Explore news and happenings at Bhaktapur

मार्क्सवादको दर्शन -द्वन्द्वात्मक भौतिकवाद

0

युरोपको इंग्ल्याण्ड, फ्रान्सलगायतका देशमा अठारौं शताब्दीको उत्तराद्र्धतिरको औद्योगिक क्रान्तिका कारण नयाँ किसिमको वर्गमा विभाजित समाजको रूपमा विकास भयो । सामन्तवादलाई खत्तम गरेर बनेको यो पूँजीवादी समाजमा शोषण गर्ने पूँजीपति वर्ग र शोषित भएका सर्वहारा वर्गको पनि जन्म हुन्छ । पूँजीवादी क्रान्ति गर्नको लागि सम्पूर्ण रूपले साथ दिएका श्रमिक र किसानहरूले पूँजीवादको विकाससँगै शोषणको नयाँ रूप र नयाँ तरिका अनुभव गर्न पुग्दछ । यही शोषणका कारण चर्किंदै गएको वर्गसंर्घषमा सर्वहारा वर्ग इतिहास सबैभन्दा प्रगतिशील वर्गको रूपमा विकसित हुँदै आएको छ । पूँजीपति वर्गको विरुद्धको संघर्षहरू अगाडि बढ्दै जाने क्रममा इंग्ल्याण्डमा लुडाइटहरू मेसिनविरोधी आन्दोलन र चार्टिष्ट आन्दोलनहरू चर्किंदै गएको थियो । यस्तो स्थितिमा मजदुर वर्गको मुक्ति र शोषणरहित समाजको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो । तात्कालीन समयको उत्कृष्ट कहिलएका समाजशास्त्र, अर्थशास्त्र र दर्शनका विविध सिद्धान्तहरूले सही दिशानिर्देश गर्न नसक्दा मजदुर वर्गका तात्कालीन सबैजसो आन्दोलन र संघर्षहरू विना उपलब्धी बलिदानमै टुंगिन पुगेको थियो । पूँजीवादी समाजको गहन अध्ययन र विश्लेषण कान्त र हेगलजस्ता दार्शनिकहरू एडम स्मिथ र डेबिड रिकार्डोजस्ता अर्थशास्त्रीहरू, सेन्ट साइमन र चाल्र्स फुरेजस्ता काल्पनिक समाजवादीहरूका विचारहरू र दर्शनहरूको आलोचनात्मक अध्ययन र कमी–कमजोरीहरूको खण्डन गदै कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले प्रतिपादन गरेको सिद्धान्त माक्र्सवाद हो । संसारमा रहेको समस्याहरूको विश्लेषण सो समयसम्मका सबैजसो दार्शनिकहरूले गरेका थिए तर माक्र्सवादले मात्रै संसारलाई सही अर्थमा कसरी बदल्न सक्छ भन्ने सिद्धान्त प्रतिपादन गरेका थिए ।

कारखानामा काम गर्ने श्रमिकहरूलाई जनावरभन्दा अलिकति मात्र माथिको दर्जामा राख्ने शासक वर्गका लागि माक्र्स र एंगेल्सको सिद्धान्त तथा सन् १८४७ को कम्युनिष्ट लिग, सन् १८६४ को पहिलो अन्तर्राष्ट्रिय र सोसँगै सङठित हुदै आएको मजदुर शक्तिका कारण आतङ्कित भएका थिए । तात्कालीन अखबारहरू तथा पर्चाहरूमा ‘लालहरू’ अर्थात कम्युनिष्टहरूबाट सतर्क रहन भनी लेखिएका हुन्थे ।

