Explore news and happenings at Bhaktapur

नेपाल अण्डा उत्पादक संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न

२०७७ माघ १७ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपाल अण्डा उत्पादक संघको १६ औं क्षेत्रीय वार्षिक साधारणसभाको उद्घाटन सत्र आइतबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले कृषिमा वैदेशिक लगानी भित्र्याउने नेपाल सरकारको निर्णय किसान तथा व्यवसायीहरूको हित विरुद्ध भएको बताउनुहुँदै सरकारको यो निर्णयले कृषिजन्य उद्योग र किसानहरू बिस्थापित हुने अवस्था आउने बताउनुभयो ।

बहुर्राष्ट्रिय कम्पनीहरूले नेपालमा लगानी गर्दा यहाँका साना तथा ठूलो लगानी भएका व्यवसाय पलयन हुने खतरा भएको औंल्याउनुहुँदै नगर प्रमुख प्रजापतिले विदेशी लगानी भित्र्याउने नाममा सरकारले देशको अर्थतन्त्र धरासायी बनाउने बाटो खुला गरको टिप्पणी गर्नुभयो ।

सरकारले साना व्यापारी तथा गरिब किसानको पहुँच पुग्ने सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यवस्थामा चासो नदिएको बताउनुहुँदै उहाँले भन्नुभयो ‘जबसम्म नेपालमा भारतको प्रभाव बढ्छ, नेपाल स्वतन्त्र, स्वाधिन र स्वतन्त्र बन्न सक्दैन ।’

समसामयिक राजनीतिबारे आफ्नो धारणा राख्नुहुँदै प्रमुख प्रजापतिले नेकपाबीचको झगडा अराजनैतिक र व्यक्ति केन्द्रित झगडा भएको बताउनुभयो । उहाँले व्यापारी व्यवसायीहरू पनि राजनीतिक रुपले सचेत र संगठित हुनुपर्ने बताउनुहुँदै व्यवसायीहरूले आफ्नो उत्पादनको प्रचार र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले विदेशी लगानी किसानको हितमा नभएको र यसको विरोध चौतर्फी भइरहेको बताउनुहुँदै अण्डाका विभिन्न परिकारहरूको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवप्रसाद मानन्धरले व्यापारीहरूको एकता अपरिहार्य भएको बताउनुहुँदै वैदेशिक लगानीले नेपालको व्यवसायलाई धरासायी र देशलाई परनिर्भर बनाउनेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल अण्डा उत्पादक संघ भक्तपुर जिल्ला अध्यक्ष सुमन सुवाल, ललितपुरका अध्यक्ष पिताम्बर सञ्जेल, काठमाडौंका अध्यक्ष अमरसिंह घर्ती, काभ्रेका अध्यक्ष राधाकृष्ण अधिकारी, नुवाकोटका अध्यक्ष रमेश चित्रकार, मकवानपुरका तर्फबाट राजु अधिकारी, संघका पूर्व केन्द्रीय सदस्य विनोद पोखरेल, किरणभूषण ओलीलगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

Leave A Reply

Your email address will not be published.