Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा ब्यास नगरपालिकाको प्रतिनिधि मण्डल

भक्तपुर, २०७५ कार्तिक २८ गते बुधबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग व्यास नगरपालिका, तनहुँका प्रमुख बैकुण्ठ न्यौपानेको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले भेट गर्‍यो । भेटको क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको संक्षिप्त जानकारी दिनुहुँदै नपाले शिक्षा, स्वास्थ्य, सरसफाई, साँस्कृतिक सम्पदा र पर्यटनलाई प्राथमिकतामा राखीे कार्य गरिरहेको जानकारी गराउनु भयो । भक्तपुर नगरपालिकाले नपाभित्रका निजी र सामुदायिक विद्यालय बीच शैक्षिक स्तरमा भिन्नता कम गर्दै लाने कोशिस गरिसकेको, ६ वटा वडामा शिशु स्याहार सञ्चालन गरिरहेको, घर–घरमा नर्सिङ्ग सेवा गरिरहेको बताउनुभयो । साथै उहाँले २५ बेडको अस्पताल निर्माणको स्विकृति पाइसकेको र हाल ख्वप अस्पताल निर्माणको प्रकृया शुरु गरिसकेको तथा सो को लागि १४ करोड रुपैंया यस वर्षको बजेटमा छुट्याइएको जानकारी दिनुभयो । नपाले ५ वटा खेलको प्रशिक्षण गरिरहेको जानकारी दिनुहुँदै हालै अन्तरविद्यालय खेलकुद प्रतियोगिता सम्पन्न गरेको जानकारी दिनुभयो । गत वर्ष नपाले अन्तरनगर खेलकुद प्रतियोगिता अन्तर्गत भलिबल खेलको आयोजना गरेकोमा यस वर्ष अन्तरनगर कराँते खेल प्रतियोगताको आयोजना गरिने जानकारी दिंदै सो खेलमा ब्यास नपाका खेलाडीहरुले भाग लिने आशा व्यक्त गर्नुभयो ।

नगरपालिकाको पुरानो बस्ती साँस्कृतिक क्षेत्र भएकोले पुरानै शैलीमा घर निर्माण गराउन घरको मोहडाको लागि आवश्यक ईटा, काठ, झिंगटीको लागि ३५% अनुदान दिंदै आएको जानकारी पनि सो अवसरमा दिनुभयो । त्यसैगरी परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गत वर्ष बाँसुरी बाजा प्रतियोगिता गरेकोमा यस वर्ष पनि लोप हुन लागेका सँस्कृति जगेर्ना गर्न उपयुक्त साँस्कृतिक प्रतियोगिता गर्न लागेको बताउनु भयो । नपा भित्रका स्कूलहरुमा नेपाल भाषाको लिपिको तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । स्थानीय खेलको खेलको जगेर्ना गर्न नपाले स्थानीय खेलको प्रशिक्षण र प्रतियोगिता गरी हाल नपाले लागू गरेको स्थानीय पाठ्यक्रममा पनि विभिन्न खेललाई समावेश गरेको कुरा बताउनुभयो ।
२०७२ सालको भूकम्पले क्षति भएको भक्तपुरको सम्पदा पुननिर्माण नपाकै श्रोतबाट भैरहेको साथै नपाले संचालन गरिरहेको सम्पदा लगायत अन्य विकास निर्माण कार्यहरु उपभोक्ता समिति मार्पmत स्थानीय स्रोत र जनशक्ति परिचालन गरिरहेको जानकारी दिनुभयो । उहाँले प्रत्येक नगरपालिकाले आफ्नो नगरपालिकामा भएको स्रोत र साधनको पहिचान गरी ती स्रोत साधनको अधीकतम प्रयोग गरी नपा आत्मनिर्भर हुनुपर्ने कुरामा जोड दिनुभयो ।


भक्तपुर नगरपालिकाले सूचना प्रवाहको लागि ‘भक्तपुर’ मासिक, नेपाल भाषाको “ख्वप पौ”, भक्तपुर एफ.एम. लगायत फेसबुक पेज र ‘भक्तपुर खबर’ अनलाईन सञ्चालन गरी सूचना प्रवाह तथा सुझाव संकलन गरी पारदर्शी रुपमा कार्य भैरहेको जानकारी दिनुभयो ।
भेट कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ब्यास नगरपालिका साँस्कृतिक विविधतायुक्त नपा भएको जानकारी दिनुहुँदै सामुदायिक स्कूलहरुको व्यवस्थापन, ऐतिहासिक, पर्यटकीय, धार्मिक र सार्वजनिक स्थानहरुको संरक्षण लगायत व्यवस्थित शहरीकरणलाई उच्च प्राथमिकता राखी कार्य गरिरहेको बताउनुभयो ।


भनपा–७ का वडाध्यक्ष उकेश कवांले सञ्चालन गर्नुभएको सो कार्यक्रममा ईन्जिनियर ओम हरि था श्रेष्ठले नगरपालिकाले सम्पन्न गरिसकेको लिवाली जग्गा एकीकरण आयोजना र तुमुचो दुगुरे आयोजनाबारेमा जानकारी दिनुभयो भने ईन्जिनियर दिलभक्त जयनाले देकोचा–मिवाछें–इतापाके जग्गा एकीकरण आयोजना सम्बन्धी प्रस्तुति गर्नुभयो । भेट कार्यक्रममा उपप्रमुख रजनी जोशीले ब्यास नपाबाट पाल्नुहुने सम्पूर्ण टोलीले जिज्ञासा राखी उत्सुकतापूर्वक अन्तरक्रियामा सहभागी हुनुभएकोले धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.