Explore news and happenings at Bhaktapur

गाईजात्रा पर्व सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउन वडाबासी भेला

२०७७ साउन १६ गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा विश्व महामारी रुपमा फैलिरहेको कोभिड १९ संक्रमण दिन प्रतिदिन बढिरहेको हालको समयमा २०७७ सालको गाईजात्रा पर्वलाई सुरक्षित र औपचारिकतामा सीमित गरी मनाउने सम्बन्धमा शुक्रबार वडाबासी भेला सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका ऐतिहासिक र सांस्कृतिक रुपमा धनी सहर भएको हुँदा यहाँ मनाइने हरेक पर्वहरुको आफ्नै महत्व रहेको बताउनुभयो ।

समुदायस्तरमा कोरोना संक्रमित देखिन थालेको वर्तमान अवस्थामा रोग संक्रमण फैलिन नदिन भक्तपुर नगरपालिकाले नजिकिंदै गरेको गाईजात्रा पर्वलाई औपचारिकतामा सीमित गरी मनाउन नगरबासी जनता र सरोकारवाला पक्षलाई अनुरोध गरिरहेको र सोही जात्रामा प्रदर्शन हुने घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनीहरु नगर्न अपिल गर्नुभयो ।

जनता र समुदायको हितको निम्ति गरेको निर्णयमा नगरबासीहरुको साथ र सहयोग रहने अपेक्षा गर्दै उहाँले कोरोना महामारी स्थिति आएमा भयावह स्थिति आउन सक्नेतर्फ सचेत पार्नुभयो । उहाँले क्षणिक मनोरञ्जनबाट हुने सक्ने खतराबारे अवगत गराउनुहुँदै स्वस्थ जस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्न नहुने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष कुमार चवालले कोभिड १९ को विषम परिस्थितिमा जात्रालाई सुरक्षित ढंगले मनाउने कार्यमा नगरबासीहरु नै सचेत हुनुपर्ने बताउनुहुँदै यस पटकको गाईजात्रामा बाजागाजा र घिन्ताङघिसी नलाने ढंगले मनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भनपा ४ वडा समन्वय समितिका संयोजक एवम् भक्तपुर नपाका कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले नेपाल–भारतबीचको खुला सीमानाका कारण दिनप्रतिनिधि कोरोना संक्रमित थपिंदै गएको बताउनुभयो ।

कार्यक्रममा नेमकिपा ४ नं. वडा समन्वय समितिका सदस्यद्वय उपेन्द्र सुवाल र न्हुछेराम भेले, भक्तपुर नपा वडा नं. ४ का वडा सदस्य राजेन्द्र माक, ४ नं. वडा इकाइ समितिका हरिसुन्दर सुवालले पनि गाईजात्रा सभ्य र सामाजिक दुरी कायम गरी मनाउनुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.