Explore news and happenings at Bhaktapur

सिभिल इन्जियिरिङ विषयका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न

२०७७ मंसिर १५ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतको प्रमुख आतिथ्यमा भक्तपुर नपाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शैक्षिक सत्र २०७७/७८ मा सिभिल इन्जिनियरिङ विषय अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम भौतिक दुरी कायम गरी सोमबार सम्पन्न भयो ।

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवम् नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले प्राविधिक शिक्षाको महत्वलाई मनन् गर्दैै मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढाउन यो विषयलाई प्राथमिकताका साथ लिएको बताउनुभयो ।

प्राविधिक शिक्षाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गर्ने बताउनुहुँदै प्रमुख प्रजापतिले देशको योजनाबद्ध दिगो विकासको निम्ति प्राविधिक शिक्षाले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्राविधिक ज्ञानको सही सदुपयोगले देशको विकास निर्माणले तीव्रता पाउने बताउनुहुँदै उहाँले वर्तमान समयमा नैतिकवान र इमानदार नयाँ पुस्ताको आवश्यकता रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्षम युवा जनशक्ति तयार गर्न ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति आवश्यक तयारीमा जुटिरहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक योग्यताका साथसाथै व्यवहारिक र सैद्धान्तिक ज्ञानको एकीकृत शक्तिले सफल र अब्बल तुल्याउँछ भन्नुभयो ।

ख्वप बुहप्राविधिक अध्ययन संस्थान सञ्चालक समितिका सदस्य एवम् भनपा ९ नं. का वडाध्यक्ष रबिन्द्र ज्याख्वले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा उच्च शिक्षा हासिल गर्न विभिन्न जिल्लाबाट विद्यार्थीहरू सहभागी हुनु सुखद् पक्ष रहेको बताउनुहुँदै आफूमा भएको सीप तथा ज्ञान देश र समाजप्रति इमानदारीपूर्वक उपयोग गर्न मार्गनिर्देश गर्नुभयो । विद्यार्थीहरू किताबी ज्ञानका साथै प्रयोगाात्मक शिक्षामा पनि जोड दिएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुहुँदै वडाध्यक्ष ज्याख्वले समग्रमा समाजको सकारात्मक प्रगतिको निम्ति दक्ष जनशक्ति उत्पादनमा कलेजले जोड दिइरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले कामदार वर्गका विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्ने उत्कृष्ट थलोको रुपमा स्थापित भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले स्थापनाकालदेखि भक्तपुरको शैक्षिक, सामाजिक, शैक्षिक रसांस्कृतिक स्तर उकास्न मद्दत पु¥याइरहेको छ भन्नुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्थापनाकालदेखि स्थानीय सरकारको अभ्यास गरिरहेको भक्तपुर नपाले देशभरिका स्थानीय तहहरूको लागि शिक्षा, क्षेत्र तथा विकास निर्माणलगायतको क्षेत्रमा रोग मोडलको रुपमा कार्य गरिरहेको साथै ख्वप विश्वविद्यालय स्थापनाको लागि आवश्यक पूर्वाधार विकासको क्रममा रहेको बताउनुभयो ।

ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्रमुख रत्नसुन्दर लासिवाले संस्थान स्थापनाको उद्देश्यबारे चर्चा गर्नुहुँदै प्रतिस्पर्धाको युगमा विद्यार्थीहरूलाई नयाँ नयाँ खोज र अनुसन्धानमूलक शिक्षा प्रदान गर्न संस्थान प्रयत्नशील रहेको बताउनुभयो ।

कार्यक्रममा सिभिल विभागका विभागीय प्रमुख रमेश सुवालले प्राविधिक शिक्षा क्षेत्रमा संस्थानले गरिरहेको योगदानबारे प्रष्ट पार्नुभयो ।

 

 

Leave A Reply

Your email address will not be published.