भक्तपुर, २०७५ कार्तिक १७ गते शनिबार । भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा महिलाहरुको पाठेघार तथा स्तन क्यान्सरसम्बन्धी शिविर कार्तिक १७ गते सम्पन्न भयो । शिविरमा २५६ जना महिलाको स्तन र पाठेघर परीक्षण तथा ६ जना पुरुषको स्तन परीक्षण गरिएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेको बताउँदै भक्तपुर नपालाई नमुना स्वास्थ्य उपचारको रूपमा विकास गर्न आफूहरु लागिरहेको बताउनुभयो ।
उहाँले भक्तपुरमा उपचार विधि राम्रो पार्न भक्तपुर नगरपालिकाले ख्वप अस्पताल निर्माण गर्न लागेको जानकारी दिंदै स्वास्थ्यभन्दा ठूलो केही नरहेको र रोगको संकेतलाई हेलचेक्र्याई गर्न नहुने विचार राख्नुभयो । भक्तपुर नगरपालिकाले नगरवासीहरुको स्वास्थ्य उपचारको लागि कडा रोग लागेका विरामीहरुलाई रु.१०,००० को सहयोग रकम प्रदान गरिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीको उद्देश्य देश र जनताको सेवा गर्ने हो र भक्तपुर नगरपालिकाको कमी–कमजोरीमा रचनात्मक आलोचना स्वागतयोग्य रहेको स्मरण गराउनुभयो । उहाँले भक्तपुरमा भएका विकास निर्माणका कामहरुलाई पारदर्शी ढंगले व्यवस्थापन गरिरहेको र उपभोक्ता समितिमार्फत सम्पदाहरु जीर्णोद्धार भइरहेको बताउनुभयो ।
भक्तपुर वडा नं. १० का वडाअध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले रोगलाई बेवास्ता गर्न नहुने बताउँदै समयमै रोगको पहिचान भए र नियमित औषधि सेवन गरे रोग निको हुने बताउनुभयो । बजारमा म्याद नाघेका अखाद्यवस्तुबाट शरीरमा नकारात्मक असर पुग्ने बताउँदै खानपिनमा विशेष ध्यान दिन सके धेरै रोगहरुबाट बच्न सक्ने बताउनुभयो ।
वडा नं. १० का पार्टी इन्चार्ज लक्ष्मीप्रसाद चवालले रोग लाग्नु अगाडि नै स्वास्थ्यको नियमित परीक्षण गराउनुपर्ने, भक्तपुर क्यान्सर अस्पतालका प्रशासन अधिकृत राजाराम तजलेले महिलाहरुले नियमित रुपमा पाठेघर तथा स्तनको जाँच गराउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर वडा नं. १० का वडा सदस्य ज्ञानकुमार मगजु, जितेन्द्र मुनंकर्मी र विजयालक्ष्मी शाक्य, वडा सचिव गोविन्दराम थुसाको पनि उपस्थिति थियो ।