Explore news and happenings at Bhaktapur

२०७७ सालको दशैंको शुभकामना आदानप्रदान

२०७७ कार्तिक ५ गते, बुधबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा कलेजमा आबद्ध शिक्षक—कर्मचारीबीच दशैंको शुभकामना आदानप्रदान कार्यक्रम जुममार्फत बुधबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि कलेज व्यवस्थापन समिति अध्यक्ष एवम् नगर प्रमुख प्रजापतिले दशैं बिदामा रचनात्मक कार्यहरु गरी मनाउन सबै प्राध्यापकहरुलाई शुभकामना दिनुभयो ।

उहाँले महामारीको रुपमा फैलिएको कोरोना भाइरस सरुवा रोगको उपचारको जिम्मेवारीबाट सरकार पन्छिन नहुने बताउनुभयो । उहाँले उपत्यकामा संक्रमितहरु बढिरहेको अवस्थामा विगतमा दिंदै आएको स्वास्थ्यसम्बन्धी सबै सुविधा काटिँदै गरिबहरु उपचार नपाएर मर्ने सम्भावना बढ्यो भन्नुभयो ।

सरकराले निजी अस्पताल र नर्सिङ होमहरुको दबाब र प्रभावमा परी जनताले पाइरहेको पीसीआर परीक्षणलगायतको सुविधा कटौती गर्दै लगेको हुनसक्ने उहाँले बताउनुभयो ।

कोभिड १९ बारे सामाजिक सञ्जालको भ्रमको पछाडि नलाग्न आग्रह गर्नुहुँदै नगर प्रमुख प्रजापतिले विश्वव्यापी रुपमा महामारी बनिरहेको कोरोना भाइरस सामान्य रोग नभएको र दशैंलाई सामान्य औपचारिकतामा सीमित गरी मनाउन भक्तपुर नगरपालिकाले नगरबासीहरुमा अनुरोध गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले देशभरिका जनताको बीचमा छुटै पहिचान स्थापित गरिरहेको बताउनुहुँदै उहाँले भक्तपुरमा कोरोना नियन्त्रण तथा रोकथामको लागि भक्तपुरका विभिन्न संघ–संस्था तथा सहकारी संस्थाहरुले आर्थिक र भौतिक सहयोग गरिरहेको बताउनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले ख्वप इन्जिनियरिङ कलेजले टाइम बाउण्ड अनलाइन परीक्षा सञ्चालन गरिरहेको बताउनुहुँदै महामारीबीच पनि कलेजका शिक्षक–कर्मचारी कलेजका विविध गतिविधिहरु सक्रिय रुपमा लागिरहेको बताउनुभयो । कलेजले गरिरहेको उपलब्धीहरुबारे अवगत गराउनुहुँदै उहाँले दशैंलाई रचनात्मक ढंगले मनाउन जोड दिनुभयो ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले चीनमा कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा रोग फैलिनसक्ने खतराका कारण चीनले सबै चाडवाड र सांस्कृतिक कार्यक्रमहरुलाई बन्द गरेको स्मरण गर्दै उहाँले समाजवादी देशहरुले मान्छेको जीवनलाई बढी प्राथमिकता दिएकै कारण कोरोना महामारीबाट जोगिन सफल भएको बताउनुभयो । उहाँले दशैंलाई औपचारिकतामा सीमित राखी रोग प्रतिरोधात्मक क्षमता बढाउने ढंगले खानपिनमा जोड दिंदै परिवारभित्रै सुरक्षित मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य ई. रबिन्द्र फोँजु, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई.रत्नशोभा प्रजापति, कलेजका विभागीय प्रमुखहरुले दशैंको शुभकामना मन्तव्य राख्दै कोभिडसँग सतर्क रहनुपर्ने र दशैंको समयमा कोभिड संक्रमण फैलिने खतरा भएको हुँदा सिर्जनात्मक र सुरक्षित ढंगले मनाउनुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.