Explore news and happenings at Bhaktapur

तीनै तहका सरकारबीचको समन्वयले मात्र कोरोनाको प्रतिरोध सम्भव

सुनिल प्रजापति १५ भाद्र २०७७, सोमबार

0

(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नोबेल कोरोना महामारी रोकथाममा भक्तपुर नगरपालिकाले पछिल्लो अवस्थामा गरेका गतिविधिहरूबारे ‘मजदुर’ दैनिक÷‘श्रमिक’ साप्ताहिकले लिएको अन्तर्वार्ता प्रस्तुत छ–स. )

काठमाडौँ उपत्यकालगायत भक्तपुर जिल्लामा पछिल्ला दिनहरूमा कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या बढ्दो छ । हाल भक्तपुर नपामा कोभिड–१९ को सङ्क्रमणको अवस्था के कस्तो रहेको छ ?
यतिबेला कोभिड–१९ को सङ्क्रमण देशभर भुसको आगोझैँ फैलिरहेको छ । दिनको हजारभन्दा बढीमा सङ्क्रमणको पुस्टि हुँदै छ भने घना बस्ती भएको काठमाडौँ उपत्यका सङ्क्रमणको केन्द्र बनिरहेको छ । शनिबारसम्ममा उपत्यकामा मात्र ४ हजार ९७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । नगरपालिकाका जनप्रतिनिधिहरू आ—आफ्नो क्षेत्रभित्र बसोबास गर्ने जनतामा सङ्क्रमण नफैलियोस् भनी सतर्कतापूर्वक काम गरिरहेका छन् । विपद्को बखत जतिसुकै काम गरे पनि त्यो पर्याप्त हुँदैन । त्यसैले जनताको सेवामा अहोरात्र खटिरहेका जनप्रतिनिधिहरू नै आलोचनाको पात्र पनि बनिरहेका छन् ।
भक्तपुर नगरपालिकाले नगरभित्रका कोभिड सङ्क्रमितहरूको लागि क्वारेन्टिनको व्यवस्थापन के कसरी गर्दै आएको छ ?
नेपाल सरकारले विदेशमा बसेका नागरिकहरूलाई नेपाल फर्काउने निर्णय गरेपछि भक्तपुर फर्कन चाहने नागरिकहरूलाई अनलाइन फाराम भर्न सूचना जारी ग¥यो । सयौँको सङ्ख्यामा नेपाल फर्कन चाहने नागरिकहरूले फाराम भरे । त्यसको आधारमा नगरपालिकाले होटल क्वारेन्टिन, घर क्वारेन्टिन र नगरपालिकाको छुट्टै क्वारेन्टिनको व्यवस्था ग¥यो । अहिलेसम्म होटलमा ३३ जना, नपाको क्वारेन्टिनमा ४० जना र घर क्वारेन्टिनमा ३३ जना गरी १०६ जना क्वारेन्टिनमा बसिसकेका छन् भने विदेशबाट आउने क्रमसँगै यो सङ्ख्या बढ्दै जानेछ । यसको लागि नगरपालिकाले होल्डिङ सेन्टर, क्वारेन्टिन र सम्पूर्ण रेखदेख गर्नाका लागि ९ जना कर्मचारीको व्यवस्था पनि गर्दै आएको छ ।
सांस्कृतिक एवम् ऐतिहासिक नगर भक्तपुरको विभिन्न समयमा मनाइने यहाँका चाडपर्वहरूबारे भक्तपुर नगरपालिकाले कसरी जनतालाई अनुरोध गर्दै आएको छ ?
भक्तपुर सांस्कृतिक नगर हो । यहाँ हरेक महिना कुनै न कुनै चाडपर्वहरू भई नै रहन्छन् । नगरपालिकाले सरोकारवालाहरूसित छलफल गरी बिस्का जात्रा, गाईजात्रा, मातातीर्थ औँसी, गोकर्ण औँसी, देवाली पूजाजस्ता चाडपर्वहरूलाई औपचारिकतामा मात्रै सीमित गर्ने निर्णय ग¥यो भने पञ्चदान, गुँला पर्व, यन्याँपुन्हीजस्ता पर्वहरू स्थगित ग¥यो । सबै सरोकारवालाहरूसित छलफल गरेर निर्णय लिने गरेको कारण नगरपालिकाका हरेक निर्णयको प्रभावकारी कार्यान्वयन भएको छ । नगरवासीहरूले नगरपालिकाका हरेक निर्णयलाई सकारात्मकरूपमा लिई साथ र सहयोग गर्दै आउनुभएको छ ।
कोभिड–१९ सङ्क्रमण रोकथामको लागि भक्तपुर प्रवेश गर्ने नाकामा सुरक्षा व्यवस्थापनका कुरा पनि उठेको थियो नि !