मजदुर वर्गमा परिरहेको माक्र्सवादको प्रभावका कारण सो समयका शक्तिशाली दर्शनका प्रतिपादकहरू, समर्थकहरू, विचारकहरू आदिका लागि त्रासको रूपमा देखिएको एउटा छुट्टै दर्शनले सो समयसम्म मानव मस्तिष्कलाई बुझाउन नसकेका तथा देख्न नसकेका समस्याहरू उजागर गरेर सैद्धान्तिक तथा व्यवहारिक रूपमै समाधानका उपायहरू दिएका थिए । इतिहासको सूक्ष्म र आलोचनात्मक अध्ययन र वर्तमान अर्थात् तात्कालीन समयको सामाजिक परिस्थितिको सही र सटिक बुझाइबाट बनेको वैज्ञानिक दर्शन माक्र्सवादले दर्शन, अर्थ राजनिति, समाजशास्त्रको मुलभूत समस्याको सैद्धान्तिक र व्यवहारिक उपाय पहिल्याएको छ ।

माक्र्सवाद एक वैज्ञानिक दर्शन हो । यो सर्वहारा वर्गको विश्व दृष्टिकोण हो । माक्र्सवाद अघिका सबैजसो दार्शनिकहरू मानव समाजको विकास र ऐतिहासिक घटनाहरू कुनै निश्चित नियमविना आफै भएको वा कुनै शक्ति, असाधारण अलौकिक नायक, भगवानको इच्छाअनुसार वा संयोगवश् भएको भन्ने विचार राख्दथे । माक्र्सले समाजको विकास प्रमुख उत्पादन शक्ति र उत्पादन व्यवस्थाका आधारमा विकसित हुँदै जान्छ भने वैज्ञानिक विचार प्रस्तुत गरेर पहिलेका सबै दर्शनलाई अपुरो वा तथ्यसंङ्गत नभएको पुष्टि गरिदिए । माक्र्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो ।
कुनै निश्चित नियमविना आफै भएको वा कुनै शक्ति, असाधारण अलौकिक नायक, भगवानको इच्छाअनुसार वा संयोगवश् भएको भन्ने विचार राख्दथे । माक्र्सले समाजको विकास प्रमुख उत्पादन शक्ति र उत्पादन व्यवस्थाका आधारमा विकसित हुँदै जान्छ भने वैज्ञानिक विचार प्रस्तुत गरेर पहिलेका सबै दर्शनलाई अपुरो वा तथ्यसङ्गत नभएको पुष्टि गरिदिए । माक्र्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवाद हो ।

भौतिकवादी दर्शनको सुरुवात फ्रान्सबाट भयो । सामन्तवादी समाजमा रहेको धार्मिक अन्धविश्वासकाविरुद्ध प्राकृतिक विज्ञान र तर्कलाई भौतिकवादले अघि सारेको हो । तात्कालीन जर्मनीमा विकास भएको भौतिकवादलाई माक्र्सले अंगाल्ने मात्र नभई त्यसको विकास गर्न शास्त्रीय दर्शनशास्त्रका राम्रा, नराम्रा सबै पक्षहरूको आलोचनात्मक विश्लेषण गरेका थिए । माक्र्सको दार्शनिक पक्षको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको भौतिवादलाई द्वन्द्वात्मकताको अवधारणामा एकीकृत गरेर द्वन्द्वात्मक भौतिकवादको विकास गर्नु हो ।

भौतिकवादमा भौतिक वस्तुलाई प्रमुख र चेतनालाई गौण मान्दछ अर्थात् भौतिक वतुको उपस्थितिकै चेतनाको अस्तित्व हुन्छ भन्ने सिद्धान्त भौतिकवाद हो । चेतना पदार्थको उपज हो अर्थात् शरीर वरिपरिको वातावरण छ र त्यसलाई बुझ्ने, विश्लेषण गर्ने र प्रतिक्रिया दिने दिमाग भएको कारण चेतनाको अस्तित्व छ भनेर भौतिकवादले प्रस्ट्याउँछ । अध्यात्मवादले आत्मालगायतका अलौकिक शक्तिको अस्तित्वका कारण भौतिक संसार रहको भन्ने तर्क राख्दछ भने भौतिकवाद त्यसको ठीक विपरीत पदार्थ मान्छेको मन बाहिर स्वतन्त्र रूपमा अस्तित्वमा रहन्छ, पदार्थको वस्तुपरक यथार्थलाई मान्छेको संवेदनाद्वारा प्राप्त हुन्छ । अतः पदार्थको अस्तित्वविना संवेदनाको कुनै अस्तित्व हुन सक्दैन भन्ने सिद्धान्त भौतिकवाद हो । मानव शरीर छ र त चेतना र प्राणको अस्तित्व छ ।

