Explore news and happenings at Bhaktapur

ख्वप माविमा कानुन विषयको अध्ययन र यसको महत्वबारे प्रवचन सम्पन्न

२०७७ असोज ८ गते, बिहीबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि र शारदा कलेजको आयोजनामा कानुन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी ‘कानुन विषयको अध्ययन र यसको महत्व’ विषयमा प्रवचन कार्यक्रम जुममार्फत बिहीबार सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कानुन पढ्न चाहेका र कानुन पढिरहेका विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरुमा ज्ञान हासिल गरी समाज र देशको हितमा आफूले पढेको ज्ञान सही ढंगले प्रयोग गर्न मार्गनिर्देश गर्नुभयो ।

उहाँले सबै विषय अध्ययन गर्ने विद्यार्थीहरुको लागि कानुनको धेरै महत्व भएको बताउनुहुँदै सबै पेशामा पनि कानुनको महत्व उत्तिकै रहेको बताउनुभयो । उहाँले गलत बाटोमा लागेका व्यक्तिहरुलाई दण्ड सजायँमार्फत सही ठाउँमा ल्याउने काम पनि कानुनले गर्ने बताउनुहुँदै देशको पक्षमा बोल्ने क्षमतावान अधिवक्ताहरुको खाँचो रहेको औंल्याउनुभयो ।

शिक्षा क्षेत्रमा भक्तपुर नगरपालिकाको भूमिकाबारे प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले शिक्षालाई उच्च प्राथमिकतामा राखी नगरपालिकाले ६ वटा शिशुस्याहार र सातवटा शैक्षिक संस्थाहरु सञ्चालन गरी शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो । नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले सस्तो र गुणस्तरीय शिक्षाको अवसर देशैभरिका विद्यार्थीहरुलाई प्रदान गरिरहेको बताउनुहुँदै ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक तयारीमा जुटिरहेको बताउनुभयो ।

कार्यक्रममा ‘कानुन शिक्षाको भविष्य र महत्व’ बारे प्रष्ट पार्नुहुँदै संविधानविद् अधिवक्ता डा. भिमार्जुन आचार्यले सबै विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई कानुनको महत्व अपरिहार्य भएको बताउनुभयो । कानुन विषय समाजमा सम्मानित विषयको रुपमा परिचित भएको भन्दै उहाँले एउटा व्यक्ति, संस्था र समाज सञ्चालनको लागि कानुनको धेरै ठूलो महत्व रहेको बताउनुभयो ।

कानुनका सबै विषय व्यवहारिक जीवनमा पनि लागु हुने र कानुन अध्ययनमा धेरै मिहिनेतको खाँचो भएको बताउनुहुँदै अधिवक्ता आचार्यले कानुनलाई समाजमा केही बद्मास व्यक्तिहरुले बद्नाम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता सबिता भण्डारीले कानुनको अज्ञानता क्षम्य नहुने बताउनुहुँदै कानुन सबैले पालना गर्नुपर्ने र कानुनको उल्लंघन गर्ने जोकोहीले पनि सजाय भोज्नुपर्ने यथार्थबारे प्रष्ट पार्नुभयो । राम्रो व्यक्तित्व बन्न, समाजलाई सही दिशामा दो¥याउन र संस्था सञ्चालन गर्न लगायतमा कानुनी शिक्षाको महत्व उल्लेखनीय रहेको बताउनुहुँदै अधिवक्ता भण्डारीले समाजमा कानुन मिचेर जाने अवस्थामा कानुन पढेका व्यक्तिहरुले सही कुराको पक्षमा आवाज उठाएका हुन्छन् ।

कार्यक्रममा ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र कानुन विषयका विभागीय प्रमुख अनिता जधारीले ख्वप कलेज स्थापनादेखि हालसम्मको कलेजको शैक्षिक स्थितिबारे प्रकाश पार्नुभयो । उहाँहरुले सामुदायिक संस्था बलियो भए गरिब तथा जेहेनदार विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न सम्भव हुने बताउनुभयो । कार्यक्रममा कानुन संकायका विद्यार्थी आयुषा थकुलवट र बबिन भट्टराईले ख्वप कलेजमा अध्ययन गर्दाको आफ्नो अनुभव सुनाउनुभयो ।

Leave A Reply

Your email address will not be published.