Explore news and happenings at Bhaktapur

ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङमा शैक्षिकसत्र २०७५/७६ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत एवं अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर,२०७५ कार्तिक २९ गते बिहिबार ।

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङमा शैक्षिकसत्र २०७५/७६ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत एवं अभिमुखीकरण कार्यक्रम बिहीबार कलेजमा सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले जुनसकै स्थान वा क्षेत्रमा काम गरे पनि विद्यार्थीहरूले सेवा गर्ने भावनाका साथ इमानदारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले शिक्षा र स्वास्थ्य व्यापारीहरूको हातमा गइरहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले भन्नुभयो, ‘‘भनपाबाट सञ्चालन हुने मेडिकल कलेजमा विकृति र विसङ्गति हुनेछैन । रु. १०–१५ लाखमा गुणस्त्तरीय चिकित्सा शिक्षा उपलब्ध हुनेछ ।’’
‘‘परीक्षामा नक्कल गर्ने मानसिकता त्यागी लगनशील भई अध्ययनमा जोड दिनु आवश्यक छ’’, अध्यक्ष रोहितले भन्नुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको चाहनाअनुसार मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने बताउनुभयो । ‘‘सबै स्थानीय तहले शिक्षामा जोड दिनु आवश्यक छ । मन्त्री र सरकारमा गएका पार्टीका नेताहरूले स्थानीय निकायले शिक्षामा हातहाल्नु हुन्न भनी अभिव्यक्ति दिनु आपत्तिजनक छ । राजनीति राम्रो भएमा देश र समाजको पनि हित हुन्छ’’, उहाँले भन्नुभयो ।
अध्ययन पूरा भएपछि दक्ष प्राविधिक बनी देश र जनताको सेवा गर्ने आशा व्यक्त गर्दै प्रमुख प्रजापतिले भनपाबाट सञ्चालित कलेजहरूमा बन्द र हड्ताल नहुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष आर्किटेक्ट रजनी जोशीले सुनौलो भविष्यको लागि विद्यार्थीहरू चिन्तनशील, अध्ययनशील र सृजनशील हुनुपर्छ भन्नुभयो ।
नेपाल इञ्जिनियरिङ परिषद्का अध्यक्ष ई. डिल्लीरमण निरौलाले कसैबाट पनि बद्नाम हुने काम हुन नहुने, अभिभावक प्रेरणाको स्रोत हुनुपर्ने, गुणस्त्तरीय शिक्षाको लागि लाग्नुपर्ने, विद्यार्थीहरू ज्ञान लिन सक्षम हुनुपर्ने र इञ्जिनियरिङ्गका प्रयोगशालाहरू स्तरीय हुनुपर्ने बताउनुभयो ।
इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा. शशिधरराम जोशीले इञ्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीहरू गणितमा दख्खल हुनुपर्ने र इञ्जिनियरहरू आफै सृजनशील हुनुपर्ने बताउनुभयो ।


ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा जिन्सी शाखा प्रमुख राजन जतिले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.