द्वन्द्वात्मकता परिवर्तनशील संसारलाई बुझ्ने आधार हो । ब्रम्हाण्डका सारा चिजहरू दुई परस्परमा विरोधी तत्वहरू मिलेर बनेको हुन्छ । हरेक वस्तु यही परस्परमा विरोधी तत्वहरूको आपसी द्वन्द्व वा संघर्षका कारण नै त्यस्को अस्तित्व रहेको हुन्छ । संसारमा केही पनि स्थिर छैन, अस्थिर छ र गतिशील, विकासशील र परिवर्तनशील छ । परस्पर विरोधी कुराहरूको संघर्षको कारण नै संसार गतिशील हुन्छ भन्ने सिद्धान्त द्वन्द्ववाद हो ।

हेगेल र फायरबाखका द्वन्द्ववाद र भौतिकवादबाट प्रेरित तर आलोचनात्मक रूपमा यी दुवै दार्शनिकहरूलगायत तात्कालीन समय सबैजसो दर्शनको आलोचनात्मक अध्ययनपछिको उत्कृष्ट दर्शनका रूपमा माक्र्स र एंगेल्सले द्वन्द्वात्मक भौतिकवाद अघि सारेका थिए । भौतिकवादले भौतिक पदार्थलाई प्राथमिक तत्वको रूपमा अध्ययन गर्दछ भने द्वन्द्ववादले भौतिक पदार्थमा विद्यमान गतिशीलको अध्ययन गर्दछ । यी दुवै सिद्धान्तको संश्लेशनात्मक अध्ययन र दुवैको पूर्णता द्वन्द्वात्मक भौतिकवाद हो ।

जसरी कुनै व्यक्तिको व्यक्तित्वले त्यसमा भएको ज्ञान प्रतिबिम्बित हुन्छ त्यसैगरी व्यक्तिको सामाजिक ज्ञान
(मूल्य मान्यता, धर्म, राजनैतिक धारणा) उसको समाजको उत्पादन सम्बन्ध र आर्थिक व्यवस्थाले प्रतिबिम्बित गर्दछ । पूँजीवादी समाजमा समाजको उत्पादनका सम्पूर्ण साधन र पूँजी पूँजीपतिको अधिनमा रहन्छ तर उत्पादन शक्ति भने श्रमिकको श्रम हो । यी दुईबीचको मेलबाट सामाजिक उत्पादकत्व वृद्धि हुन्छ । तर यी दुवै शक्ति परस्परमा अन्तरविरोधी शक्तिहरू हुन् । समाजमा दुईवटै वर्गको अस्तित्व हुन्छ र एकले अर्कालाई पराजित गर्न खोजिरहन्छ तर परस्परमा सहयोग पनि गर्नैपर्ने हुन्छ । मजदुरले पूँजीपतिको नाफा वृद्धि गर्न र आफ्नो जीविकोपार्जनको लागि काम गर्नैपर्दछ । मजदुरको श्रमशक्ति प्रयोगबाट नाफा वृद्धि हुन्छ र सँगै पूँजीको पनि वृद्धि हुन्छ । उक्त पूँजीको प्रयोग गरी पँुजीपति वर्गले पुनः मजदुर वर्गलाई नै शोषण गर्दछ । यो शोषणविरुद्ध मजदुर वर्गले लड्नुपर्ने हुन्छ । यसरी मजदुर वर्गले पूँजीपति वर्गस“ग अन्तरविरोध रहे पनि सम्झौता र एकता गरी सहयोग गरिरहन्छ । त्यसैगरी संघर्ष पनि गरिरहन्छ र शक्ति पाएपछि निर्णायक संघर्ष गर्दछ । यसले द्वन्द्वात्मकताको पहिलो नियम विपरीत वस्तुहरूको एकतालाई प्रतिबिम्बित गर्दछ । विपरीत वस्तुहरूको संघर्षवाट नै विकासले गति लिने हो ।

