Explore news and happenings at Bhaktapur

उपभोक्ता समितिमार्फत गरिएको पुन ः निर्माण राम्रो

११ भाद्र २०७७, बिहीबार

0

काठमाडौँ, १० भदौ । संस्कृतिविद् एवम् सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनः निर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादको तेस्रो दिन सांस्कृतिक सम्पदा एवं सम्पदा बस्तीको पुनःनिर्माणमाथिको छलफलको क्रममा वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताले स्वस्थ अभ्यास स्थापित हुने बताउनुभयो ।

भक्तपुरका ङातापोल, भैरवनाथ र वत्सला गरी तीनवटा मन्दिरको पुनः निर्माण एवं जीर्णोद्धारको तुलनात्मक अध्ययन गर्नुभएकी शोधार्थी एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी श्रेष्ठले समुदायको सहभागिता हुँदा प्रविधिको हस्तान्तरण हुनुका साथै स्वयम्सेवाको भावना जागृत भएको पाइएको उल्लेख गर्नुभयो ।

डा. रोहित जिज्ञासुले भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनःनिर्माण उपभोक्ता समितिको सहभागितामा सफल देखिएको धारणा राख्नुभयो । सम्पदा पुनःनिर्माण गर्दा प्राचीन शैली, सामग्री र प्रविधिको प्रयोग गरिरहँदा त्यसलाई भूकम्प प्रतिरोधी बनाउनतिर पर्याप्त ध्यान दिइनुपर्ने उहाँको भनाइ थियो । सांस्कृतिक सम्पदा पुनःनिर्माणको विषयमा कार्यपत्र प्रस्तुत गर्दै शोधकर्ताहरूले समुदायको सहभागिता एवं सक्रियताले प्रभावकारी हुनाका साथै अपनत्व महसुस गरेको पाइएकामा जोड दिनुभएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण गर्दा राम्रो परिणाम आएको बताउँदै त्यसमा समुदायको सहभागिता र आर्थिक पारदर्शिता कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

परिसंवाद कार्यक्रममा सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताका विभिन्न पक्षमा मनोज सुजी, रीजा जोशी, रुपेश श्रेष्ठ र डा.सविन निङ्लेखुले पनि आक्षनो अध्ययनका निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । उपभोक्ता समितिमार्फत काम गराउँदा कम खर्चमा काम भएको, पारदर्शिता कायम भएको, गुणस्तरीय काम भएको र स्वामित्वको भावना जागृत भएको निष्कर्ष उहाँहरूले उल्लेख गर्नुभएको थियो ।
परिसंवादको दोस्रो सत्रमा ऐतिहासिक सम्पदा बस्तीको पुनःनिर्माणमाथि अध्ययन गर्नुभएका विपुल रावल, सूर्यभक्त साँगाछँे, अदिति ढकाल, डा.पुनम राज्यलक्ष्मी राना, मनोहर राजभण्डारी र रविना शिल्पकारले आक्षनो शोधका निष्कर्ष एवं सुझाव प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको तेसो सत्रमा भूकम्पप्रभावितको जीविकोपार्जन एवं आर्थिक विकासमाथि छलफल भयो । डा.मीनबहादुर पौडेल क्षेत्री, डा.सुरोज पोखरेल र डा.निर्मलकुमार राउतले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.शङ्कर शर्मा र क्यानाडाका विज्ञ डा.नाइजल फिसरले टिप्पणी गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.