Explore news and happenings at Bhaktapur

जनतालाई राजनैतिक रुपमा सचेत पार्न निर्वाचनले महत्वपूर्ण भूमिका खेल्नेछ — प्रमुख सुनिल प्रजापति

२०७७ माघ ९ गते, शुक्रबार,चितवन

0

 

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनले जनताको राजनैतिक चेतनास्तर नाप्ने भएको हुँदा प्रजातन्त्रवादीहरुले निर्वाचनको विरोध गर्न नहुने बताउनुभयो । उक्त विचार चितवनस्थित कालिका टेलिभिजनका प्रस्तोता विप्लव काफ्लेसँगको अन्तरसम्बाद कार्यक्रममा नेता प्रजापतिले व्यक्त गर्नुभएको हो ।
भारतले नेपालमा आफू अनुकुल सरकार बनाउन खोजिरहेको आरोप लगाउँदै नेपाललाई सिक्किम र भुटान बनाउने भारतको योजनाअनुसार नेकपालाई फुटाएको हुनसक्ने उहाँले बताउनुभयो ।
एमाले र माओवादी केन्द्रको एकतामा भारतको संलग्नता रहेको आशंका गर्दै उहाँले संसद विघटनलाई औचित्यपुर्ण र स्वभाविक प्रकृया भएको र जनतालाई राजनैतिक रुपमा सचेत पार्न निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने प्रष्ट पार्नुभयो ।
दुई तिहाई बहुमत प्राप्त नेकपा सरकारले आफूलाई कम्युनिष्ट दाबी गरे तापनि नेपालमा समाजवादी व्यवस्था कार्यान्वयनबारे कुनै चासो नदिएको बताउनुहुँदै नेपाललाई सिक्किम बनाउने भारतको योजना अझै चालु रहेको बताउनुभयो ।
परिपक्व नेतृत्वले देशको राजनीतिलाई सही दिशामा दोहो¥याउने बताउनुहुँदै नेता प्रजापतिले नेपाल मजदुर किसान पार्टीले जिल्ला जिल्लामा जनतालाई सचेत पार्ने गतिविधिहरु संचालन गर्दै आइरहेको र नेमकिपाका कार्यकर्ताहरु पद र पैसा भन्दा पनि जनताको सेवामा समर्पित भएर लागिरहेको बताउनुभयो ।
इमानदारिता र पारदर्शिता नै भक्तपुर नगरपालिकाको प्रमुख विशेषता रहेको औंल्याउनुहुँदै उहाँले भक्तपुरलाई देशकै सफा नगरमा रुपान्तरण गर्ने अभियानमा रहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकालाई सांस्कृतिक केन्द्रको रुपमा संरक्षण गर्नु आवश्यक भएको बताउनुहुँदै देशको सन्तुलित विकासको लागि उपत्यका बाहिर सुविधासम्पन्न सहरहरुको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.