हो, कोभिडको सङ्क्रमण बढ्दै गएपछि बाहिरबाट भक्तपुर नगर प्रवेश गर्ने नाकाहरूमा कर्मचारी खटाएर लगत सङ्कलन गर्ने कार्य गरियो । नगर प्रवेश गर्ने १३ वटा प्रमुख नाकाहरूमा लिइएको लगतले भक्तपुरमा रामेछाप, बागलुङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ओखलढुङ्गा, दोलखा, सर्लाही, रौतहट, सिराहा, पर्सा, हुम्ला र भारतबाट समेत रोजगारी र स्वास्थ्य जाँचको क्रममा दैनिक सयौँको सङ्ख्यामा आउने गरेको देखायो । सीमा नाका कडा गर्दै लाने क्रममा कतिपयलाई फिर्ता पनि पठाइएको छ । सङ्क्रमण रोक्न बाहिरका मानिसहरूको पूरै आवतजावत रोक्ने प्रयासको रूपमा त्यो काम सुरु गरिएको हो । निषेधाज्ञा जारी गरेपछि त्यो समस्या देखिएन ।
काठमाडौँ उपत्यकामा चल्ने छोटो दुरीका सवारीसाधन आवागमन पनि बन्द गर्ने निर्णय गर्नुभयो नि होइन ?
भक्तपुरबाट उपत्यकाभित्र सयौँका गाडीहरू चल्ने गर्छन् । निषेधाज्ञा जारी गर्नुअघि नगरपालिकाले रुट नं. १, ७ र ९ का समितिका पदाधिकारीहरूसँग बैठक गरी सम्पूर्ण गाडी रोक्ने निर्णय ग¥यो । एक ठाउँका जनता अर्को ठाउँमा आवतजावत गर्नाले सङ्क्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो ।
बन्द विद्यालयहरूबारे भक्तपुर नगरपालिकाले के सोचेको छ ?
सरकारी कार्यालय, विद्यालय, कलेजहरू बिदा घोषणा नगरेको अवस्थामा निषेधाज्ञा लागु गर्नु अगाडि नगरपालिकाले पठन संस्कृतिको विकासको लागि सम्पूर्ण विद्यालयमा शिक्षकहरूका लागि पाठ्यपुस्तकसँग सम्बन्धित किताब तथा साहित्यहरू अध्ययन गर्ने र त्यसबारे छलफल
गर्ने, शिक्षकहरूलाई विद्यालयबाटै प्रविधिको प्रशिक्षण दिने र अभिभावकहरूलाई कोरोनासम्बन्धी जनचेतना फैलाउन सन्देशहरू पठाउन तथा विद्यालय कलेज वरिपरि सरसफाइ गर्न निर्देशन दियो । त्यसरी नै नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अनलाइन कक्षा सञ्चालन तथा परीक्षासमेत अनलाइनबाटै लिइयो । यसले निषेधाज्ञाबीच पनि कलेजका विद्यार्थीहरूको पढाइले निरन्तरता पाइरहेको छ ।
लकडाउनको समयमा सर्वसाधारण जनतालाई घरमै बस्न र मानिसको भीडभाड हुन नदिन नगरपालिकाले सचेतना गतिविधि कसरी अगाडि बढाइरहेको छ ?
हरेक दिन फोहर सङ्कलनसँगै कोभिड–१९ बारे सचेतनाका सन्देशहरू टोल—टोलमा गुञ्जिरहेका हुन्छन् । नेपाल र नेपालबाहिर भएका सङ्क्रमित तथा मृत्यु भएका विवरणसहित दैनिक हुने माइकिङले जनतालाई थप सचेत पार्ने कार्य भएको छ । यो सँगै टोलटोलमा किटनासक औषधि (क्लोरिन) छर्ने काम निरन्तर भइरहेको छ भने टोल—टोलमा रहेका साबुन पानीको व्यवस्थाले हात धुने कार्यलाई निरन्तरता दिँदै आएको छ ।
कोभिड–१९ शङ्का लागेका वा स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या देखिएका बिरामीहरूको लागि भक्तपुर नपाले कसरी सेवा प्रदान गर्दै आइरहेको छ ?
कोभिडको शङ्का लागेका वा अरू कुनै स्वास्थ्यसँग सम्बन्धित समस्या देखिएमा तत्काल सेवा लिन सक्ने गरी २ जना डाक्टरहरू डा. बालकृष्ण चाँगुभारी र डा. विवेक बोय्जूलाई परामर्श सेवाको लागि तोकिएको छ । अस्पतालमा तत्काल पुग्न समस्या पर्ने बिरामीहरूलाई यो सेवाले ठूलो मद्दत मिलेको नगरवासीहरूको भनाइ छ । त्यसका साथै जनस्वास्थ्य सेवा केन्द्रले इमर्जेन्सी सेवा र ओपीडी सेवालाई निरन्तरता दिँदै आएको छ ।
भक्तपुर नगरपालिकाले आफ्नो छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरेको छ वा छैन ? आइसोलेसन स्थापनाको लागि के कस्तो पहल गरिरहनुभएको छ ?
