन समाज समाजवादप्रति आस्थावान र कामदार वर्गको हितमा प्रतिबद्धत कानुन व्यवसायीहरुको संगठन भएको बताउनुभयो ।

कानुन अध्ययन समाज नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् अधिवक्ता राजु कैटीको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अधिवक्ता प्रमोद ज्याख्व, अधिवक्ता विकल प्रजापति, अधिवक्ता राजाराम दुवाल, अधिवक्ता राजेन्द्र सुवाल, अधिवक्ता अनिता जधारीलगायतले आ—आफ्नो विचार राख्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.