पूँजीवादी समाजमा पूँजीपतिहरूको निरन्तर संघर्ष र सहयोग हूँदा मजदुरहरूमा वर्ग चेतनाको कमी भयो भने पूँजीपतिहरूले झन् झन् नाफा वृद्धि गर्दै पूँजीको सञ्चय गर्दै पूँजीको परिमाणमा वृद्धि गर्दछ । यो संगै मजदुरहरूको संख्या पनि वृद्धि हूँदै जान्छ । पूँजीको सञ्चयसंगैको आवश्यक नाफा प्राप्ति र पूँजीपतिहरूबीच नै एक अर्कासँगको प्रतिस्पर्धाका कारण नाफा वृद्धि गर्ने जायज, नाजायज तीकडम अपनाउँदै पूँजी एकत्रित गर्न बजार पनि विस्तार गर्नुपर्ने बाध्यता हुन्छ । कुनै समयमा पूँजी वृद्धि हुनै नसक्ने अवस्था आउँछ र यो व्यवस्था आफै ध्वस्त भई अर्को व्यवस्था आउँछ । यसको विपरित यदि मजदुरहरूमा वर्ग चेतना र वर्ग संघर्षका कुराहरू बुझाउँदै जाने हो र पूँजीको वृद्धिसँगै बढ्दै गएका कामदारहरू एकताबद्ध हूँदै जाने हो भने मजदुरहरूको शक्ति बढ्छ र क्रान्ति हुन्छ । योसँगै समाजको उत्पादन सम्बन्ध र आर्थिक व्यवस्था परिवर्तन गर्दछ र समाजवादको स्थापना गर्दछ । यो समाज विकासको नियम हो । सन् १९१७ को रुसको अक्टोबर क्रान्ति र सन् १९४८ को चिनियाँ क्रान्ति माक्र्सले उल्लेख गरेकै अवस्थामा नभए पनि द्वन्द्वात्मकताको दोस्रो नियम परिमाणात्मक परिवर्तनवाट गुणात्मक परिवर्तन आउँछ भन्ने नियमलाई प्रतिबिम्बित गर्दछ । मजदुर र किसानहरू तात्कालीन समयमा भएका अन्याय अत्याचार शोषण र ज्यादतिका कारण एकताबद्ध हुँदै परिमाणमा आएको परिवर्तनको प्रभावका कारण व्यवस्था नै परिवर्तन भयो । अर्थात् क्रान्ति भई समाजवादको स्थापना भयो र सामाजिक उत्पादन सम्बन्धमा नै परिवर्तन आयो र समाजको गुणात्मक परिवर्तन भयो ।

