Explore news and happenings at Bhaktapur

भक्तपुर नगरभित्रका आधारभूत विद्यालय अवलोकन प्रतिवेदन

२०७७ साउन १८ गते, आइतबार

0

नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिले भक्तपुर नगरपालिकाभित्रका आधारभूत विद्यालय अवलोकनका क्रममा समष्टिगत रुपमा प्राप्त विद्यालय र शिक्षकहरूको विवरण, भौतिक अवस्था, लकडाउनमा शिक्षक हाजिरी र शिक्षण सिकाइ, शिक्षकहरूको तालिम विवरणलगायत विषय समाविष्ट प्रगति प्रतिवेदन आइतबार भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण ग¥यो ।

नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका अध्यक्ष गणेशराम थुसाले हस्तान्तरण गर्नुभएको प्रतिवेदनमा भक्तपुर जिल्लाभित्रका आधारभूत विद्यालयहरूमा विद्यार्थी संख्यामा कमी आएको, भक्तपुर नपाभित्र ५५ दरबन्दी बढी भनी रिक्त दरबन्दीमा नियुक्ति गर्न नदिइएको, शिक्षक नपुग भएका कारण कक्षा सञ्चालन गर्न अप्ठेरो स्थिति सिर्जना भएको विषय उल्लेख छ । साथै विद्यालयको शैक्षिक सुधार गर्न शिक्षकहरूलाई तालिम दिनुपर्ने, शिक्षक दरबन्दी पर्याप्त हुनुपर्ने, विद्यालयहरूमा लेखा सहायकको व्यवस्था हुनुपर्ने, आवश्यकता हेरी विद्यालयहरूको स्थानान्तरण गर्नुपर्ने लगायतका सुझाव उल्लेख छ ।

साथै सोही प्रतिवेदनमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशु कक्षाजस्तै अन्य आधारभूत विद्यालयमा शिशु कक्षा नर्सरी, एल.के.जी, एस.के.जी कक्षालाई व्यवस्थित गरी शिक्षक उपलब्ध गराउनुपर्ने, भक्तपुर नपाभित्रका सम्पूर्ण प्रावि दरबन्दीलाई कायम गर्न नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने, नगरभित्रका आधारभूत तहको नतिजा मूल्यांकन गरी राम्रोलाई पुरस्कार र बाँकीलाई सुधार गर्न प्रोत्साहन गर्नुपर्ने, विद्यालयहरूको कक्षा कोठा समयानुकुल बालमैत्री र आकर्षक बनाउनुपर्ने, वार्षिक योजनासहितको वार्षिक बजेट अनिवार्य बनाउन दिनुपर्नेलगायतका सुझावहरू उल्लेख छन् ।

प्रतिनिधिमण्डलमा ज्ञानसागर प्रजापति, अम्बिका न्याइच्याइँ, शिवराम बोहजु, दिपक माक, विष्णुप्रसाद दुमरुलगायतको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.