Explore news and happenings at Bhaktapur

सिद्धि गणेश साकोसको २७ औं स्थापना दिवस सम्पन्न

२०७७ पौष २९ गते बुधबार ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं स्थापना दिवस संस्थाको तालिम हलमा आज सम्पन्न भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले सहकारी संस्था गरिबको साथी बन्नुपर्छ भन्नुहुँदै “सहकारी संस्थाले समाजलाई केन्द्रविन्दुमा राखेर सामाजिक विकासको काम गर्नुपर्छ” भन्नुभयो ।

उहाँले समाज नवउदारवादको युगमा प्रवेश गरेको हुँदा पूँजीवादी अर्थव्यवस्थामा पूँजिपति वर्गले गरिब जनताको हितको लागि कार्य नगर्ने बताउनुहुँदै सहकारी संस्थाहरुले गरिब जनताको सेवा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कोभिड–१९ संक्रमणको संकटको बेला सहकारी संस्थाहरुले भक्तपुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापनमा गरेको सहयोगको चर्चा गर्नुहुँदै प्रमुख अतिथि प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकास गरी सिङ्गो समाजलाई अगाडि बढाउन मार्गनिर्देशन गर्नुहुँदै सदस्यहरुलाई नैतिकवान बनाउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै  भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सहकारी संस्थाहरुमा महिला सहभागिता वृद्धि हुनु सकारात्मक रहेको बताउनुहुँदै महिलाहरुलाई सीप प्रदान गरी श्रममा रुपान्तरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आदर निकेतन सञ्चालन गर्नुपर्ने र समाजका विविध पक्षहरुको बारेमा अनुसन्धान गर्न अनुसन्धान केन्द्र खोल्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै सहकारीले प्रदान गरेको ऋणको नियमित अनुगमन र निरीक्षणको व्यवस्थापन गर्नु अति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाले संस्थाको उद्देश्य समाजलाई सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा विकास गराउने रहेको बताउनुहुँदै स्थापना दिवसको अवसरमा संस्थाले २६ वर्षमा प्राप्त गरेको उपलब्धीको विश्लेषण गरी भावी कार्यक्रमहरु तय गर्न आज प्राप्त मार्मिक निर्देशनहरु उपलब्धीमूलक हुने बताउनुभयो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष कृष्णगोविन्द लाखाजुले संस्थाले शिक्षा, खेलकुद क्षेत्रमा गरिरहेको कार्यको समीक्षा गर्नुभएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष हरिरत्न गोर्खाली, संस्थापक अध्यक्ष राजेन्द्र दुमरु, उपाध्यक्ष विष्णुराम दुमरु, कोषाध्यक्ष ईश्वरमान दुमरु, सचिव रुद्रनारायण लाखाजु लगायतले संस्थाको विविध गतिविधिबारे जानकारी दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.