Explore news and happenings at Bhaktapur

गाईजात्रा पर्वबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

२०७७ साउन १६ गते, शुक्रबार

0

दाजुभाइ तथा दिदी बहिनीहरू,
कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभरमा अहिले संक्रमितहरूको संख्या १९ हजार नाघिसकेको छ । काठमाडौं उपत्यकामै ३०० भन्दा बढी संक्रमित र ५० जनाभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याड्ढले देखाएको छ ।

विज्ञहरूका अनुसार नेपालमा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिसकेको छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या क्रमशः बढ्दैछ । समाजमा भयावह स्थिति आउनेतर्फ विज्ञहरूले निरन्तर सचेत पार्दै आउनुभएको छ ।

सरकारले लकडाउन खुकुलो पारेको छ । यसको अर्थ हामी संक्रमणबाट मुक्त भइसकेको होइन, अझ संक्रमणको खतरा बढेको छ । काम गरी खान कुनै बाधा व्यवधान नहोस् भनेर सरकारले लामो समयपछि लकाउन हटाएको हो तर पूर्ण रूपमा हटाइसकेको छैन ।

लकडाउन फिर्ताको अर्थ भीडभाड गरी भोज भतेर गर्न, जात्राहरू सञ्चालन गर्न, देवी—देवता स्थानमा ठूलो समूह भेला भएर मनोरञ्जन गर्न वा पुजाआजा गर्न तथा सांस्कृतिक प्रदर्शन गर्न छुट दिएको होइन । त्यस्तो बुझाइ कसैमा छ भने त्यो गलत हो ।

रोगले जाति, भाषा, क्षेत्र र वर्ग चिन्दैन । सबैले आ—आफ्नो सुरक्षा आ—आफैले गर्नु नै कोरोना भाइरस संक्रमणबाट बच्ने सबभन्दा सहज उपाय हो । साबुन पानीले हात धुनु, स्यानिटाइजर प्रयोग गर्नु र मास्क लगाउनु अरु कसैको निम्ति नभएर आफ्नै लागि हो । त्यसैले सबै नागरिकहरूलाई सुरक्षित साथ आ—आफ्नो काममा लाग्नु हुन भक्तपुर नगरपालिकाको तर्फबाट आग्रह गर्दछौं ।

वीरगञ्ज, राजविराज, विराटनगरलगायतका ठाउँहरूमा कफ्र्यु जारी गरी स्थानीय तहले जनतालाई रोग संक्रमणबाट बचाउने प्रयास गरिरहेका छन् । हामीमा जोखिम त्यो तहमा नपुगे पनि कुनै पनि बेला उपत्यकामा पुरै संक्रमणको भयावह स्थिति हुनसक्नेबारे हामी सचेत हुनैपर्छ ।

आदरणीय जनसमुदाय,
गाईजात्रा नजिकिंदैछ । भक्तपुरको गाईजात्रा विशेष प्रकारको जात्रा हो । देशका विभिन्न ठाउँबाट गाईजात्रा हेर्न मानिसहरु भक्तपुर आउने गर्छन् । गाईजात्रा पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित गर्न र संस्कृति संरक्षण गर्न यसअघि भक्तपुर नगरपालिकाले गाईजात्राको समयावधिभर प्रस्तुत हुने परम्परागत र आधुनिक विधाका छुट्टा–छुट्टै मूल्यांकन गरी पुरस्कारको समेत व्यवस्था गर्दै आएको सर्वविदित्तै छ ।

तर यो वर्ष कोरोना भाइरसका कारण हामी अत्यन्तै सचेततापूर्वक हिंड्नुपर्ने अवस्थामा छौं । त्यसैले भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, महानगरी प्रहरी परिसर, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समिति, बाराही द्योछेँ, भैरवनाथ नाइके, आकाश भैरव नौ दाफा, चपाः दाफा भजन, दत्तात्रय दाफा भजनलगायत सरोकारवालाहरूका प्रतिनिधिहरूसँग पटक पटक बैठक गरी यो वर्ष गाईजात्रामा घिन्ताङघिसी नलाने, दाफा भजनमा सहभागी नहुने र सामान्य औपचारिकता मात्र सीमित गर्ने निर्णय गरेको जानकारी गराउन चाहन्छौं ।

त्यसैगरी गुँला बाजा समूहका प्रतिनिधिहरूको भेलाले यो वर्ष गुँला बाजा स्थगित गर्ने निर्णय गरेको छ । नगरपालिकाको भावनालाई साथ दिनुभएकोमा उहाँहरू सबैलाई भक्तपुर नगरपालिका धन्यवादज्ञापन गर्दछ । कोरोना संक्रमणलाई ध्यानमा राखेर गाईजात्रा सामान्य औपचारिकतामा सीमित गर्ने निर्णयअनुसार यहाँहरूले गाईजात्रामा भिडभाड हुने घिन्ताङघिसी ननिकाल्न, परम्परागत र आधुनिक तथा सांस्कृतिक विधाहरू प्रदर्शन नगर्न तथा पञ्चदानजस्ता पर्वहरू नमनाउन सम्पूर्ण नगरबासीहरूमा हार्दिक अपिल गर्दछौं ।

हामी स्वस्थ रह्यौं भने चाडपर्व र जात्रा हामी अर्को वर्ष मनाऔंला । समाजलाई कोरोना संक्रमणबाट बचाउने महान अभिभारा हाम्रो काँधमा छ । तपाईं हामी मिलौं, कोरोनाबाट समाजलाई बचाऔं ¤ यो नै हाम्रो आजको सबभन्दा ठूलो जिम्मेवारी हो । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरौं । धन्यवाद ¤

Leave A Reply

Your email address will not be published.