Explore news and happenings at Bhaktapur

ख्वपका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण

२०७७ असोज ९ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि कक्षा ११ अध्ययनको लागि ख्वप माविमा शैक्षिक सत्र २०७७÷७८ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको जुम (अनलाइन) मार्फत स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नवआगन्तुक विद्यार्थीहरुको प्रगति र सफलताको कामना गर्दै कोरोना महामारीबीच पनि नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले वैकल्पिक शिक्षण पद्धतिलाई जोड दिंदै अनलाइन कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । भक्तपुरका शैक्षिक संस्थाको ख्याति देशभरि उदाहरणीय रहेको यथार्थबारे व्याख्या गर्नुहुँदै उहाँले कलेजको अनुशासनमा बसी आफूले रोजेको विषयमा उच्च शिक्षा हासिल गर्न र देशको निम्ति आवश्यक क्षमतावान नागरिक बन्नको लागि प्रेरित गर्नुभयो ।

भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति निरन्तर प्रयास गरिरहेको बताउनुहँुँदै उहाँले ख्वप कलेजले उत्कृष्ट नतिजा हासिल गर्ने ढंगले विद्यार्थीहरुलाई पठनपाठनमा जोड दिनुपर्ने बताउनुभयो ।

आफ्नो अध्ययनलाई व्यवहारिक जीवनमा लागु गर्दै समाज र देशको लागि प्रयोग गर्दै आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले परीक्षामा धेरै अंक प्राप्त गर्नुभन्दा आफूमा भएको सैद्धान्तिक र व्यवहारिक ज्ञान सफल ढंगले उपयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

दक्ष जनशक्ति विदेशिंदा देश समृद्ध बन्न बाधक बनिरहेको भन्दै प्रमुख प्रजापतिले क्षमता भएर पनि अध्ययनबाट बञ्चित भएका गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नगरपालिकाले ख्वप कलेजहरु सञ्चालनमा ल्याएको बताउनुभयो ।

एनजीओ/आइएनजीओले यहाँका नागरिकलाई आफू अनुकुल काम गराएर विदेशीको हितमा काम गर्ने यथार्थबारे उहाँले प्रस्ट पार्नुभयो ।

ख्वप कलेजका प्राचार्य रुपक जोशीले व्यवस्थापन संकाय अध्ययनको महत्वबारे प्रष्ट पार्नुहुँदै विद्यार्थीहरुमा भएको आत्मविश्वास र मिहिनेतले कुनै पनि चुनौती सजिलै सामना गर्न सक्ने बताउनुभयो । स्रोतसाधन, समय र जोखिमको सही व्यवस्थापनबाट सफलता प्राप्त हुने बताउनुहुँदै उहाँले विद्यार्थीहरुले सूचना र प्रविधिको सही सदुपयोग गर्नुपर्ने र जुनसुकै विषय अध्ययन गरे पनि विज्ञता हासिल गर्ने सोचका साथ अगाडि बढ्न अभिप्रेरित गर्नुभयो ।

कार्यक्रममा ख्वप मावि र शारदा माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुहुँदै ख्वपले कोभिड १९ को महामारीबीच पनि अनलाइनबाट शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको र नयाँ शैक्षिक सत्रका कक्षाहरु अनलाइनबाटै सुरु हुने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.