Explore news and happenings at Bhaktapur

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन हस्तान्तरण कार्यक्रम सम्पन्न

२०७७ मंसिर १७ गते, बुधबार

0

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी रानी पोखरी अध्ययन समितिद्वारा तयार गरिएको प्रतिवेदन एक समारोहबीच बुधबार हस्तान्तरण गरियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई रानी पोखरी अध्ययन समिति कार्यदलका संयोजक इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले रानी पोखरी पुनःनिर्माणसम्बन्धी प्रतिबेदन हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदाहरूको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढंगले सम्पदाहरु पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताउनुभयो ।
भक्तपुर नपाले नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणलगायत सार्वजनिक सम्पत्तिहरू संरक्षणको कार्यलाई अगाडि बढाइरहेको बताउनुहुँदै नगर प्रमुख प्रजापतिले काठमाडौंको रानीपोखरी पुनःनिर्माणमा पनि भक्तपुर नपाले प्राविधिक तथा आवश्यक कालीगढहरू सहयोग गरेको स्मरण गर्नुभयो ।

भक्तपुरमा अवस्थित सार्वजनिक सम्पत्ति संरक्षणको निम्ति नगरपालिकाले सम्बन्धित निकायहरूमा निरन्तर पहल गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिहरू जनताको साझा सम्पत्तिको रुपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।

मानव जातिले गरेका कुनै पनि कार्यहरू इतिहासको रुपमा नयाँ पुस्तामाझ रहिरहने बताउनुहुँदै उहाँले सम्पदा संरक्षण गर्ने क्रममा भक्तपुरको इतिहासलाई जीवित बनाउने कार्यमा पनि जोड दिइरहेको बताउनुभयो ।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिमा २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात जनप्रतिनिधि बहालीपश्चात लामो समयदेखि जीर्ण रहेको भक्तपुरको रानीपोखरीको संरक्षण गरी पुनःनिर्माण कार्यलाई अगाडि बढाएको बताउनुभयो । रानी पोखरी पुनःनिर्माणका क्रममा विभिन्न अध्ययन अनुसन्धानहरू भएको र सोबाट नयाँ तथ्य र प्रमाणहरूसमेत प्राप्त भएको बताउनुहुँदै रानीपोखरी अध्ययन समिति कार्यदलप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।

पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीले काठमाडौं उपत्यकाका सम्पदाहरू बिस्तारै म्हासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्त अमूर्त सम्पदालाई मौलिक शैलीमा पुनःनिर्माण गर्ने कार्य प्रशंसनीय भएको बताउनुभयो ।

उहाँले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरुप कायम गर्नु महत्वपूर्ण भएको बताउनुहुँदै उपत्यकाका पोखरीहरूबारे अध्ययन अनुसन्धान गर्नुपर्ने र पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री हुने ढंगले निर्माण गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा रानी पोखरी अध्ययन समिति कार्यदलका संयोजक पुरुषोत्तमलोचन श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा चालिस वर्ष अगाडि बनेको भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हु पुखु’ रहेको बताउनुभयो ।

रानीपोखरीको ऐतिहासिक महत्वमाथि प्रष्ट पार्नुहुँदै प्रा.डा. श्रेष्ठले पाँच महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखहरूबाट थाहा हुन आएको बताउनुभयो ।

सोही कार्यक्रममा भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानी पोखरीबारे थ्रीडी प्रस्तुतीकरण देखाउनुभयो भने कार्यदलका सदस्य सचिव रामगोविन्द श्रेष्ठले पनि बोल्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.