अहिलेसम्म भक्तपुर नगरपालिकाले छुट्टै आइसोलेसनको व्यवस्था गरेको छैन । जिल्लाका सबै नगरपालिकाका लागि एकीकृत आइसोलेसनको व्यवस्था गरिएको छ । खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा २ सय शय्याको आइसोलेसन छुट्टयाइएको छ भने भक्तपुर अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी त्यहाँ लक्षण देखिएका १५ र नदेखिएका १० गरी २५ शय्याको व्यवस्था गरिएको छ । भक्तपुर अस्पताल प्रादेशिक अस्पताल भएकोले पीसीआर परीक्षणको मेसिन व्यवस्थापनको लागि प्रदेशको स्वास्थ्यमन्त्रीसँग छलफल भइरहेको छ । उहाँले छिट्टै नै मेसिन भक्तपुर अस्पतालमा जडान गरिदिने आश्वासन दिनुभएको छ ।
कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ कतिको प्रभावकारीरूपमा भइरहेको छ ?
भक्तपुर नगरपालिकाभित्र हालसम्म ५० जनाभन्दा बढी सङ्क्रमितहरू भइसकेका छन् भने तिनको सम्पर्कमा आएका ३ सत्न्दा बढीको सङ्ख्यामा कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ । अहिलेसम्म सुरुमा पोजेटिभ देखिएका परिवारको सदस्यहरूमै पोजेटिभ देखिएका छन् । पीसीआर परीक्षणको रिपोर्ट ढिलो आएका कारण कतिपय सङ्क्रमितहरूले अरूलाई सार्न सक्ने सम्भावना धेरै छ । यसर्थ, नेपाल सरकारले नै सबै ठाउँमा आवश्यक जनशक्तिसहित पीसीआर परीक्षण मेसिनको व्यवस्था गर्न ढिलाइ गर्नुहुन्न ।
भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन समितिले महामारी रोकथामको लागि कस्तो भूमिका खेलिरहेको छ ? यसमा सरकारको तर्फबाट के कस्तो सहयोग पाउँदै आउनुभएको छ ?
विपद् व्यवस्थापनसम्बन्धी एकल अधिकार संविधानले स्थानीय तहलाई दिएको छ भने त्यो साझा अधिकार सूचीमा पनि समावेश छ । अधिकांश स्थानीय तहहरूले विपद् व्यवस्थापन ऐन बनाई कार्यान्वयन गरिरहेका छन् । कोभिड–१९ पनि विपद् नै हो तर सरकारले यसलाई प्रकोप व्यवस्थापन भनेको छ । जे होस् अहिले फैलिँदै गएको कोभिडको सङ्क्रमण नियन्त्रण कुनै एक तहले सम्भव हुने देखिँदैन । यसर्थ, सम्पूर्णरूपले नियन्त्रण गर्न सङ्घ, प्रदेश र स्थानीय तीनै तहको समन्वयात्मक भूमिका अपरिहार्य छ । समन्वयविना आ—आफ्नो तरिकाले काम गरेको खण्डमा सङ्क्रमण नियन्त्रणबाहिर जाने खतरा बढ्दै जाने सम्भावना छ । बेलैमा यसबारे ध्यान पु¥याउनु आवश्यक छ ।
सङ्क्रमितहरूप्रति समाजले नराम्रो व्यवहार गरेको भन्ने गुनासोप्रति यहाँ के भन्नुहुन्छ ?
विभिन्न ठाउँमा कोरोना सङ्क्रमित स्वास्थ्यकर्मी र अन्य सर्वसाधारणलाई नराम्रो व्यवहार गरेका समाचारहरू हामीले पनि पढेका छौँ । यो राम्रो कुरा होइन । स्वास्थ्यकर्मीहरू बिरामीको सेवामा निरन्तर खटिइरहनुभएको छ । हामी बिरामी भएमा जाने ठाउँ भनेकै अस्पताल हो । उहाँहरूले काम गर्नुभएन भने बिरामीको उपचार कसले गर्छ ? उहाँहरूलाई विभिन्न कारणबाट सङ्क्रमण हुनसक्छ । स्वास्थ्यकर्मीहरू कारोनाविरुद्ध पहिलो पङ्क्तिमा बसेर लड्ने लडाकूहरू हुनुहुन्छ । उहाँहरूलाई त झन् सम्मान गर्नुपर्छ । त्यसरी नै अरू नागरिकहरू पनि आफूले चाहेर कोही सङ्क्रमित हुने होइन । उहाँहरूको मनोबल बढाउने काम सबैबाट हुनुपर्छ । जनप्रतिनिधि, कर्मचारी र सबै छर—छिमेकले पनि सङ्क्रमितहरूलाई आ—आफ्नो तर्फबाट सहयोग गरौँ र कोभिड–१९ लाई समुदायमा महामारीको रूपमा फैलन नदेऔँ !

Leave A Reply

Your email address will not be published.