Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको आठौं नगरसभा उद्घाटन सम्पन्न

२०७७ पुस २९ गते, बुधबार

0

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरलाई सांस्कृतिक नगर बनाउन जनतालाई सचेत बनाउँदै जनताको शैक्षिक र बौद्धिक स्तर उठाउनुपर्नेमा जोड दिनुभयो ।


भक्तपुर नगरपालिकाको आठौं नगरसभा उद्घाटन गर्नुहुँदै सांसद सुवालले जनताको सांस्कृतिक स्तर उठाउन भक्तपुरका विद्यालय र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूलाई व्यवस्थित रुपमा अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति नदिनुमा शासक दल जिम्मेवार भएको र शासक दल गरिब जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा दिने पक्षमा नभएको प्रष्ट पार्नुहुँदै ख्वप विश्वविद्यालयको सम्बन्धन प्राप्त भएमा देशभरका विद्यार्थीलाई सस्तोमा गुणस्तरीय चिकित्सा शिक्षा प्रदान हुनेमा आश्वस्त पार्नुभयो ।
राष्ट्रिय राजनीतिको विषयमा आफ्नो धारणा व्यक्त गर्नुहुँदै सांसद सुवालले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम औचित्यपूर्ण भएको बताउनुहुँदा निर्वाचनले जनताको चेतनास्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा जानु राम्रो हुने विचार व्यक्त गर्नुभयो ।
काठमाडौं उपत्यकाका सम्पदाहरू समाप्त हुने खतरा बढिरहेकोतर्फ सचेत पार्नुहुँदै उहाँले भक्तपुरको चारै दिशामा सहरीकरणको नाममा जथाभावी निजी प्लटिङका कारण अव्यवस्थित सहरको विकास भइरहेको र कृषियोग्य जमिन घटिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गर्ने जनप्रतिनिधिहरूको भूमिका अझ बढेको र थप सचेत भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स्थानीय तह योजना कार्यान्वयन गर्ने महत्वपूर्ण निकाय भएको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले देशको विकास निर्माणको अधिकांश बजेट स्थानीय तहमा पठाइनुपर्ने र स्थानीय तहमा बढी बजेट पठाएको खण्डमा विकास निर्माणको काम अझ बढी प्रभावकारी रुपमा अगाडि बढ्ने बताउनुभयो ।
समपूरक र विशेष अनुदानको लागि योजनाको सिफारिस स्थानीय तहले गर्ने तर संघ र प्रदेशले योजना छनौट गर्ने नीति सरासर गलत भएको बताउनुहुँदै उहाँले ‘यो अप्रत्यक्ष रुपमा स्थानीय तहमाथि केन्द्रको नियन्त्रण हो’ भन्नुभयो ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेकोलाई स्वभाविक राजनैतिक घटनाक्रमको रुपमा व्याख्या गर्नुहुँदै प्रमुख प्रजापतिले भन्नुभयो – ‘प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गरेका हामी जनप्रतिनिधिहरूको भूमिका अझ बढेको छ । हामी जनप्रतिनिधिहरू थप सचेत भएर काम गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिका सिंगो देशको निम्ति उदाहरणीय नगर र जनप्रतिनिधि बन्न सफल भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको विगतका नगरसभाले गरेको निर्णयबमोजिम अविचलित ढंगले जनताको सेवामा क्रियाशील भई अगाडि बढिरहेको बताउनुहुँदै सांसद गोसाइँले समाजवादी व्यवस्थाले मात्र कामदार वर्गको हित गर्ने बताउनुभयो । नेपाली जनताले पुँजीवादी व्यवस्थाविरुद्ध लड्न तयारी थाल्नुपर्ने बताउनुहुँदै तल्लो वर्गको शासन व्यवस्था नआएसम्म देशको राजनीतिमा स्थिरता नआउने बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरका कला र संस्कृतिलाई अद्यावधिक र पुस्तान्तरण गर्दै जीविकोपार्जनको माध्यम बनाउँदै लाने सोचका साथ नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । उहाँले कोभिड १९ ले मानव विकासको सबै पक्षमा नकारात्मक असर पारेको र मानव जातिलाई ठूलो पाठ सिकाएको बताउनुहुँदै भक्तपुरलाई पूर्ण रुपमा संरक्षित नगर, ज्ञानविज्ञान र प्रविधिको केन्द्रको रुपमा परिचित बनाउने विश्वास दिलाउनुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले हरेक नगरसभा आफैमा महत्वपूर्ण हुने बताउनहुँदै सबै स्थानीय तहहरूले नगरसभालाई अभ्यस्त ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाले देशको बहुआयामिक विकासको लागि अरुलाई पनि सिक्ने अवसर प्रदान गरिरहेको बताउनुहुँदै प्रजिअ भट्टराईले सांस्कृतिक नगर भक्तपुरको गरिमा जोगाइराख्न र जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित धुँवा, धुलो फाल्ने उद्योग स्थानान्तरणको लागि आवश्यक पहल गरिरहेको प्रष्ट पार्नुभयो ।

उद्घाटन कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुर नपाले आफ्नो छुटै पहिचान कायम गरिरहेको बताउनुहुँदै भक्तपुर नगरको सर्वा·िक विकासको निम्ति निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.