यहि समाज विकासका नियमहरू बुझ्दै जाने क्रममा हामी देख्न सक्दछौं कि संसारमा कुनै पनि कुरा स्थिर छैन । जब कुनै चिजको उत्पत्ति हुन्छ त्योसँगै केही नास पनि भएको हुन्छ जस्तै कुनै बीउबाट नयाँ बोट उम्रिँदा बीउ नष्ट हुन्छ । त्यसैगरी सामाजिक व्यवस्थामा पनि कुनै एउटा व्यवस्था हुँदासम्म त्यो नै सर्वोत्कृष्ट व्यवस्था हो कि भन्ने भान हुन्छ र त्यसको पतनसँगै समाज नै नास हुन्छ कि भन्ने आभास दिलाइन्छ । जस्तो कुनै समयमा दासप्रथा सामान्य थियो र यो समाजको यथार्थ जस्तो लाग्थ्यो तर कालान्तरमा भएका विद्रोहहरूले यसलाई गलत सावित गरेर सामन्तवादी व्यवस्थाको स्थापना ग¥यो र अब संसार यस्तै व्यवस्थामा स्थिर रहन्छ भन्ने आभास दिलाइयो तर त्यो व्यवस्थामा भएको तत्व अर्थात् शोषणकै कारण विस्तारै असन्तुष्टिहरू बढ्न थाल्यो र पूँजीवादी क्रान्ति भयो । समाजमा अहिले पूँजीवादको विकासको कारण पूँजीपतिहरूले यो नै सर्वोत्कृष्ट व्यवस्था हो र यो नै स्थायी व्यवस्था हो भन्ने प्रचार गर्छन् तर यो पनि शोषणमा आधारित व्यवस्था भएको कारण थोरैलाई मात्र यो व्यवस्थाले राम्रो गर्ने तर बहुसंख्यक शोषित हुने हुँदा धेरै असन्तुष्ट छन् । यही असन्तुष्टि र शोषणका कारण मानव समाज अनुकूलको व्यवस्था अर्थात् समाजवादको स्थापनाका लागि क्रान्ति गर्छन् र क्रान्तिसँगै पूँजीवादी व्यवस्था नष्ट हुन्छ र नयाँ व्यवस्थाको विकास हुन्छ । यो प्रक्रियाले द्वन्द्वात्मकताको तेस्रो नियम निषेधको निषेधलाई प्रतिबिम्बित गर्छ अर्थात् प्रकृति, मानव समाज र मानव शरीर सबैमा पुरानोको नाससँगै नयाँको जन्म हुन्छ । कुनै कुराको अन्त्य भनेकै कुनै नयाँ कुराको सुरुवात हुन्छ । पूँजीवादी व्यवस्था पनि आफै नै नष्ट हुने व्यवस्था हो तर मानिसमा रहेको क्रान्तिकारी भावना र गतिविधिले प्राकृतिक नियमलाई छिटो गति दिनेमात्र हो । हामीले मजदुर किसान वर्गलाई जति छिटो संगठित गर्ने र सचेत बनाउने कार्य गर्न सक्दछौं, वर्ग संघर्षलाई तीव्रता दिन सक्दछौं र त्यही अनुसार क्रान्ति छिटो साकार हुन्छ ।

भौतिकवादी सिद्धान्त र द्वन्द्वात्मक तरिकाको सम्मिश्रण नै द्वन्द्वात्मक भौतिकवाद हो । यो भौतिक पदार्थ र परिवेशको परिवर्तनको नियम बुझ्ने दर्शन हो । यो समाज परिवर्तनको नियम भएको कारण हरेक क्रान्तिकारी विचार बोक्ने मानिसले बुझ्नै पर्ने सिद्धान्त हो । यही सिद्धान्तका आधारमा अघि बढ्न सक्यौं भने हामी दिग्भ्रमित हुँदैनौ । प्रकृति र समाजका परिर्वतनहरूलाई सरल रूपमा बुझ्न सक्छौं । अतः माक्र्सवादी साहित्यहरू अध्ययन गर्दै समाजको प्रगतिको लागि लाग्ने सबै परिवर्तन चाहने शोषित पीडित कामदार वर्गको प्रतिनिधित्व गर्ने कार्यकर्ताले यी विषयहरूको गहण अध्ययन गरेर व्यवहारमा लागू गर्न सक्यौं भनेमात्र हामीले चाहेको समाजवादी समाजको स्थापना गर्न सकिन्छ । यसका लागी माक्र्सवादी साहित्यको अध्ययन र माक्र्सवादका सिद्धान्तलाई समय सापेक्ष रूपमा बुझ्दै र व्यवहारमा लागू गर्दै जानुपर्ने अहिलेको आवश्यकता हो ।

Leave A Reply

Your email address will not be published.