Explore news and happenings at Bhaktapur

राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानबारे अन्तरक्रिया

२०७७ साउन १६ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग र भक्तपुर नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानसम्बन्धी शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय परिचय पत्र वितरण नागरिकतासँग जोडिएको संवेदनशील विषय भएको हुँदा नक्कली नागरिकता र दोहोरो परिचय पत्र लिनेहरुबाट सचेत हुन जरुरी रहेको बताउनुभयो ।

परिचयपत्र वितरणमा प्राविधिक कारणले पनि समस्या हुन सक्नेतर्फ पञ्जीकरण विभाग र सम्बन्धित कार्यालयहरु सजग हुनुपर्ने भन्दै प्रमुख प्रजापतिले परिचयपत्र वितरणमा खटिने कर्मचारीहरु भाषा र व्यवहार जान्नेहरु भए काम गर्न सजिलो हुने भन्नुभयो ।

जनतालाई बिस्थापित गर्ने, ऐतिहासिक र सांस्कृतिक सम्पदा म्हास्ने र खेतीयोग्य जमिन नष्ट गर्ने स्मार्ट सिटीको अवश्यकता नरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले उपत्यकालाई सांस्कृतिक केन्द्र र आदर्श नगरको रुपमा स्थापित गर्नु आवश्यक भएको बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयमा साउन १ गतेदेखि राष्ट्रिय परिचय वितरणको लागि स्टेशन खडा गरी परिचय पत्र अद्यावधिक कार्यको थलानी गर्ने बताउनुहुँदै सोको लागि खटाइने कर्मचारीहरु नेपालभाषा पनि जानेको भए उपयुक्त हुने बताउनुभयो । उहाँले भक्तपुर नगरपालिका र वडाहरुसँगको आपसी समन्वयमा परिचयपत्रको विवरण संकलन अभियान समयमै सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले पञ्जकिरण विभागको समष्टिगत कार्य प्रक्रिया र अन्तरक्रिया कार्यक्रममा उठेका जिज्ञासामाथि प्रष्ट पार्नुभयो । उहाँले डिजिटल प्रणालीमार्फत संकलन गरिने राष्ट्रिय परिचयपत्रको विवरण अभियान नयाँ पद्धति भएको हुँदा केही समस्या हुन सक्ने बताउनुहुँदै नेपाली नागरिकको सही पहिचान गर्न यो प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सदस्य शिवराम जोशीले राष्ट्रिय परिचय पत्रबारे प्रस्तुतीकरण दिनुहुँदै व्यक्तिको पहिचान गराउने आधार नागरिकको प्रमाणपत्र भएको हुँदा राज्यले अब डिजिटल प्रणालीको अवधारणालाई अगाडि सारेको हो भन्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नपाका शाखा प्रमुख र वडाका सचिवहरुको उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.